२०७७ मंसिर २०, शनिबार

सुर्खेतमा एक सय १५ जना हात्तिपाइलेका बिरामी, आम नागरिकलाई औषधि सेवन गर्न अनुरोध

सुर्खेत, चैत्र ४ । सुर्खेत जिल्लामा हात्तिपाइलेका एक सय १६ जना विरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

Hattipaileजसमध्ये १४ जना खुट्टा सुनिएका, ९४ जना हाइड्रोशिल भएकाहरु र ७ जना अन्य भएको कार्यालयले जनाएको छ । हात्तिपाईले बिरुद्धको आम औषधी खुवाउने सम्बन्धी पत्रकारहरुसंग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिदै कार्यालयले आम नागरिकलाई औषधी सेवन गर्न पनि अनुरोध गरेको छ ।

कार्यक्रममा सुर्खेतमा हात्तिपाइलेको अहिलेसम्मको अवस्थाको बारेमा जानकारी दिदै उदय विसीले हरेक वर्ष औषधि खानेहरुको संख्या पुगेको भन्दै यो अन्तिम वर्ष भएकोले लक्ष्यमा पुग्ने बताए । उनका अनुसार सुर्खेतमा पहिलो वर्ष लक्षित नागरिकहरु मध्ये सुर्खेतमा ७६ प्रतिशत, हुँदै क्रमशः ७१ प्रतिशत, ८२ प्रतिशत, ८३ प्रतिशत हुँदै गत आर्थिक वर्षमा ८४ प्रतिशत ले औषधी खाएको बताए ।

अहिले पनि तीन लाख ६० हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको र सफल हुने उनले बताए । यही चैत ५ गते देखि ७ गतेसम्म औषधी खुवाइने छ । ५ गते छुटेकाहरुलाई ६ र ७ गते घरघरमै पुगेर औषधी खुवाइने कार्यालयले जनाएको छ ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भू प्रसाद ज्ञावलीले यो औषधी २ वर्ष मुनिका बालबालिकाहरु र गर्भवती र ७ दिनका सुत्केरी बाहेक सबैले सेवन गर्न सक्ने भन्दै कुनै भ्रममा नपरी औषधी सेवन गर्न अनुरोध गरे । उनले औषधी सेवनमा आम नागरिकहरुलाई सहभागी बनाउनका लागि सबैको महत्वपूर्ण सहयोग रहेको बताए ।