२०७७ माघ ७, बुधबार

स्थापना दिवसमा खेलकूद कार्यक्रम

सुर्खेत, चैत्र ४ । वातावरण सुधार समाज, वीरेन्द्रनगर १०, सुर्खेतको एक्काइसौं तथा वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.को चौधौं स्थापना दिवसको अवसरमा संयुक्त रुपमा बिहीबार वीरेन्द्रनगरमा विविध खेलकूद कार्यक्रम सम्पन्न भएका छन् ।

खेलकूदको माध्यमबाट सम्बन्ध विस्तारको साथै व्यक्तिको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने भएकोले सकारात्मक सन्देश प्रवाहका लागि विभिन्न खेलकूद प्रतियोगिताहरु संचालन गरिएको वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.का वरिष्ठ प्रवन्धक किरण बस्नेतले जानकारी दिए ।

सो अवसरमा दुईवटै संस्थाका सदस्य तथा कर्मचारीहरुबीच कुर्ची दौड, चम्चा दौड, बेलुन फुटाई तथा ब्याटमिन्टन प्रतियोगिताहरु सम्पन्न भएका थिए ।

महिला सदस्य तथा महिला कर्मचारीहरुबीच प्रतिस्पर्धा भएको कुर्ची दौडमा सावित्रा पौडेल प्रथम, दिपा खनाल द्वितीय, ज्योति थापा तृतीय र तुल्सी भट्टराई सान्त्वना हुनुभएको थियो ।

त्यस्तै ब्याटमिन्टन प्रतियोगितामा रुद्र आचार्य र यामनारायण आचार्यको समूह प्रथम, किरण बस्नेत र प्रेम चालिसेको समूह द्वितीय र डिल्लीराम आचार्य र श्यामलाक कँडेलको समूहले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए भने बेलुन फुटाई प्रतियोगितामा लक्ष्मी गिरी प्रथम, अञ्जली बोहरा द्वितीय र कुश्मा सिजाली तृतीय हुनुभएका थिए ।

यसैगरी महिला सदस्यतर्फ चम्चा दौड प्रतियोगितामा लक्ष्मी गिरी प्रथम, तुल्सा शाही द्वितीय र अनिता रोकाय तृतीय हुँदा महिला कर्मचारीतर्फ चम्चा दौड प्रतियोगितामा दिपा खनाल प्रथम, उर्मिला रोकाय द्वितीय र ज्योति थापाले तृतीय स्थान प्राप्त गरेको वरिष्ठ प्रवन्धक बस्नेतले जानकारी दिए ।