२०७७ माघ ८, बिहीबार

सुर्खेतमा स्थानीय तहको निर्वाचनमा १७ दल सहभागी हुने, डोल्पामा काँग्रेसले चुनावमा सहभागी हुन नपाउने

सुर्खेत, चैत्र ७ । निर्वाचन आयोग नेपालले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भाग लिने राजनीतिक दलहरुको नामावली प्रकाशन गरेको छ ।

तस्विर  :  गुगलबाट

निर्वाचन आयोगकले प्रकाशन गरेको राजनीतिक दलहरुको अन्तिम नामावली अनुसार सुर्खेतबाट १७ वटा दलहरुले निर्वाचनमा भाग लिने भएकाछन् ।

निर्वाचन आयोगका अनुसार सुर्खेतमा स्थानीय तहको निर्वाचनका लागि धेरै जसो पुरानै राजनीतिक दलहरु सहभागी हुनेछन । निर्वाचन आयोगले प्रकाशन गरेको सुर्खेत दर्ता भएका राजनीतिक दलहरुको नामावलीमा सबैभन्दा पहिले राष्ट्रिय जनमोर्चाको नाम रहेको छ । यस्तै क्रमश नेपाल मजदुर किसा पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), नेपाली काँग्रेस, नेपाल परिवार दल रहेकाछन् ।

यस्तै आयोगले प्रकाशन गरेको नामावलीमा क्रमशः अखण्ड नेपाल पार्टी, नेपाल कम्युष्टि पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी), नेपाल समावेशी पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी, नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, ग्रीन पार्टी नेपाल र जनसमाजवादी पार्टी नेपाल रहेकाछन् ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतको पछिल्लो तथ्याङक अनुसार जिल्ला भरी निर्वाचनमा करिब २ लाख मतदाताले मतदान गर्नेछन । माघ मसान्तसम्मको तथ्याङक अनुसार जम्मा मतदाताहरु एक लाख ८४ हजार ५४ जना रहेकाछन । जसमा महिला ९५ हजार ४०५ र पुरुष ८९ हजार ६४८ जना रहेकाछन भने एक जना तेस्रो लिङ्गि रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले पुस १७ गतेदेखि माघ सम्म संचालन गरेको मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रबाट नयाँ तीन हजार १७४ जना मतदाता थपिएका हुन । जसमा एक हजार ६ सय १८ पुरुष र एक हजार ५५६ महिला मतदाता थपिएको कार्यालयले जनाएको छ । स्मरणहोस, दोस्रो संविधानसभासम्म सुर्खेतमा मतदाताको संख्या एक लाख ५४ हजार ८११ रहेको थियो ।

यसैबीच प्रदेश नं. ६ मा प्रदेशमा रहेका जिल्लाहरुमा पनि सुर्खेतमा दर्ता भएका नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र, फोरम लगायतका पार्टीले निर्वाचनमा सहभागिता जनाउँदैछन् । तर प्रदेश नं. ६ मा पर्ने डोल्पा जिल्लामा भने नेपाली काँग्रेसले निर्वाचनमा सहभागी हुन नपाउने भएको छ । डोल्पा जिल्लामा नेपाली काँग्रेस पार्टी नै दर्ता भएको छैन ।

डोल्पा जिल्लामा जम्मा ६ वटा पार्टी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको दलहरुको नामावलीमा काँग्रेसको नाम छैन । डोल्पामा राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), संघीय समाजादी फोरम नेपाल, नेकपा (एमाले), नेपाल परिवार दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) दर्ता भएकाछन् ।