२०७७ मंसिर १०, बुधबार

एमालेपछि सुर्खेतमा माओवादीको जनसभा, अब माओवादीलाई परास्त गर्छाै भन्ने भ्रममा नपरौं : थापा

सुर्खेत,१२ चैत । नेकपा (माओवादी केन्द्र) का बरिष्ट नष्ट नेता रामबहादुर थापा (बादल) ले अब कोही पनि माओवादी केन्द्रलाई परास्त गर्छाै भनेर भ्रममा नपर्न चेतावनी दिएकाछन् ।

यहाँको वीरेन्द्रनगरमा शुक्रबार माओवादी केन्द्र सुर्खेतको आयोजनामा भएको जनसभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

उनले केही पुरातनबादी दलहरुले माओवादीलाई परास्त गर्छाै भन्ने भ्रम पालेको भन्दै अब त्यो भ्रम त्यागेर राष्ट्रिय एकताका लागि हातेमालो गर्न अपिल गरे । कुनै पनि राजनीतिक दलहरुलाई कुनै आक्षेप नलगाएर सभामा सम्बोधन गरेका उनले राष्ट्रिय एकताका लागि सबै दलहरुलाई एकै ठाउँमा आउन अपिल गरे ।

जनताको उपस्थितिले माओवादी केन्द्रको जित सुनिश्चित गरेको भन्दै सम्बोधन सुरु गरेका उनले अहिलेसम्मका राजनीतिक उपलब्धीहरुलाई जोगाइराख्नका लागि पनि राष्ट्रिय एकताको आवश्यकता भएको बताए ।  अहिले देशले नयाँ राष्ट्रिय एकता खोजिरहेको भन्दै अन्य राजनीतिक दलहरुलाई पनि जनतालाई केन्द्रमा राखेर राजनीतिक गर्न आव्हान गरे । अहिलेको आवश्यकता हरेक जातजाति, धर्म, भार्षि, हिमाल, पहाड, तराई र मधेसका सबैप्रकारका जनतालाई एकता गर्नु भएको भन्दै उनले त्यो काम माओवादी केन्द्रले गरिरहेको बताए ।

जनता नै प्राण भन्दा प्यारा भएको भन्दै उनले माओवादी केन्द्रले मजदुर,किसानहरु, दलित, महिला , जनजातिहरु, श्रमजिवि सबै वर्ग र क्षेत्रको प्रतिविम्बका रुपमा माओवादी केन्द्र रहेको उनले बताए । जनताको एकतालाई माओवादीले सुदृढ गरिरहेको भन्दै उनले माओवादीले ल्याएको संघीयताले समृद्धि ल्याउने बताए ।

लामो समय राष्ट्रिय एकताको विषयमा बोलेका थापाले बाह्य हस्तक्षेपका लागि एकता आवश्यक भएको र त्यसका लागि सर्वप्रथम तराईबाट हिमालसम्मका जनतालाई एकताको सुत्रमा बाँध्नुपर्ने बताए । ‘‘अहिले नयाँ राष्ट्रिय एकताको आवश्यकता छ,’ उनले भने–‘पहिले तराईदेखि हिमालसम्म जनतालाई एकताको सुत्रमा बाँध्नु छ, त्यो माओवादी केन्द्रले गरिरहेको छ ।’’
उनले माओवादीको लक्ष्य चन्द्रमामा पुग्ने भएको भन्दै अब यो प्रयासलाई कसैले रोक्न नसक्ने समेत बताए । अहिले जनता र देशको समृद्धिको लागि माओवादी केन्द्रलाई विजयी गराउन जरुरी भएको उनको भनाई छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश नं. ६ का इन्चाजए तथा पूव गृहमन्त्री शक्तिबहादुर बस्नेतले भने नेकपा एमालेलाई संघीयता विरोधीको संज्ञा दिएका थिए । माओवादीले संघीयताको एजेण्डा ल्याउदा एमालेले विरोध गरेको भन्दै उनले एमालेले सधै जनतालाई भड्काएर फाइदा लुट्ने प्रयास गर्ने गरेको बताए ।

इन्चार्ज बस्नेतले माओवादीले जनताको घरघरमा अधिकार लिएर निर्वाचनमा सहभागी हुन लागेको भन्दै माओवादी केन्द्रलाई जिताउन आग्रह गरे । उनले माओवादी केन्द्रले नै सबै नेपाली जनताको सम्मान गर्दै सबैलाई न्यायोचित व्यवहार गरेको भन्दै जनताले पनि अब माओवादी केन्द्य्रलाई चिन्नुपर्ने बेला आएको बताए । उनले माओवादीका एजेण्डाहरुले अब मुलुकमा माओवादी युग सुरु भएको दावी समेत गरे । उनले अहिले एमाले र काँग्रेस समेत माओवादीको बाटोमा हिँडेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश नं. ६ का संयोजक मायाप्रसाद शर्माले माओवादी केन्द्र नयाँ माओवादी भएको भन्दै अब जनताको मनमनमा बस्नेत बताए । जनताको माझमा हुर्किएको माओवादी जनताकैमाझमा पुगेको भन्दै उनले अब जनताले माओवादीलाई जिताउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता कालिबहादुर मल्लले एमालेको टुक्के राष्ट्रवादले जनतालाई भड्काएको आरोप लगाए ।

कार्यक्रममा बैद्य माओवादीबाट प्रवेश गरेका आदर्श, नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर नगरपालकाका मेयरका प्रस्तावित उम्मेदवार रत्न गाहा र उपमेयर हरिमाया शर्माले पनि आफ्नो भनाई रोखेका थिए । कार्यक्रम जिल्ला संयोजक कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमपूर्व वीरेन्द्रनगरका विभिन्न ठाउँमा जुलुस निकालि मंगलगढी चोक हुँदै पिपलचौतारामा सभा भएको थियो ।

१३ सय ले माओवादी केन्द्रमा प्रवेश गरेको दावि

यसैबीच नेकपा माओवादी केन्द्र सुर्खेतको जनसभामा एक हजार तीन सय जनाले अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।

माओवादी केन्द्रका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल कम्यूनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नयाँ शक्ति पार्टी नेपाल लगायतबाट गरी १३ सय जनाले माओवादी केन्द्रमा प्रवेश गरका हुन् । कार्यक्रममा प्रमुख अतिथी रामबहादुर थापाले नव प्रवेशीलाई स्वागत गरेका थिए । प्रवेश गर्नेहरु मध्ये धेरै युवाहरु रहेकाछन् । युवाहरुलाई वाइसिएलमा समाहित हुने माओवादी केन्द्रले जनाएको छ ।

सबैभन्दा धेरै लेकबेशी नगरपालिकाको ९ नम्बर वडा साविकको साटाखानीबाट मात्रै एक सय ९० जनाले अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । लेकबेशीमा यस अघि पनि त्यतिकै संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
सहिद परिवारलाई सम्मान

माओवादी केन्द्रले शुक्रबार आयोजना गरेको जनसभाको समापन पछि आफ्ना सहिद परिवारहरुलाई सम्मान गरेको छ ।  कार्यक्रममा नेताहरुले सहिदपरिवारलाई भेटेर सम्मान गर्नुका साथै सहिदहरुको बाटोमा लाग्ने प्रतिबद्धता जनाएका थिए । सहिद परिवारलाई समेत विचलित नभई निरन्तर उनीहरुको सपना पुरा गर्नका लागि लागि पर्नुपर्ने बताएका थिए ।