२०७७ कार्तिक १५, शनिबार

सुर्खेत आन्दोलनका मृतकको सम्झना, सहिद घोषणा हुन नसक्नु दुःखद

surkhet andolanसुर्खेत,साउन २६ ।
प्रदेश नं. ६ का लागि सुर्खेतमा भएको आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्र र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रलाई मिलाएर एउटै प्रदेश बनाएपछि सुर्खेतमा सुरु भएको आन्दोलनमा तीन जनाको मृत्यु भएको थियो । यस प्रदेशका लागि उनीहरुले बलिदानी दिएको एक बर्ष पुगेको अवसरमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

प्रदेशको सिमाङकनको असहमतिमा भएको आन्दोलनका क्रममा पहिलो पटक सुर्खेतमा एकै दिन साउन २५ गते तीन जनाको मृत्यु भएको थियो । सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम र गोपालसिङ रजवार र जुम्लामा भएको आन्दोलनमा हरिबहादुर कुँवरको पनि मृत्यु भएको थियो ।

उनीहरुको सम्झनामा आयोजना गरिएको कार्यक्रममा बोल्ने सहभागीहरुले उनीहरुकै बलिदानीका कारण प्रदेश नं. ६ स्थापना भएको भन्दै मृतकलाई सहित घोषणा गर्न नसक्नु दुःखद भएको बताएका छन् । यो प्रदेशको स्थापना कुनै राजनीतिक दलहरुले नभई सुर्खेतका तीन जना र जुम्लाका एक जनाको बलिदानीले स्थापना भएको भन्दै सहभागीहरुले अब मृतकलाई सहिद घोषणा गराउन पहल गर्ने बताएका छन् ।

कार्यक्रममा दैलेखका पुर्व सांसद राजबहादुर बुढाले आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्न नसके पनि आगामी दिनहरुमा सहिद घोषणा गर्न पहल गर्ने भन्दै उनीहरुको बलिदानीकै कारण यो प्रदेशको स्थापना भएको बताए । कार्यक्रममा नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालले छैटौँ प्रदेश कुनै राजनीतिक दलको सिफारिसले नभई चार जना नागरिकको बलिदानिले पाएको र प्राणको आहुति गनै नागरिकहरुको सपना साकाहार पार्न सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा सहभागी भएका नेपाली काङग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेलले ती बलिदानी दिने नागरिकको रगतले गर्दा छैटौँ प्रदेशको स्थापना भएको भन्दै उनीहरुका परिवारका लागि शिक्षा र रोजगारिका लागि विषेश पहल गर्न सुर्खेतका सम्पूर्ण राजनीतिक दलहरुले छलफल चलाउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले मृतकका परिवारले आफ्ना सन्तान गुमाएको गर्व गर्नुपर्ने र सहिद परिवारको लागि शिक्षा, रोजगार र लालनपालनका लागि पहलका गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सुर्खेतका मानबहादुर खड्का, राप्रपा सुर्खेतका अध्यक्ष कबिराम पुरी, राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द सुबेदि लगायतले आफ्नो भनाइ राखेका थिए । साथै कार्यक्रममा सुर्खेत स्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा आन्दोलनमा बलिदानी दिएका यामबहादुर विसीका बुवा शेरबहादुर विसी, टिकाराम गौतमकि श्रीमति दुर्गादेवि गौतम, गोपाल रजवारका छोरा दिपक रजवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम नेकपा (एमाले) सुर्खेतका जिल्ला अध्यक्ष धुर्व शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।