२०७७ कार्तिक ९, आईतवार

स्ववियु निर्वाचनका लागि ५ विद्यार्थी संगठन दर्ता

सुर्खेत, साउन २६ ।
download-1मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा आगामी भदौ ८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि मंगलबार पाँच वटा विद्यार्थी संगठनहरुले आफ्नो संगठन दर्ता गराएका छन् ।

मिश्रित प्रणालीमा निर्वाचन हुने निर्वाचनमा मप विश्वविद्यालयको निर्वाचन तालिका अनुसार मंगलबार विद्यार्थीहरुले संगठन दर्ता गराएका हुन् । मंगलबार दर्ता भएका संगठनहरुमा नेकपा (एमाले) को अनेरास्ववियु, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी), नेपाली काँग्रेसको नेपाल विद्यार्थी संगठन, नयाँ शक्ति नेपाल पार्टीको नयाँ शक्ति विद्यार्थी युनियन र नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संगठन दर्ता भएका छन् ।

निर्वाचन कार्यतालिकामा मंगलबारसम्म मात्रै संगठन दर्ता गर्ने उल्लेख गरिएपनि केही विद्यार्थी संगठनले निर्वाचन कार्यतालिका सार्न माग गरेकोले अन्योल देखिएको छ । मंगलबार संगठन दर्ता गर्ने क्रममा नयाँ शक्ति विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले नाराबाजिसहित दर्ता गरेका थिए भने अरुले सुटुक्क दर्ता गरेका थिए ।

यस्तै नेविसंमा भने संगठन दर्ता गर्ने क्रममै विवाद देखिएको छ । पहिले एउटा पक्षले संगठन दर्ता गरिसकेपछि पुनः पछि अर्काे पक्षका विद्यार्थीहरु संगठन दर्ता गर्न पुगेपछि विवाद बाहिर आएको हो । अर्काे पक्ष संगठन दर्ता गर्न गएपछि पहिले दर्ता गरेका विद्यार्थीहरुले प्रतिबाद गरेका थिए ।