२०७७ कार्तिक ४, मंगलवार

अखिल (क्रान्तिकारी)ले विद्यार्थीको हितमा काम गर्छ ः बुढा

rrमध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतमा आगामी भदौ ८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि मंगलबार पाँच वटा विद्यार्थी संगठनहरुले आफ्नो संगठन दर्ता गराएका छन् । मिश्रित प्रणालीमा निर्वाचन हुने निर्वाचनमा मप विश्वविद्यालयको निर्वाचन तालिकाअनुसार मंगलबार विद्यार्थीहरुले संगठन दर्ता गराएका हुन् ।

मंगलबार दर्ता भएका संगठनहरुमा नेकपा (एमाले) को अनेरास्ववियु, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी), नेपाली काँग्रेसको नेपाल विद्यार्थी संगठन, नयाँ शक्ति नेपाल पार्टीको नयाँ शक्ति विद्यार्थी युनियन र नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संगठन दर्ता भएका छन् ।

यसै सन्दर्भमा माओवादी केन्द्रको अखिल (क्रान्तिकारी), विद्यार्थी संघ तर्फका अध्यक्षका उम्मेद्वार राजेन्द्र बुढासँग अखिल क्रान्तिकारीले जित्ने आधारहरु के के छन् ? कस्ता एजेण्डा लिएर चुनावी मैदानमा जाँदैछ लगायतका विषयमा ईनयाँनेपालका  लागि यज्ञबहादुर खत्रीले बुढासँग गरेको संवादको सम्पादित अंश ः

१.अखिल क्रान्तिकारीलाई भोट किन ?

======अखिल क्रान्तिकारी विगत लामो समयदेखि मध्यपश्चिम विश्वविद्यालयसँग जोडिएको हुनाले निकै लामो संघर्षका साथ विश्वविद्यालय स्थापनामा महत्वपूर्ण भूमिका खेलेको छ । मध्यपश्चिम विश्वविद्यालय जनताको पहुँचमा पुग्ने गरी हुनुपर्छ भनेर आवाज उठाउँदै आएको छ । विगतका दिनहरुमा विद्यार्थीको हकहितका लागि सशक्तरुपमा आवाज उठाउँदै आएको छ । भदौ ८ गते हुन लागेको स्ववियु निर्वाचन हुनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएका थियाँै । हामी राजनीतिक स्वार्थदेखि पर रहेर विद्यार्थीका हकहितका लागि सधैँ कटिबद्ध भएर लागिरहेका छौँ । त्यसैले पनि अखिल क्रान्तिकारीलाई विद्यार्थीले भोट दिन आवश्यक छ ।

२.कस्ता खालका एजेण्डा लिएर चुनावी मैदानमा उत्रिदै हुनुहुन्छ ?

===== मध्यपश्चिम विश्वविद्यालयको स्थापनाकालदेखि नै अखिल क्रान्तिकारी विद्यार्थीको हकहितमा लड्दै आएको कुरा सबैलाई जानकारी नै छ । आगामी दिनहरुमा विद्यार्थीको समस्याहरुलाई केलाएर, विद्यार्थीसँग छलफल गरेर विद्यार्थीका समस्या पहिचान गरी समस्याको समाधानमा लाग्ने छौँ । मध्यपश्चिम विश्वविद्यालयमा अझै पनि शुल्क महङ्गो छ, गरिब जनताका छोराछोरी पढ्न पाएका छैनन् ।

गरिब जनताका छोराछोरी पढ्न सक्ने गरी शुल्क निर्धारण गर्न पहल गर्ने, विश्वविद्यालयले जीवन उपयोगी र रोजगारमुखी शिक्षा दिन सक्नुपर्छ, प्राविधिक शिक्षाको विकास गर्नुपर्छ, विश्व बजारमा बिक्ने शैक्षिक गुणस्तर हुनुपर्छ, विद्यार्थीको लागि भौतिक सुविधाहरु हुनुपर्छ भन्ने एजेण्डाहहरु लिएर अखिल क्रान्तिकारी चुनावी मैदानमा उत्रिएको छ ।

३.स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले जित्ने आधारहरु के–के छन् ?

===== हाम्रो संगठन आफैमा एकदम गौरवशाली इतिहास बोकेको संगठन हो । मध्यपश्चिम विश्वविद्यालयको आधार क्याम्पस बहुमुखी क्याम्पसमा स्ववियु सदस्य पनि जितेको थियो, अहिले पनि यो विश्वविद्यालयमा अन्य संगठनहरुको तुलनामा धेरै आन्दोलनहरु गरेको छ । संघर्ष गरेको छ । अखिल क्रान्तिकारी जित्नकै लागि चुनावी मैदानमा उत्रिएको हैन, चुनाव जितेर पनि केही गर्नुपर्छ भनेर चुनावमा उत्रिएको छ । जिते पछि केही गरेर देखाउने हाम्रो संगठनसँग सामथ्र्य र क्षमता पनि छ । यसकारण पनि अखिल क्रान्तिकारी विद्यार्थी संघको जित निश्चित छ ।

४. विद्यार्थीको हकहितका लागि अखिल क्रान्तिकारी विद्यार्थी संघ कसरी काम गरिरहेको छ ?

===== हामी निरन्तररुपमा विद्यार्थीको हकहितमा लड्दै आएका छौँ । आगामी दिनहरुमा पनि लड्ने छौँ । विधार्थीहरुको जीवन भोगाईलाई नजिकबाट नियालेका छौँ । अखिल क्रान्तिकारीले कहिल्यै पनि हलानो हाम्रो संगठनको, फलानो हाम्रो संगठनको विद्यार्थी हो भनेर विभेद नगरी सबैलाई समान तरिकाले सम्मान गर्ने गर्दछ । विद्यार्थीहरुका सवालहरुलाई पहिचान गरी बेला–बेला विद्यार्थीहरुलाई सम्बन्धित विषयमा प्रशिक्षण दिने गरेका छौँ । विद्यार्थीहरुसँग नियमित भेटघाट र प्रशिक्षण कार्यक्रमहरु गरिरहेका छौँ ।

४.तपाईहरुको राजनीति विद्यार्थीहरुको हकहितका लागि की राजनीतिक दलको लागि ?

======हाम्रो संगठनले विद्यार्थीको हकहितको लागि र विद्यार्थीहरुको अन्यायको विरुद्धमा आन्दोलन गर्दै आएको छ । साथै हाम्रो संगठनको इतिहासको क्रमलाई निरन्तरता दिएका छाँै । यसका साथसाथै पार्टीको मूल्य, मान्यता, विचारको पक्षमा आवाज उठाउँदै समाजमा रहेका सामन्ती संस्कार, राष्ट्रिय स्वाभिमान, सार्वभौम र खण्डताको पक्षमा आन्दोलन गर्दै समाजलाई सचेतताको दिशामा प्रकाश पार्नु हाम्रो संगठनको राजनीतिक धर्म हो । त्यसैले हाम्रो संगठन हाम्रो पार्टीको उद्देश्य प्राप्तिको निम्ति सधैँ सहयोगी भूमिकामा रहँदै आएको छ र रहिरहने छ ।

५.तपाईहरु आवद्ध राजनीतिक दलहरुले एउटा राजनीतिक एजेण्डा आफ्नो स्वार्थ सिद्ध गर्नको लागि बोक्छन्, त्यसको भरियाचाहीँ तपाईहरु बन्नुहुन्छ । जे–जे गर्नुहुन्छ पार्टीका निर्देशनमा गर्नुहुन्छ, आफ्नो सिर्जनाले केही गर्नुहुन्न भन्ने आरोप पनि छ नि ?

====== हो, यो सही हो । हाम्रो संगठन हामो पार्टीको भरिया वा सहयोगीको रुपमा क्रियाशिल विद्यार्थी संगठन हो । यो क्रियाशील हाम्रो विद्यार्थी संगठनले आफ्नो राजनीतिक पार्टीको उद्देश्य, एजेण्डा प्राप्तिका लागि निरन्तर आन्दोलनमा लागेको र उद्देश्यहरु प्राप्त भएको इतिहास साक्षी छ । तर यो पार्टीको निर्देशनको कुरा गर्नुभयो र विद्यार्थी संगठनहरुले आफ्नो सिर्जनामा केही हुन्न भन्ने आरोप सरासर गलत छ । गलत यो अर्थमा छ कि हामीले आजसम्मको इतिहासमा हाम्रो पार्टीले राष्ट्रियताको पक्षमा, जनजिविकाको पक्षमा वकालत गर्दै आएको छ ।

यसको उद्देश्य प्राप्तिको निम्ति हाम्रो संगठनले निर्देशन पालना गरेको साँचो हो । जसले गर्दा आजसम्म हामीले र हाम्रो देशले धेरै प्राप्त गरेको छ । जसको लागि हाम्रो संगठनको माथिल्लो तहको तत्कालिन उपाध्यक्ष विनोद अधिकारीजस्ता धेरै होनाहार विद्यार्थी नेताहरुले जीवन आहुती गरेको हुनाले हाम्रो संगठन सधँै जनताको पक्षमा र परिवर्तनशील विद्यार्थीहरुको पक्षमा भएको पुष्टि गर्दछ । हाम्रो संगठनले आफ्नो सिर्जनशीलतामा धेरै गतिविधिहरु गरेको छ ।

६. अहिलेको विभेदीकरण शिक्षा, मनपरी ढङ्गले व्यापारीकरणलाई न्यूनीकरण गर्न तपाईको संगठनले कस्तो खालको भूमिका खेलेको छ ? ====== हाम्रो संगठनले विगतदेखि उठाउँदै आएको व्यावहारिक, वैज्ञानिक, रोजगारमूलक शिक्षा प्राप्तिको लागि आवाज उठाउँदै आएको तपाई हामीलाई थाहा भएको कुरा हो । अहिलेको किताबी शिक्षा र वर्तमान जीवन परिस्थितिबीच ठूलो खाडल भएको हुनाले यसलाई जोड्नको लागि, अहिले देशमा भईरहेको शिक्षामा निजीकरण, व्यापारिकरण र माफियाकरणको अन्त्य हुन जरुरी छ र शिक्षालाई राष्ट्रियकरण गरी सम्पूर्ण युवाहरुलाई रोजगारी प्रदान गर्नको लागि हाम्रो संगठन संघर्षरत छ ।

७.विद्यार्थीहरु गन्तव्यविहीन छन् । विश्वविद्यालयको छवि ध्वस्त भएको छ । प्राध्यापकहरुको छुट्टा–छुट्टै राजनीतिक गुटहरु छन् । विद्यार्थीको विषयमा बोल्ने तपाईहरु कमरेड, सलाममै व्यस्त हुनुहुन्छ । तपाईहरुले कहाँनेर परिवर्तन गर्नुभयो ?

===== विद्यार्थीहरुको अहिलेको अवस्थामा गन्तव्यविहीन नहुनको लागि हाम्रो संगठन सडक र सदनमा आन्दोलनरत छ । अहिलेको तरल राजनीतिक अवस्थामा पुरानो यथास्थितिवादी सोच र नयाँ क्रान्तिकारी विचार बीचको निष्कर्षविहीन र गन्तव्यविहीन राजनीतिक लडाइँका कारण युवा विद्यार्थीहरु अहिलेको अवस्थामा आफ्नो भविष्य अन्यौल देखिरहेका छन । हाम्रो संगठनको बल र आन्दोलनबाट यूवा विद्यार्थीहरु सचेत भएका छन् र राजनीतिप्रति आकर्षण बढ्दो छ । विश्वविद्यालय आफ्नै गतिमा अगाडी बढिरहेको छ । वीच–बीचमा आवश्यकता भन्दा बढी राजनीति हुनुले विश्वविद्यालयको छवि केही धमिलिएको थियो । हामी सचेत छौँ । हाम्रो संगठनले विश्वविद्यालयको उज्ज्वल भविष्यको लागि र यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको रोजगारीको पक्षमा निरन्तर खबरदारी गरिरहेका छौँ । त्यसैले अहिले लोकतन्त्र र गणतन्त्रमा जनताको छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री भईरहेका छन् । प्राध्यापक, विद्यार्थीहरु विभिन्न राजनीतिक गुटहरुमा आस्थावान हुनु स्वभाविक छ ।

८.अन्तमा केही भन्न चाहनुहुन्छ ?

===मध्यपश्चिम विश्वविद्यालयमा सबै क्षेत्रबाट अखिल क्रान्तिकारीलाई विजय गराउनको लागि सम्पूर्ण विद्यार्थीहरुलाई भरपुर सहयोग गरिदिनुहुनु अनुरोध गर्दछु । र हाम्रो संगठन अखिल क्रान्तिकारिको विचारहरु बाहिर ल्याउने अवसर दिएकोमा हाम्रो नयाँ नेपाल दैनिकलाई धेरै–धेरै धन्यवाद ।