२०७७ कार्तिक ९, आईतवार

संघीय संरचनाको अभ्यास गर्दै काँक्रेविहार बैंक, काष्ठमण्डपसहित चार बैंक मर्जरको तयारीमा

k 2सुर्खेत, साउन २७ । निजी क्षेत्रको काँक्रेविहार विकास बैंकले संघीय संरचना अनुसार कारोबार गर्ने अभ्यास सुरु गर्ने भएको छ ।
राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि काँक्रेविहारले अन्य विभिन्न तीन वटा बैंक तथा वित्तीय संस्थासँग मर्जर हुँदै अब संघीय संरचनाको अनुसार परिवर्तित हँुदै कारोबार गर्ने घोषणा गरेको छ ।

काँक्रेविहार विकास बैैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक काठमाडौं, पश्चिमाञ्चल फाइनान्स लिमिटेड बुटवल र महाकाली विकास बैंक कञ्चनपुरसँग मर्जरमा जाने तयारी गरेको छ । यी चार वटा बैंक तथा वित्तीय संस्थाबीच गत जेठमै गाभ्ने÷गाभिनेसम्बन्धी सैद्धान्तिक सहमति भईसकेको काँक्रेविहार बैंकले बताएको छ ।

सुर्खेतमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको काँक्रेविहार विकास बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम वि.सं.२०७४ असारभित्र राष्ट्रिय स्तरको विकास बैंकका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पु¥याउने क्रममा यो कदम उठाएको हो । बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको भन्दै मर्जर घटाउन केन्द्रीय बैंकले गत वर्षदेखि पहल सुरु गरेको थियो । साना संस्थाको पूँजी बृद्धि गर्नैपर्ने बाध्यता, बढ्दो सञ्चालन जोखिम तथा प्रतिस्पर्धाका कारण अधिकांश वित्तीय संस्थालाई मर्जरको बाध्यता छ ।
काष्ठमण्डप डेभलपमेन्ट बैंक र काँक्रेविहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेड गाभिएपछि काष्ठमण्डप डेभलपमेन्ट बैंकको पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजनासँगै यी बैंक तथा वित्तीय संस्था मर्जरमा जान लागेका छन् ।

यी चार बैंक तथा वित्तीय संस्थाबीच मर्जरमा जानका लागि पटक–पटक छलफल भएको र केही समयभित्रै टुङ्गो लगाइने काँक्रेविहार बैंकले बताएको छ ।

काँक्रेविहार विकास बैंकका कार्यकारी अधिकृत कर्णबहादुर सिंजालीले मर्जरमा जानेसम्बन्धी चार ओटै बैंक तथा वित्तीय संस्थाहरुबीच छलफल अन्तिम चरणमा पुगेको बताए । उनले यसै आर्थिक वर्षदेखि काष्ठमण्डप डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने विश्वास व्यक्त गरे । उनका अनुसार विकास बैंकले ६४ करोडको चुक्ता पुँजी बढाएर दुई अर्ब ५० करोड र क्षेत्रीय स्तरका विकास बैंकले २५ गुणासम्म पुँजी बढाउनुपर्ने बाध्यता छ ।

“केन्द्रीय बैंकले पूँजी बृद्धिका लागि निर्देशन दिएपछि हामी मर्जरमा जान बाध्य भयौं,” कार्यकारी अधिकृत सिंजालीले भने, “अब विकास बैंकहरुलाई मर्जर वढी आवश्यक भएकाले पूँजी मात्र होइन, व्यापारसमेत बढाउनुपर्ने बाध्यता छ ।” उनले नेपालको संविधानअनुसार मुलुक सात प्रदेशमा विभाजन भएकाले सोहीअनुसार नै बैंकको गतिविधिलाई पनि अगाडि बढाउन यस्तो नीति अंगिकार गरेको जिकीर गरे ।

सिंजालीका अनुसार संयुक्त लगानीमा कारोबारको प्रारम्भ गरी क्षेत्रीय स्तरमा कार्यालय विस्तार तथा ग्रामीण क्षेत्रमा बैंकिङ पहुँचलाई विस्तार गर्ने भावी योजना छ ।