२०७७ मंसिर १४, आईतवार

हिंसा विरूद्धको साझा चुनौती

महिला हिंसाका घटनाहरूको अवस्था हेर्दा सुर्खेतमा डरलाग्दो देखिन्छ । स्वतन्त्र प्रकारका सर्वेक्षणहरू भन्छन्– यस्ता कार्यक्रमका बारेमा गरिएका कैयौं लगानी पनि खेर गईरहेका छन् भने यस्ता कार्यक्रम प्रभावहिन बन्दै गईरहेका छन् ।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला हिंसा विरूद्धको लामो १६ दिने अभियान लगायतका विभिन्न कार्यक्रम गरे पनि पछिल्लो समयमा सुर्खेतको तथ्याङ्क डरलाग्दो भएको देखिन्छ । आ.व. २०७०÷७१ मा जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा २ सय ३ वटा उजुरीहरू आएका थिए ।

त्यसमध्ये आ.व. २०७०÷०७१ मा महिला र बालबालिकाका मात्रै ३६ वटा दर्ता भएका थिए भने आ.व. २०७१÷७२ मा बृद्धि भई ३ सय ९ वटा उजुरी परेका छन् । यो अवधिमा महिला र बालबालिका गरी ३१ मुद्दा दर्ता भएको देखिन्छ । यसैगरी, आ.व. २०७२÷०७३ मा त्यसमा बृद्धि भएर ४ सय १० पुगेको छ । महिला, बालबालिका गरी ३९ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

संख्यात्मकरूपमा घरेलु हिंसा बढ्दै गए पनि क्षमता अभिबृद्धिका लागि कुनै पनि कार्यक्रम प्रभावकारी भएका छैनन् । चालु आ.व. २०७३ सालको साउनदेखि कात्तिकसम्म १ सय ९८ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्क डरलाग्दो नै हो, यसले यस क्षेत्रमा चासो व्यक्त गर्ने तथा लगानी गर्ने राज्य र गैर राज्यले गम्भीर भएर सोच्नैपर्ने देखिन्छ ।

यदि यसरी नै महिला हिंसाका घटनाहरू बढिरहने हो र यस्ता घटना नियन्त्रणका नाममा लगानी पनि बालुवामा पानी खन्याएजस्तै हुने हो भने यतातर्फ गम्भीरतापूर्वक सोच्नैपर्छ । र अहिलेको रणनीति परिवर्तन गरेर डरलाग्दो महिला हिंसाका विरूद्धको साझा चुनौतीलाई सामना गरौँ ।