२०७७ माघ ९, शुक्रबार

जर्बुटाको सामाजिक परीक्षण

सुर्खेत, ३० चैत ।  स्वास्थ्य चौकी जर्बुटाले प्रवाह गरेको सेवाका बारेमा सामाजिक परीक्षण गरिएको छ ।  जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय सुर्खेत र असल शासन क्लव जिल्ला समन्वय समितिको सहकार्य तथा स्वास्थ्य चौकीको आयोजनामा मंगलबार सामाजिक परीक्षण गरिएको हो ।

सामाजिक परीक्षणक्रममा उपस्थित सरोकारवालाहरुले स्वास्थ्यचौकीको सेवा सुविधा सुधार तथा विस्तारका लागि कार्ययोजना निर्माण गरेका छन् ।  प्रसुती वेड थप गर्ने, गाउँघर क्लिनिकको सेवालाई गुणस्तरीय बनाउने, प्रतिक्षालय निर्माण गर्ने, अटोक्लेभ मेसिन मर्मत गर्ने, निःशुल्क औषधीहरुको विवरण देखिने ठाउँमा टाँस्ने लगायतका योजना बनाइएको छ ।

स्वास्थ्य सेवाको गुणस्तरीयताका लागि सक्दो सहयोग गर्ने कुरामा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा सचिव तस्विर वि.क.ले प्रतिबद्धता जनाए । स्वास्थ्य चौकी इन्चार्ज जीवन पौडेलले सबैको सहयोग र स्वास्थ्यचौकीको प्रयासले सेवाप्रति नागरिकको विश्वास बड्दै गएको र आगामी दिन सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइने बताए । यस बर्ष जिल्लाका ५० वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरिदैछ ।