२०७७ मंसिर १६, मंगलवार

धेरै खर्च साडीमा गर्छु

सुनिता दुलाल स्टेज प्रोग्रामका लागि व्यस्त गायिकामा पर्छिन् । अझ उनको व्यस्तता विदेशतिर बढी हुन्छ । व्यस्त बढी भएपछि कमाइ नहुने कुरै भएन । आफ्नो कमाइ राम्रै हुने उनी बताउँछिन् । तिजका गीत बढी गाउने दुलालको कमाइ जति राम्रो छ, फेसनमा खर्च पनि उत्तिकै छ । उनले सुनाइन् :

सांगीतिक कार्यक्रममा व्यस्त भइरहन्छु । देशदेखि विदेशसम्म पुग्नुपर्ने हुन्छ । म समय परिस्थितिअनुसार लवाइमा ध्यान दिन्छु । केही न केही स्टाइल पनि दिन मन लाग्छ । स्टेज कार्यक्रममा जाँदा प्रायः साडी नै लगाउन मन पर्छ । हरियो रंगको साडी विशेष मन पर्छ । कपडामा सबैभन्दा महँगो लगाउने साडी नै हो । एक हजार रुपैयाँ पर्नेदेखि ५०–५५ हजार पर्नेसम्मका साडी लगाएको छु ।

कार्यक्रमको प्रकृति हेरेर पनि कपडा छनोट गर्छु । औपचारिक र स्टेज कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्किने कपडा छुटाउन मन लाग्दैन । मुलुकबाहिर जाँदा त झनै राष्ट्रियता झल्किने कपडा लगाएकै हुन्छु । अन्य सामान्य अनौपचारिक कार्यक्रममा उपस्थित हुँदा लङ वानपिस लगाउँछु । साडीबाहेक अन्य कपडा लगाउँदा रातो, गुलाबी, रानी रंग रोजाइमा हुन्छ । उज्यालो कपडा बढी मन पर्छ ।

गाउँघरतिर दिदीबहिनी, आमा, हजुआमाले लगाउने फरिया चोली पनि खुब मन पर्छ । सस्तो कपडा लगाउँदैमा नसुहाउने या नराम्रो देखिने भन्ने हुँदैन । म महँगोमा भन्दा सुहाउने कपडामा जोड दिन्छु । तर, शरीरमा सुहाउने कपडा रहेछ भने महँगो भए पनि किन्न छाड्दिनँ ।

नेल पोलिस फेरेर लगाउँछु । मसँग सबै रंगका नेल पोलिस हुने गर्छन् । प्राकृतिक रूपमै मिलेका नङ छ भन्छन् साथीहरू । लिपस्टिक ब्रान्डेड कम्पनीको मात्रै लगाउँछु । प्रायः विदेश जाँदा नै किन्छु । लिपस्टिक कपडाको रंगअनुसार लगाउँछु । टीका लगाउन कहिल्यै छाड्दिनँ । मेरो निधारमा टीका नभए राम्रो देखिँदैन भन्छन्, साथीहरू । टाउकोमा प्राकृतिक फूलहरू सिउरिने गर्छु । हिल जुत्ता धेरैजसो लगाउँदिनँ । सामान्य नेपाली हाइट भएकाले जुत्ता सामान्य, सुहाउने नै लगाउँछु ।

गीतको सुटिङमा भने विभिन्न ड्रेस लगाउनुपर्ने हुन्छ । तर, म निर्देशकको रोजाइमा भन्दा आफ्नै रोजाइका कपडा पहिरिन्छु । सुटिङका वेला साडी, सिक्री मात्र होइन, चुरापोते पनि लगाउनुपर्छ । ठूला गहनाहरू लगाइन्छ । नयाँ शैलीका आर्टिफिसियल गहनाहरू र कानमा ठूला झुम्का लगाउन मन पर्छ । छड्के तिलहरी पनि मनपर्ने गहना हो ।

महिनामा कहिले दुई–तीनपटक सपिङ गर्छु भने कहिले दुई–तीन महिनामा एकपटक । फ्यानहरूले दिएका गिफ्ट पनि धेरै हुन्छन् । तर पनि म धेरै खर्चालु छु । महिनामा कम्तीमा पनि १५ हजारदेखि २–३ लाख रुपैयाँसम्म खर्च हुन्छ । विशेषगरी, तिजको समयमा बढी खर्च हुन्छ । तिजको समयमा मैले साडीमा मात्रै २–३ लाखसम्म खर्च गर्छु । अाजकाे नयाँ पत्रिकाबाट