२०७७ मंसिर १६, मंगलवार

मलाई आफ्नै जिन्दगीले धोका दियो

अब कहिल्यै पनि कसैलाई पनि विश्वास गर्न नसकिने गरी मलाई आफ्नै जिन्दगीले धोका दियो । खुन पसिना बगाएर जिएको मेरो जिन्दगीको मुल्य कसैले बुझेन । जस्लाई मैले प्राण भन्दा प्यारो ठाने उसैले मेरो सबथोक लुटिदिन्छ, हो यही परिचय पाएँ मैले आफ्नो जिन्दगीको ।

भनुँ त कस्लाई भनुँ अनि कस्कस्लाई बाँडु आफ्नो मनको व्यथा । समयसँगै बदलिएका मेरा आफन्तहरुलाई मैले चिन्न सकेन । को कतिबेला कस्तो रुपमा मेरो सामु देखा पर्छ यो मैले कहिल्यै पनि बुझ्न सकिन । खै आफ्नै भाग्य पो खोटो हो कि जस्तो पनि लाग्छ कहिलेकाहिँ त । आफुले प्राण भन्दा प्यारो ठानेको मान्छेलाई नै म धेरै खुसि दिने आशा लिएर पराईको मरुभुमिमा पुगेँ अनि आफ्नो सारा खुसीलाई दबाएर अरुलाई खुसी दिनका निम्ति म रात दिन खटेँ तर मेरो गुमेको खुसी सधैँ गुमेको गुम्यै नै भयो कहिल्यै फर्किएर आएन ।

कुनै समय यस्तो थियो जतिबेला मैले मेरो जिन्दगीको सहयात्री निरुलाई बनाएँ । लाग्थ्यो त्यतिबेला कि म नै संसारको सबैभन्दा भाग्यमानी मान्छे हुँ, मभन्दा अरु कोही खुसी छैन यो दुनियाँमा किनकी मैले मेरी निरु पाएको छु । विचरा म,, म त भ्रममा रहेछु सरगम भ्रममा रहेछु यो मलाइ थाहा नै भएन कि आफुले जिन्दगी मानको मान्छेले मलाई मृत्युको मुखमा पु¥याउँछ । जस्ले मसँग अग्नी साक्षी राखेर सात फेरो लगाई कहिल्यै नछुटिने वाचा कसम खाई जस्ले सँगै जिउने अनि सँगै मर्ने वाचा कसम खाई उ नै आज म जीबन मरणको दोसाँधमा हुँदा एकपटक पनि कस्तो छ तिमीलाई भनेर सोध्न आईन ।

मलाई त विश्वासै लाग्दैन कि कुनैदिन मसँग गहिरो नाता साईनो गाँस्ने निरु तिमी नै हौ भनेर । मसँग आफ्नो हाँसो खुसी बाँड्ने मेरी निरु आज मेरो जिन्दगी नै उजाड बनाएर मलाई छाडेर गई । म रुँदा सँगै रुने, म हाँस्दा सँगै हाँस्ने मेरी निरु जो मेरो जिन्दगीको प्यारो मान्छे थिई, उनै आज मेरो जिन्दगीदेखि टाढा भएर गई । म कोसँग के गुनासो गरुँ निरु । सबैले मलाई एक्ल्याएको जस्तो लाग्छ तिमीले छोडेर गएदेखि । जति धेरै कुराहरु आफुसँग भएपनि केही नपुगेको जस्तो भईराको छ मलाई ।

मैले त आज सम्म कति दिन पो बिताए तिम्रो यादमा अँझै कति बिताउनुपर्ने हो म बाँचुञ्जेल । जान त तिमीले मलाई धोका दिएर गएकी हौ तै पनि मन मान्दैन तिमीबिना । किन यसरी पठाउछ्यौ तिमी तिम्रा यादहरु मसँग । तिमी नै आईदेउन बरु,,कि भने तिमीप्रतिको यो मेरो मनमा माया नपलाओस् । म तिमीलाई घृणा गर्न पनि प्रयास हरदिन गर्छु तर सक्दिन ।

कहिलेकाहिँ मेरो मन दुख्यो भने म दुःखी भएभने तिमी मेरो हरेक थोपा आँशु पुछेर हसाउने प्रयत्न गर्ने मान्छे थियौ मेरो । अब त कोही छैन मेरो दुःख देखिदिने त्यसैले अब मैले कस्लाई देखाउने मेरो आँशु अनि कोसामु पोखूँ मेरो पिडा को छ र सुनिदिने । तिमी नै छैनौ भने त मेरो यो मुस्कान के का लागि मेरो खुसी नै तिमी थियौ तर तिमी नै गएपनि अब कस्का लागि म मुस्कुराउँ । भन न मेरी प्रिय निरु किन तिमी यति धेरै निष्ठुरी भयौ । आखिर तिमीलाई के पुगेन मेरी माया किन यसरी चटक्क माया मारेर गयौ तिमी ।

यो अतितको डायरीमा धेरैको कहानी सुनेँ मैले धेरैका दुःख आफ्नै जस्तो लाग्यो त्यसैले मेरो पिडा पनि सबैलाई सुनाउन मन लाग्यो मेरो अतितको डायरीको यो अक्षरुपी पिडालाई अनि कोरे यो पत्र र पेश गरेँ सरगमलाई । मलाई थाहा छ सरगमको आवाजमा मेरो अतितको डायरीको पानाभित्रको यो कथाभित्रको व्यथा सबैले सुन्नेछन् अनि आशा छ तिमीले पनि सुनौली र बुझौलि तिमीले मेरो मनको पिर व्यथा सबैलाई । भनेको सबैले सुनेको छु मैले आँशु दिने निष्ठुरीलाई त के थाहा हुन्छ र विछोडको वियोगको कथा तैपनि म सुनाउँछु मेरो पिडा सायद तिमीले ढिलै भएपनि बुझौली ।

निरु तिमीले सोचेकी हौली कि म तिम्रो यादमा मात्रै तड्पेको छु अँह त्यो मात्रै पटक्कै होईन मसँग एउटा बदलाको आगो पनि छ जो अँझै सल्किँदै छ विस्तारै । एकदिन यो दन्कियो भने तिमीलाई यसरी पोल्नेछ कि तिमीले ऐया गर्न पनि पाउँदिनौ । मैले किन यसो भन्दैछु निरु तिमीलाई थाहा छ ?? किनकी तिमीले मेरो रगत र पसिनासँग खेलवाड ग¥यौ, अलिकति पनि सोचिनौ तिमीले त्यतिबेला जतिबेला तिमी मैले पराईको मरुभुमिमा घाम पानी नभनी तिम्रा लागि खुसी बुलिरहेको छु भन्ने । हो, त्यसैले निरु तिमीलाई मैले एउटा उपहार दिनुछ यसको बदलामा ।

माया नभएको होईन मेरो मनमा तिमीप्रतिको त्यो त छ तर त्यो निरुको लागि छ, जो निरु मलाई साँचो माया गर्थी जो मेरो खुसीको लागि आफु दुःखी हुन्थी, तिमीजस्ता धोकेबाज निरुको लागि होइृन यो मेरो माया । के सोचेकी थियौ तिमीले मेरो जिन्दगीलाई यसरी उजाड बनाएर तिमी खुसी हुन सक्छ्यौ ?? अँह सक्दिनौ निरु पटक्कै सक्दिनौ किनकी तिमीलाई त मेरो आँशुले पोल्नेछ । मेरो रगत अनि पसीनाको श्राप पनि लाग्नेछ । आखिर के पुगेको थिएन निरु तिमीलाई यसरी सुन्दर जिन्दगीलाई नरक बनाएर गयौ तिमी ।

श्रीमती भनेको घरको दियो हुन्छन् भन्ने सुनेको थिएँ तर तिमिले त बलेको दियो पनि निभाएर गयौ, सुन्दर घरबारलाई अँध्यारो बनाएर । कस्ले माया गर्छ तिमीलाई मैले भन्दा पनि कयौँ बढी,,हँ..कस्ले गर्छ ?? तिमी त कत्तिसम्मकी धोकेबाज रहिछौ निरु जता पनि मन मिलाउने जता पनि तिम्रै हुँ भन्ने । भन्न त मैले मिल्छ कि मिल्दैन चरित्रहिन भनेर तर व्यवहारले त्यही देखायो ।

मैले माया नगरेको मान्छे तिमी भैदिएको भए मैले तिम्रो जिन्दगी पनि बर्बाद गर्न सक्थेँ तर के गर्नु धेरै माया गर्छ यो मुटुले तिमीलाई त्यसैले पटक्कै गर्न सक्दिन यसो मैले । फेरी तिमीजस्तो ढुंगे मन भएको मान्छे पनि म होईन । आज यो कथा सुनेपछि तिमीले मेरो पसीनाको मुल्य बुझ्छ्यौ कि भनेर मैले पठाएको हुँ । खै तिम्रो पत्थर मनले कतिसम्म बुझ्न सक्छ ।

म जस्ता हजारौँ लाखौँको पिडा होला यो सायद मलाई लाग्छ किनकी म जस्ता धेरै हुनुहुन्छ होला विदेशी मरुभुमिमा सपनाको खेती गर्दै आफ्ना मान्छेका लागि धेरै खुसी संगाल्ने संघर्षमा कति खुसी भएर गएको थिएँ म तिम्रा लागि खुसी लिन भनेर । बुढा बुवाआमालाई घरमा छोडेर मरुभुमिको बालुवामा सपनाको खेती गर्न भनेर म विदेशिएको मान्छे म ।

तिमीसँगको नातालाई कसरी प्रस्ट्याउँ म,, आखिर को थियौ तिमी मेरो । संस्कृति र एउटा चालचलनले हामीलाई श्रीमान श्रीमती बनाईदियो । वाचाकसम पनि खायौँ हामीले अनेकथरी अनि बाँधियौ एउटा बन्धनमा तर कस्तो बन्धनमा निरु श्रीमान श्रीमतीको नै हो त अँह,,,मलाई त विश्वासै लाग्दैन तिमी मेरो जिन्दगीमा श्रीमती बनेर आईनौ किनकी श्रीमतीले श्रीमानलाई जिन्दगीको आधा बाटोमै छोडेर जाँदैन अँह कोही श्रीमतीले श्रीमानको मुटुमा छुरा हान्दैन । हो, छुरा त्यतिबेला हान्छ जस्ले पनि जतिबेला गलत भएको हुन्छ श्रीमानबाट तर मैले के गल्ती गरेको थिएँ र तिमीले मेरो मुटुमा छुरा घोपेर गयौ ।

श्रीमती त श्रीमानको जिउने आधार हो अनि श्रीमान श्रीमतीको हुन्छ तर तिमी कतिलाई श्रीमान बनाउँदै हिँड्छ्यौ निरु । छिः सम्झिँदा पनि घिन लागेर आउँछ मलाई त निरु म आज कसरी बयान गरुँ तिम्रो चरित्रको । कुनै दिन त तिमी मेरो जिन्दगीको रानी थियो अनि म राजा जतिबेला त्यो दैलेखेको दुल्लुमा रहेको मेरो सानो घरभित्र तिमी मेरी श्रीमती बनेर मेरो जिन्दगीमा आयौ । तिमी दैलेख रानीबनकी थियौ ।

घरपरिवारकै सल्लाहबमोजिम तिमी र म विवाह बन्धनमा बाँधियौ २०६२ साल फागुन १६ गते । हाम्रो मागी विवाह भएको हो, उन्को र मेरो चिनजान मात्रै थियो । हामीबिचमा चिनजान मात्रै भएर विवाह भएको भएपनि सम्बन्ध एकदमै राम्रो थियो । दुबैजना त्यति धेरै पढेलेखेको थिएनौँ त्यसैले पनि कुनै जागिर थिएन हाम्रो । म घरको एक्लो छोरा थिएँ, खेतीकिसानी गरेर जिन्दगी चलेको थियो । जे जति गरेपनि दुई छाक खाना टारिएकै थियो । निरु पनि मेरो साथमा खुसी थिईन् । कति रमाईलो थियो त्यो जिन्दगी जतिबेला मेरी निरु र म दिनभरी खेतबारीमा काम गरेर साँझ फर्किन्थ्यौँ अनि उनैको हातले पकाएको खाना जस्तो भएपनि मिठो मानेर सँगै खान्थ्यौँ ।

जब म एक्लै काम गर्न जान्थे खेतबारीमा, त्यतिबेला निरुले मेरो लागि गहुँको रोटी अनि तिलको अचार बनाएर पोको पारेर खेतमै लगेर जान्थिन् अनि सँगै बसेर खान्थ्यौँ । सुकुनको निन्द्रा पथ्र्यो त्यतिबेला हामीलाई तर अहिले जिन्दगी ठिक उल्टो भएको छ । न दिनमा भोक छ न रातमा निन्द्रा केही छैन वस् खाली छ जिन्दगी केबल रित्तो । विगतका ति दिन सम्झिँदा त लाग्छ कि निरु र मेरो प्रेमकहानी कुनै फिल्मको कथा भन्दा कम छैन । अहिलेको जिन्दगी दुःखको भुवँरीभित्र छ मेरो ।

समय बित्दै गएपछि निरुले नै एकदिन मलाई भनेकी थिईन्, विदेश जानुस् तपाईँ भनेर । सायद उन्लाई पनि लागेको हुँदो हो माथिल्लो घरको भाउजुले जस्तै हातमा फोन समातेर हिँड्न मन, त्यो समयमा फोन भनेको त हाम्रा लागि धेरै नौलो थियो । विदेश जाने मन मलाई पनि नभएको होईन, धेरै पैसा कमाउने मन मलाई पनि नभएको होईन, तर पनि जानका लागि पैसा कहाँबाट जुटाउने अनि गईसकेपछि राम्रै काम पाईन्छ भन्ने के ग्यारेण्टी छ र ?? यस्तै कुरा मैले निरुसँग गर्दा उस्ले मलाइृ ज्यादै कर गरी ।

घरमा बुवाआमालाई कसरी छोड्ने अनि छोरी जन्मिसकेकी थिई २ वर्षकी पुगिसकेकी थिई छोरी अनि फेरी अर्को बच्चा हुर्किँदै थियो निरुको पेटमा, यस्तो अवस्थामा कसरी विदेश जाने मैले यही कुरा निरुसँग पनि गरेँ, निरुले आफ्नो ढिपी छोडिनन् । अन्त्यमा उनको खुसीको लागि भएपनि मैले विदेश जाने निर्णय गरेँ । परिवारमा सबैसँग सल्लाह गरेँ अनि जग्गा धितो राखेर मैले मलेसिया जाने निर्णय गरेँ २०६५ साल साउन ३ गते । निरुले सोचेकी थिईन् होला, विदेश भन्नेबित्तिकै पैसा जति भनेपनि टिप्न पाईन्छ, तर कहाँ सजिलो छ, अर्काको देशमा काम गर्न ।

पहिचान बेच्नुपर्छ अर्काको देशमा स्वाभिमान बेच्नुपर्छ पराईको देशमा अनि रगत पसीनाको खोलो बगाउनुपर्छ पैसा कमाउन विदेशमा । मिस्त्री काम गर्थेँ मैले मलेसियामा कहिलेकाहिँ त कम्पाउण्ड भत्किएर दिनभरी पनि पुरिएर बाँचे म, त्यतिबेला कोही हुन्थेन त्यहाँ तिमीलाई कस्तो छ भनेर सोध्ने अनि उपचार गर्ने । नेपाली साथीहरुले पनि कति सहयोग गरुन् ।

मनपरी गर्नै पाईँदैनथ्यो अर्काको देशमा । त्यसरी अर्काको देशमा दुःख गर्नुभन्दा आफ्नै घरको आटो पिठो खाएर गरेको दुःख नै आनन्दको थियो । निरुले मलाई परदेश त पठाईन् तर त्यहाँको पिडा बुझ्ने प्रयास गरिनन् । घरमा कहिलेकाहिँ फोन गर्थेँ त्यो पनि तल एउटा पसलको सीडिएमए मा गर्नुपथ्र्यो । निरुसँग आमा बुवा सबैसँग मैले कुरा गर्थेँ, एकछिन भएपनि मनमा आनन्द छाउँथ्यो त्यतिबेला ।

घरमै छु जस्तो लाग्थ्यो । कति याद आउँछ गाउँघरको जब विदेशी भुमिमा गईन्छ त्यो त मैले त्यतिबेला बुझेको थिएँ । चरी भईदिएको भएपनि उडेर पुग्थेँ आफ्नै गाउँजस्तो लाग्थ्यो त्यतिबेला । कति दिन मृत्युसँग लडेर बाँचे म मलेसियामा । धेरै थरीथरीका खाना भएपनि त्यही घरमा खाएकोजस्तो कहिल्यै हुन्थेन, जति ठुला घर भएपनि बरु गाउँकै झुप्रोमा निन्द्रा आनन्दको हुन्थ्यो ।

सम्झिँदा पनि डाको छोडेर रोउँ जस्तो लाग्थ्यो तर के गर्नु अर्काको भुमिमा आँशु पोख्न पनि मन लाग्थेन , रगत पसीना त पोखिएकै थियो, आँशु त कमसेकम रोक्छु भनेर भक्कानिएर भित्र भित्रै धेरै रुन्थे । फेरी त्यहाँ आँशु देख्ने पनि कोही हुन्थेन । तैपनि कुनै दिन धेरै खुसी लिएर फर्किनुछ भन्ने सोचेर धेरै दुःख कष्ट सहेरै भएपनि बसेँ त्यहाँ । धेरै पटक त रातीको काममा बिरामी भएर जान नसक्दा कम्पनीको मालिकले कति दिन भोकै राखिदिन्थ्यो । त्यतिबेला त धिक्कार लाग्थ्यो जिन्दगीदेखि ।

आफ्नो गाउँमा त आफै मालिक भएर आफ्नै खेतबारी चलाईएको थियो तर त्यहाँ त अरुको आदेशमा चल्नुपर्दा कम दुःख थिएन मलाई । पटक पटक मरेर बाँचे म त्यहाँ तर मेरी निरुले मेरो त्यो दुःखलाई देख्न सकिन । मेरो हरेक दुःखमाथि कुल्चेर उस्ले खुसी खोजी । पटक पटक धोका दिई मलाई । मैले रोएर कमाएको प्रत्येक सम्पत्तिमा उस्ले रजाईँ गरीछ मैले पत्तो पाएन । अरु कसैसँग नाता साईनो जोडि उस्ले । मैले आज आएर बुझ्दैछु धोका दिने मान्छेले नै पहिला धेरै माया दिँदारैछन् । जिन्दगीलाई खेल सम्झि उस्ले । यो दिनमा आएर देख्दैछु मैले माया गर्नेको चोखो माया जस्ले पलपलमा मलाई रुवाएको छ, पलपलमा मलाई तड्पाएको छ, हरेक पलको मेरो खुसी लुटेको छ ।

मैले सोचको थिएन, निरु यतिसम्मकी निच र कप्टी निस्कन्छे भनेर । कसरी गाली गरुँ आफुले माया गरेको मान्छेलाई अनि गाली नगरुँ भने मेरो मनमा पिरको आगो बलिरहेको छ । मैले मलेसियामा पाँच वर्ष बिताएँ निरु र सन्तानका लागि खुसी बटुल्दै गर्दा । पाँच वर्षको बिचमा गाउँघरमा के के भयो त्यति धेरै खबर मैले पाएन । गएको तीन वर्षसम्म त घरमा कुरा भईरहन्थ्यो ।

पछि पनि भयो तर निरुले नै मलाई फोन गर्थि, त्यतिखेरसम्म मैले मोबाईल पनि पठाईदिएको थिएँ । मैले बुवा आमासँग कुरा गराउ भन्दा जहिले बाहिर छु भनेर टार्ने गर्थी मैले पनि अन्यथा केही सोचेन । बिताएँ पाँच वर्ष विदेशी मरुभुमिमा अनि फर्किएँ पैसासँगै जन्मिएको मेरो निरुको लागि खुसी बोकेर । जब काठमाण्डौँ पुगेँ, निरुको बारेमा केही नराम्रो हल्ला सुनेँ । शुरुमा विश्वास लागेन, जब घर पुगेँ अनि देखेँ सेतै कपाल फुलेका बुढा बाउआमा, बाहिर हाडछाला मात्रै देखिएका ।

छोरालाई देखेपछि आमा सकिनसकि उठेर मलाई झम्टिएर रुनुभो । म अचम्म परेको थिएँ के भो भनेर । निरुलाई कतै देखेन । फोन गरेँ स्वीच अफ थियो । बुवाले हिम्मत जुटाएर भन्नुभो । तेरी दुलही त अलछिनी रैछ बाबु । सबै लएर गई, कोसँग हो कुन्नी ,,तँलाई भनेपछि झन् विदेशमा केही नराम्रो कदम उठाउलास् भनेर हामी यसै परान धानेर तँलाई नभनेरै बस्यौँ । आमा धेरै रुनुभयो । बाबु यी छोरा छोरीलाई यसै फालेर गई तेरी निरु गई बाबु । त्यो गतिली रैनरैछ बाबु ।

मेरो छोराको जिन्दगी त्यस्ले बर्बाद पार्दी त्यसलाई कहिल्यै सुख नहोस् …..बाबु त्यस्लाई खोजेर तैँले कमाको सम्पत्ति माग बाबु । यी छोराछोरीको विचल्ली पारेर गई बाबु त्यस्ले सबै विचल्ली पारेर गई । कहिलेकाहिँ आउँथी धेरै दिनका अनि आफ्नै सुरमा बस्थी जान्थी हामीले केही भनेनौँ छोराछोरीकै लागि भएपनि बस्छे कि भनेको त बसीन बाबु त्यस्लाई के नपुगेर हो गई बाबु । यो छोरा रात दिन रुन्थ्यो, दुई वर्षको हुँदा देखि ने छोडेर हिँन्थी त्यस्ले । कहिल्यै यी छोराछोरीलाई कस्तो छ केही वास्ता गरिन बाबु ।

बाबु हामीले तेरा लागि राम्री दुलही खोज्न सकेनौँ बाबु हामीलाई माफ गरिदे…।। त्यतिबेला म अर्धबेहोस् जस्तो भएको थिएँ । कति धेरै खुसी बोकेर आएको थिएँ घरमा । मलाई देख्नेबित्तिकै मेरी निरु कति खुसी होलिन् । मेरा छोराछोरी बाबा आउनुभयो भन्दै रमाउँथे होला तर ठिक उल्टो भयो सरगम त्यतिबेला सबै उल्टो भइृदियो । निरुको बाउआमा पनि आएका थिए घरमा । उनीहरु पनि मसँग माफी माग्दै थिए निरुको तर्फबाट ।

निरु तिमी कत्तिसम्मकी निच महिला रहिछौ है, घर परिवार समाज छोरा छोरी केही नसोची जाबो पलभरको खुसीको लागि हिँड्यौ तिमी ?? अरुको बारेमा नसोचेपनि यी छोराछोरीको बारेमा अलिकति पनि सोचिनौँ ?? कस्ती आमा हौ तिमी,,नौ नौ महिना कोखमा हुर्काएर जन्माएको छोराछोरीको अलिकति पनि याद आउँदैन तिमीलाई ?? सेतै फुलेका बाउआमालाई वेवास्ता गरेर हिँड्यौ तिमी, मैले हाडछाला घोटी घोटी रगत पसीनाको खोलो बगाएर कमाएको पैसा तिमीले अर्कैसँग मोजमस्ती गरेर उडायौ । एकदिन यसको फल तिमीले अवश्य पाउँछ्यौ निरु अवश्य । यी बुढा बाउ आमा छोराछोरी अनि मेरो श्राप लाग्नेछ तिमीलाई ।

गाली त यति नराम्रो गाली गर्न मन लाको छ तिमीलाई । यदि सुन्दैछ्यौ भने यत्ति कुरा बुझ्नु तिमीले दुनियाँको जिन्दगी सित्तै आको जिन्दगी होइृन । मेरो जिन्दगी पनि मैले रगत पसीना बगाएर जोगाएको हूँ । कहिले काहिँ त यही ११ वर्षको छोरीले पनि सोध्छे हाम्रो मम्मी कोसँग जानुभाको भनेर । अरुको छोराछोरी आफ्नो आमाको काखमा लुटुपटु पर्दा यीनी कलिलाको मन कत्ति रोला । ए निरु तिमीलाई यी छोरा छोरी अनि मेरो याद कहिल्यै आउँदैन ?? एकपटक पनि आत्मग्लानी हुँदैन तिमीलाई ?? निरु तिमीले प्राश्चित गर्न जरुरी छ कि मैले गल्ती गरेँ भनेर ।

हुनत अब म तिमीलाई स्वीकार्दिन । म खुलेर भन्छु कि माया गर्छु म त्यो निरुलाई गर्छु जो म खेतबारीमा काम गर्दा रोटी र अचारमा माया मिसाएर मलाई खुवाउँथी तर अब यो निरुलाई गर्दिन जस्ले मेरो जिन्दगीसँग खेलेर दुनियाँसँग जोवान साट्दै हिँड्छे । भन्नु केही छैन यही हो तिमीलाई अरुको जिन्दगीसँग यसरी खेल्ने अधिकार छैन तिमीलाई ।

हामी सबैको जिन्दगीमा यसरी खेलेको देख्दा त लाग्छ कि तिमीहरु दुबैजनालाइृ सात टुक्रा पारेर काटिँदिउँ तर जेहोस् जिउ तिमी आफ्नो जिन्दगी तर कुनै दिन पनि यी मेरा छोरा छोरी हुन् भनेर फर्किएर आउने कोसीस नगर्नु । कति सम्मकी निष्ठुरी रहिछौ निरु तिमी के मैले तिमीलाई कहिल्यै माया गरिन ?? के म तिम्रै खुसीको लागि होईन विदेश गएको आखिर उस्ले दिने जति माया मैले पनि तिमीलाई दिन्थे तर तिमीले मेरो माया र साथलाई बुझ्ने कोसीस गरिनौ । घात गरेर हिँड्यौ तिमी उस्लाई छोडेर जो तिम्रै लागि खुसी लिन भनेर सात समुद्र पारी पुगेको थियो ।

कति कठोर तिम्रो मन निरु एकपटक पनि रोएन तिम्रो मन यसरी सबैलाई विचल्ली पारेर छोड्दा ।। खैर जे होस् तिमी धोकेबाज निस्कियौ जसरी जिउन चाहान्छ्यौ जिउ तिम्रो जिन्दगी तर यसरी नारीको नाममा कलंक बन्ने काम कहिल्यै नगर्नु निरु । कुनै दिन मैले धेरै माया गरेको भएर मात्रै यत्ति सुझाव दिँदै छु । म जस्तै हजाराँैले विदेशमा आफ्नो पसीना बगाएका छन्, उनीहरुको पिडा मैले भन्दा बेसी तिमीले बुझ्दिनौँ हो तिमीले अरुको पिडा बुझ्दिनौँ । बुझ्ने भएको भए त तिमीले यसरी मलाई विचल्ली पारेर छोड्ने थिईनौँ अँह छोड्ने थिईनौ ।