२०७७ मंसिर १०, बुधबार

नयाँ वर्ष, समय र सपना

नयाँ वर्ष र बसन्त ऋतुको आगमनसँगै मेरो बासस्थानको नजीक रहेको आँपको रुखमा एउटा कोइलीले बसाइ सरेको छ । म विहान नब्यूझदै उक्त कोइलीले को हौ–को हौं भनेर मीठो स्वरमा निरन्तर कराउन थालेपछि कोइलीले मलाई नै प्रश्न गरेजस्तो लाग्दछ । यस्तैमा साँच्ची ‘म को हुँ’ त भनेर जवाफ खोज्न मन लाग्छ । जवाफ खोजिसकेपछि आफूले खोजेको जवाफ आफैलाई चित्त बुझ्दैन । जवाफलाई संशोधन गर्नतिर लाग्छु । संशोधित जवाफ पनि चित्त बुझ्दैन । चित्त नबुझ्ने क्रम पनि जारी छ र संशोधन गर्ने क्रम पनि जारी छ । जीवनलाई अथ्र्याउने क्रममा द्विविधाहरु अझैपनि प्रशस्तै छन् । अर्थ जे जसरी लगाए पनि निष्कर्षमा नयाँ वर्ष आउदा बिना कुनै ठोस योजना पनि केही भइहाल्छ कि भन्दै आशैआशामा अतृप्त चाहनाहरुको भारी बोकेर उकाली–ओराली गरिरहेको पथिक हुँ भन्दा मात्र पनि मेरो परिचय पुग्छ सायद ।

सतहमा हेर्दा नयाँ वर्ष आउदानआउदै थुप्रै गतिविधिहरु देखापरेका छन् । सर्वप्रथम त भित्ताको भित्ते पात्रो फेरिएको छ एकाएक । बेतन दिने कार्यालयमा हाजिरी बहि फेरिएको छ । विद्यालयमा छोरीको शुल्कको दर फेरिएको छ । एकाध रात भएपनि बत्ति र ध्वजापताकाले कतै कतै शहर फेरिएको छ । चिट्ठी, नोटकपि र डायरीमा लेखिने साल फेरिएको छ । एकवर्षदेखि धौ–धौसँग यथावत रहेको कोठाको बहाल पनि फेरिएको छ । नयाँ वर्षसँगै यस्तै यस्तै कुराहरु फेरिएका छन् । यी र यस्ता कुराहरु यसवर्ष मात्र होइन गतविगतमा आएका नयाँ वर्षहरुमा पनि यसरी नै फेरिएका थिए । त्यसैले पनि वर्ष नयाँ भएपनि कुराहरु कर्मकाण्डीय तरिकाले पुरानैको पुनरावृत्ति भइरहेको जस्तो लाग्दैछ । नयाँ वोतलमा पुरानै रक्सी सिलप्याक गरे जस्तै ।

नयाँ वर्ष एउटा कालखण्ड रहेछ । नयाँ वर्ष एउटा समय रहेछ । समयलाई जो–जसले बुझे तिनीहरुको निम्ति नयाँ वर्ष साँच्चीकै नयाँ वर्षकै रुपमा प्रस्तुत हुदो रहेछ । समयको महत्वको बोध संसार जित्न निस्कनेहरुलाई हुँदो रहेछ । रजक पदक पाउने अन्तर्राष्ट्रिय धावकलाई सोध्ने हो भने उसलाई सेकेन्डमात्र होइन मिलीसेकेण्डको महत्व बोध हुन्छ । दुर्घटनाबाट मुश्किलमुश्किलले बचेको मानिसलाई सेकेण्डको महत्व थाहा हुन्छ । हस्याङफस्याङ गरेर दौडदै झण्डै छुटिसकेको गाडी भेट्नेहरुलाई मिनेटको महत्व थाहा हुन्छ । यसरी मिलिसकेण्ड, सेकेण्ड र मिनेटको महत्व थाहा हुनेहरुलाई जीवनको महत्व थाहा हुँदो रहेछ । समय र जीवनको बीचमा जो जसले प्रभावकारी रुपमा साइनो गाँस्न सके त्यस्तै मानिसहरुलाई जीवन सफल भएको महसुस हुँदो रहेछ र त्यस्तै मानिसहरुलाई नयाँ वर्षले नयाँ प्रेरणा र नयाँ प्रतिबद्धता दिन सक्दोरहेछ ।

मलाइ त लाग्छ, नयाँ वर्ष कसैका लागि एउटा बहाना हो भने कसैका लागि एउटा अवसर पनि । पिउनेहरुका लागि पिउने बहाना हो नयाँ वर्ष । त्यस्ता मानिसहरु यो बहानामा ह्विस्की र वियरका बोतलहरु रित्याउदै आफ्नो जीवन भरिएको ब्याख्या गर्दछन् । कतिपय वर्ष र दिनहरु गुन्दै जिउन चाहनेहरुका लागि जिउने बहाना पनि हो नयाँ वर्ष । त्यस्ता मानिसहरु उमेरको हिसावले आफू जेठो भएको कारणले आफूलाई सबै हिसावले अरुभन्दा सिनियर भएको स्वघोषित गर्दै बाँच्दछन् । त्यस्ता मानिसहरुका निम्ति बरिष्ठता मापन गर्ने एउटा मात्र सूचकको रुपमा उमेर हुने गर्दछ र नयाँ वर्षले आफ्नो बरिष्ठता बढाएको महसुस गर्दछन् । यत्तिमात्र नभइ केही गर्न चाहनेहरुका लागि प्रतिबद्धता जाहेर गर्ने अवसर पनि हो नयाँ वर्ष । यस्ता मानिसहरु नयाँ वर्षलाई नविनताको निर्माणको रुपमा स्वीकार गर्दछन् । विचारमा नविनता, दृष्टिकोणमा नविनता, काममा नविनता, शैलीमा नविनता र अन्ततः जीवनमा नविनता । यस्तै मानिसहरुका लागि हरेक नयाँ वर्षहरु सफलताको हिसावले अभूतपूर्व, अनुपम र अद्वितीय सावित हुने गर्दछन् ।

सम्झना र सपना बीचको आरोह र अवरोह रहेछ जीवन । सम्झनामा बाँच्नेहरु विगततिर फर्कदा रहेछन् । त्यस्ता मानिसहरु विगततिरै फर्किएर आगततिरको यात्रा गर्न खोज्दा रहेछन् । त्यसैले त्यस्ता मानिसहरुको आगत त्यति सुखद र स्वर्णिम नहुँदो रहेछ । विगतलाई गुरु बनाएर आगततिर बढ्नेहरुको आगत पनि विगत जस्तै हुदो रहेछ । विगत र आगतको जीवनमा भिन्नता नहुने मानिसहरु आफ्नो समुन्नतिलाई अबरुद्ध गरेर विश्राम गरेका थकित पथिकहरु जस्ता लाग्दा रहेछन् । विगतमा आफूबाट अलग्गिएका आफन्तहरुको सम्झनामा, विगतमा आफूबाट भएगरेका कमीकमजोरी एवम् अपराधहरुको सम्झनामा र विगतमा असल र उल्लेख्य कार्य गर्न नसकेको सम्झनामा त्यस्ता धेरै मानिसहरु आँशु पिएर बाँच्दा रहेछन्, आँखा ओभानो नभएरै बाँच्दा रहेछन् ।

अगाडि बढ्नु छ भने अगाडि फर्कनुपर्दछ न कि पछाडि । अगाडि भनेको आगत हो, भविष्य हो र सवैभन्दा ठूलो कुरा सपना हो । आगतलाई सुन्दर र सपाट बनाउने र बनाएका मानिसहरु अगाडितिर फर्किन्छन् । उनीहरु आगतको सपना देख्छन् । सपनामा उनीहरु समुन्नति र पराक्रमका उच्च हिमालहरु देख्छन् । सपनाले उनीहरुलाई मार्गनिर्देशन गर्दछ र यात्राका लागि प्रेरित गर्दछ । त्यसैले सपना देख्ने मानिसहरु सधैभरि उर्जाबान हुन्छन् । हरेक महान मानिसहरु महान कार्य गर्नु पूर्व महान कार्यको सपना देख्छन् । सपना भनेकै आगतको कल्पना हो भने कल्पना भनेको विपनाको जननी हो । आइन्स्टाइनले भने झै महान कार्य गर्नुभन्दा पनि त्यसको बारेमा कल्पना गर्नु महानता हो ।

आफ्नो सपना आफैले देख्न सक्नुपर्दछ । आफ्नो निम्ति अरुले देखेको सपनाको बैशाखी टेकेर हिड्ने मानिसहरु कहिल्यै पनि स्वाभीमानी र आत्मनिर्भर हुन सक्दैनन् । अरुको सपनामा बाँच्ने मानिसहरु कहिल्यै मालिक पनि हुन सक्दैनन् । अर्कैले लाएअहएको काम गर्ने कारिन्दा भएर बाँच्ने गर्दछन् त्यस्ता मानिसहरु । न त अरुको सपनामा हिड्ने देश नै स्वाधीन र आत्मनिर्भर हुन सक्छ । सायद हाम्रो देशको सपना हाम्रो देशले नदेखेर अरुदेशले देखिदिने भएको कारण पनि हाम्रो देश जवान नहुदै दीर्घरोगी भएको हो भन्दा सत्य बोलेको ठहर्छ होला ।

त्यसैले सपना आफैले देख्न सक्नुपर्दछ । अन्यथा त्यो सपना नभएको खालीस्थान अर्कैको सपनाले भरिन्छ । अतः आफ्ना सपना आफैले देख्नसक्ने हैसियत हामीमा विकास हुदै जाओस्, आइन्स्टाइनले भने झै महान सोच र सपना देख्दै तिनै सोच र सपनाबाट निर्देशित भएर हामी सबैका पाइलाहरु अघि बढून, एकाविहानै कोइलीले को हौ भनेर सोध्दा म एउटा असल मानिस हुँ भन्ने अवसर सबैलाई जुरोस, नयाँ वर्षको सबैसबैलाई मेरो यही शुभकामना !