२०७७ माघ ५, सोमबार

सञ्जय दत्तको रूपमा रणवीर कपुर

सञ्जय दत्तको बायोपिक सेटमा रणवीर कपुरको नयाँ रूप बाहिरिएको छ । रणवीर कपुर हुबहु सञ्जय दत्तजस्ता देखिएका छन् । रणवीरको कपाल, दाह्री र जुँगा सञ्जय दत्तसँग दुरुस्त मिलेको छ । रणवीरको पूरा व्यक्तित्व नै सञ्जय दत्तको जस्तो देखिन्छ ।

सञ्जय दत्त जस्तो देखिनका लागि रणवीरले कडा मिहिनेत गरेका छन् । उनले फिल्मकै लागि आफ्नो तौल नै १३ किलोभन्दा धेरै बढाएका छन् । सञ्जयको जस्तै शरीर बनाउनका लागि रणवीरले फिटनेस ट्रेनर कुणाल गिरसँग ट्रेनिङ पनि लिएका छन् ।

रणवीरले खानामा मासु कटौती गरेका छन् । खानैपरे बोसोरहित मासु खाएका छन् । धेरैजसो त शाकाहारी खाना नै खाएका छन् । सञ्जय दत्तको जीवनीमा आधारित यो फिल्मको सुटिङ हाल मुम्बईमा चलिरहेको छ । सुटिङकै क्रममा उनको फोटो बाहिरिएको हो ।

फिल्ममा सञ्जयको आमाको भूमिकामा मनीषा कोइराला देखिएकी छिन् । फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका छन् । फिल्म रिजिलको मिति भने सार्वजनिक गरिएको छैन ।