२०७७ मंसिर १५, सोमबार

‘भुइँचालो आउँदा बिरामीलाई सान्त्वना दिएर बसेँ’

पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

प्रशंसा कोइराला, स्टाफ नर्स

मेरो सानैदेखिको उद्देश्य नर्सिङ हो । म आफ्नो पेसालाई सम्मान गर्छु । आफ्नै इच्छाले यो पेसामा प्रवेश गरेको हुँदा अत्यन्तै सन्तुष्ट छु ।

तपाईंले अस्पतालमा काम गर्दाको अनुभव कस्तो छ ?

मेरो कर्म नै बिरामीको सेवा गर्नु हो । त्यसैले बिरामीको उपचारमा संलग्न हुँदा म अत्यन्तै खुसी हुन्छु । मैले काम गर्ने संस्थामा सबैले एक–अर्कालाई सहयोग गर्नुहुन्छ । म आफ्नो कामलाई सम्मान गर्छु । तर, व्यवस्थापन पक्षबाट खासै राम्रो व्यवहार हुँदैन । बिरामीहरू कोही आफ्नैजस्तो व्यवहार गर्छन्, कोही भने नर्सलाई हेपेर बोल्छन् । बिरामी धेरै किसिमका आउँछन् । कोही आफ्नै आमा–बुवाजस्तो लाग्छ । तपार्इंले काम गर्दाको कुनै अविस्मरणीय क्षण बताइदिनु न ?

मैल अस्पतालको आइसियु कक्षमा काम गरेकी छु । आइसियूमा काम गर्दा धेरै कुरामा ध्यान पु¥याउनुपर्छ । २४ घन्टा बिरामी हेरेर मात्र बस्नुपर्छ । १२ वैशाख ०७२ गतेको भुइँचालोमा म आइसियू कक्षमा थिएँ, मसँग अर्को एकजना साथी पनि हुनुहुन्थ्यो । सबैजना आत्तिन थाले । म बाहिरको चिच्याहट सुनिरहेकी थिएँ ।

मनमा डर थियो, तर आफ्नो कर्तव्य निर्वाह गरेर बिरामीलाई सान्त्वना दिँदै नआत्तिनुहोस् भनेर उहाँहरूकै छेउमा बसिरहेँ । मेरा लागि त्यो क्षण बिर्सनै नसक्ने क्षण हो । सबैजना भागे, तर म आइसियूमा भएकाले बिरामीलाई सम्हालेर बसेँ । पछि एक दिन बाटोमा हिँडिरहेका वेला त्यो भुइँचालोमा सँगै भएको बिरामीले मलाई देखेर बोलाउनुभयो । त्यो क्षण सम्झँदा खुसी लाग्छ मलाई ।

भविष्यमा तपाईंको योजना के छ ?

अहिले म बिएन गर्दै छु । मलाई सरकारी अस्पतालमा काम गर्ने इच्छा छ । लोकसेवा पढेर सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य छ । अाजकाे नयाँ पत्रिकाबाट