२०७७ माघ ३, शनिबार

जिल्ला लिग बैशाख १६ गते, लिग विजेतालाई ५१ हजार नगद पुरस्कार

सुर्खेत, बैशाख ५ । सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा आज (मंगलबार) ५ गतेदेखि हुने भनिएको एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता बैशाख १६ का लागि सारिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक क्यालेण्डरअनुसार आयोजना गर्न लागिएको जिल्ला लिग प्रतियोगिताको आयोजक सुर्खेत जिल्ला फुटबल संघले बैशाख १६ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । एन्फाको निर्देशिका बमोजिम अनिवार्यरुपमा कम्तिमा १० वटा टिम लिगमा सहभागी हुनुपर्ने भएपनि ४ गतेसम्म जम्मा ९ वटा क्लव मात्र दर्ता भएका हुनाले प्रतियोगिता सार्नुपरेको संघले जनाएको छ ।

‘‘एन्फाको निर्णय एवं नियमअनुसार प्रतियोगितामा १० वटा क्लब अनिवार्य रुपमा सहभागी हुनैपर्छ’’ फुटबल संघका महासचिव गणेश कार्कीले भने, ‘‘चैत मसान्तसम्म तोकिएको निर्धारित समय सकिएपनि निर्धारित क्लब दर्ता नहुँदा प्रतियोगिता सार्नुपरेको हो ।’’ अब बैशाख १० गतेभित्रमा क्लब नविकरण तथा प्रतियोगिताका लागि दर्ता गर्न सकिने उनले जानकारी दिए ।

कम्तिमा १० टिमको सहभागिता हुनैपर्ने प्रतियोगिताका पहिलो चरण लिग तथा दोश्रो चरण नकआउटका आधारमा खेलाइने संघका महासचिव कार्कीले जानकारी बताए । यस वर्षको जिल्ला लिग बिजेता टोलीले हालसम्मकै सर्वाधिक ५१ हजार तथा उपबिजेता क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने घोषणा पनि संघले गरेको छ । लिग बिजेता क्लबले जिल्ला लिग बिजेताको उपाधिसँगै बढुवाका लागि क्षेत्रीयस्तरको छनौट प्रतियोगिता पनि खेल्न पाउने भएकाले यस वर्षको प्रतियोगिता क्लब तथा खेलाडी दुवैका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।

सुर्खेतमा फुटबलप्रति दर्शकको आकर्षण तथा खेलाडीहरुको मनोबल बढाउनका लागि यस वर्ष पनि सेमिफाइनल चरणबाट टिकट प्रणाली लागू गर्ने योजना बनाइएको महासचिव कार्कीको भनाइ छ ।