२०७७ माघ ४, आईतवार

विप्लव अर्थात् प्रयोग पात्र

एक, आफ्नो भर्खरै सम्पन्न महाधिवेशनबाट उनले एकीकृत क्रान्तिको कार्यनीति ल्याएका छन् । त्यसमा खासगरी ‘राष्ट्रवादी’ अर्थात् हिजो राजभक्तहरुलाई समेट्ने उनको मूल आन्तर्य छ । एकीकृत जनक्रान्ति केका लागि ? यहीनेर उनको अष्पस्ट परिभाषा छ । पूर्वराजावादी, के राष्ट्रवादी, जनजीवीकाप्रेमी वा जनमुक्ति पक्षधर हुन् ? हुन् भने एउटै माओवादी पार्टीमा छँदा उनी कसका विरुद्ध लडेका थिए ? उनी आफैँ भन्दैछन् कि शान्ति प्रक्रियामा आएपछि पार्टीले बाटो विरायो, शान्ति प्रक्रियामा र राजतन्त्र उन्मुलनपछि ती शक्तिहरुबीचको अन्तरविरोध समाधान गर्ने न्यूनतम् सहमति थियो, जसलाई शान्ति सम्झौता भनियो । जतिसुकै धक्का, पराजय वा असफलताका वावजुद पनि आजको माओवादी केन्द्रले त्यो बाटो छोडेको छैन । विप्लवको आजको कार्यनीतिभित्र फर्किने हो भने त हिजोका राजभक्तहरु नै सही राष्ट्रवादी र जनप्रेमी थिए भने त्यत्रो जनयुद्ध र जनआन्दोलनको वलिदानी नै आवश्यक थिएन ।

दुई, शान्ति प्रक्रियापछि पार्टीले बाटो बिराएको विप्लवको मूल तर्क छ । तर, शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउने उत्तम विकल्प के हुन सक्थ्यो ? विप्लवले कुनै निश्कर्ष दिन सकेका छैनन् । शान्ति प्रक्रिमा पनि आउने, शान्ति सम्झौतालाई पनि स्वीकार्ने, चुनाव ठूलो पार्टी भएकोमा गर्व पनि गर्ने, प्रचण्डको सच्चाभक्त मै हुँ पनि भन्ने तर एकाएक प्रचण्डप्रति मोहभंग हुने । एउटा क्रान्तिकारीमा यस्तो पनि कहीँ हुन्छ ? पार्टीले ठूलो पद दिएन, मन्त्री दिएन भनेर सारा प्रक्रियाको विरोध गर्ने अनि जनयुद्धको सपना अधुरै रह्यो भनेर आफैँ नेता हुने सपनाका खातिर मूल पार्टी मै हुँ भन्ने घमण्ड विप्लवले देखाएका छन् । संविधानसभामार्फत संविधान लेख्ने न्यूनतम कार्यक्रम बनाएपछि संविधानसभामा जानै पर्दथ्यो, तर संविधानसभाले पुनर्संरचित गर्ने राज्य प्रणाली नजरअन्दाज गर्दै त्यसपछि निरपेक्ष हुने काइदा कसको हितमा छ ?

तीन, पहिलो संविधानसभाबाटै संविधान नबनाउनु, बनाउन नसक्नु वा दोस्रो संविधानसभा चुनावमा झन् वलियो हुने आत्मरतिमा संविधान बनाउन ठोस हस्तक्षेप नगर्नु आजको माओवादी केन्द्रको मूल कमजोरी थियो । तर, चुनावी कार्यनीतिमा असहमत भए पनि विप्लव (हिजो मोहन वैद्यसहित) को, वलिदानी खेर नजाओस्, राज्य पुनर्संरचना होस् भन्ने ध्येय थियो भने दोस्रो संविधानसभा निर्वाचनमा प्रहारको पहिलो निशाना माओवादी केन्द्र किन बन्यो ? भलै रामबहादुर थापा, पम्फा भुषाल, देव गुरुङहरुले वैद्य, विप्लव गुट छाडेर माओवादीमै केन्द्रिकृत भई यो गल्तीको प्रायश्चित गरिसके । तर, विप्लवको प्रहारको मूल निशाना माओवादी केन्द्र नै छ । र, अबका चुनावमा पनि शक्तिले भ्याएसम्म उसको निशाना माओवादी केन्द्र नै हुनेछ । किनभने जतिसुकै कमजोरीका बावजुद नेपाली क्रान्तिको आफ्नै मौलिकता निमार्ण गर्ने प्रचण्डलाई बनाउने प्रतिक्रान्तिकारीहरुले अहिलेको उपयुक्त र मूल अस्त्र विप्लव नै हुन् ।

चार, जनताको स्वसाशन र आत्मनिर्णयको अगाडि राज्य पुर्नसंरचना वा संघीयता कुनै महत्वको कुरा होइन भन्छन् विप्लव । हो, मूलरुपमा यहीनेर प्रतिक्रान्तिहरुको प्रयोग पात्र बनेका छन् विप्लव । क्रान्ति, क्रान्ति भन्ने तर क्रान्तिको सिन्को नभाच्ने मोहनविक्रम प्रवृत्तिसँग विद्रोह गरेर नै आज माओवादी आन्दोलन यो स्तरमा निर्माण भएको हो । शक्तिमा केहि छिन्नभिन्न भए पनि आजका परिवर्तनका पूरा–अपूरा सबै एजेण्डाहरु माओवादी जनयुद्धकै प्रतिफल हुन् । तर, यी सारा एजेण्डाप्रति निरपेक्ष मोहनविक्रमको प्रतिनिधिपात्र भएका छन् विप्लव । फरक कतिमात्र हो भने विप्लव त्रास पनि निर्माण गर्दैछन् । त्रासले विप्लवमण्डलीलाई राम्रो मासु भातको व्यवस्था त होला तर ती क्रान्ति समर्पित निर्दोषहरुले तातै खाउँ, जल्दी मरौँको मेसोमा विप्लवलाई पनि तुरुन्तै छाडने छन् । क्रान्ति जपिमात्र रहने मन्त्र पनि होइन र त्रास निर्माण गरेर क्रान्ति हुने पनि होइन, बरु यो एउटा प्रक्रिया हो । लेनिनले भने झैँ दुई कदम पछाडि र एक कदम अगाडि बढ्ने एउटा हस्तक्षेप हो भन्ने कुरा सच्चा क्रान्तिकारीहरुले बुझनै पर्छ ।

आजको दिनमा संविधान कार्यान्वयन अर्थात् असन्तुष्टहरुको माग संवोदन हुने प्रगतिशील संविधान संसोधन, संघ (प्रदेश) सहित तिनै तहको निर्वाचन र त्यसमा आफ्नो शक्ति निर्णायक बनाउने ध्येय नै क्रान्तिकारीहरुको कार्यनीति हो तर यो कार्यनीतिवाट देश लाई विसृङखलित बनाउने देशी विदेशी प्रतिक्रियावादीहरुको प्रयोग पात्र भैरहेको छ –विप्लव पार्टी ।

पाँच, विप्लव पार्टी आफूलाई ‘राष्ट्रवाद’ को पहरेदार सावित गर्दैछ । विप्लव स्वयंले भनेका छन्, ‘राजाभक्त, पूर्वसैनिक र अहिले खासगरी केपी ओलीमा राष्ट्रवादी भावना पाएको छु जो कोहि राष्ट्रवादी हुनु राम्रो हो । तर, विप्लवको यो सोचका पछाडि एकात्मक राज्य निर्माणको आन्तर्य लुकेको आभास हुन्छ । राष्ट्रियताहरुको गठजोड नै राज्य हो भन्ने जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको मान्यतालाई नजरअन्दाज गर्दै संघीयता, सीमांकन, जाती, धर्म, भाषा क्लस्टरप्रति उदासीन हुने अनि महेन्द्रवादी राष्ट्रवादको वकालत गर्ने प्रवृत्ति विप्लवदेखि केपी ओलीसम्म देखिँदैछ । माधव नेपाल नजरबन्द हुदाँसमेत गणतन्त्रको विरोध गर्ने प्रवृत्ति र शान्ति सम्झौता जस्तो राज्य संरचनाको प्रस्थान बिन्दुको विरोध गर्ने विप्लव, अनि पहाडेलाई मात्रै राष्ट्रवादी देख्ने यस वरिपरीको प्रवृत्तिले सारमा विप्लवलाई प्रतिक्रान्तिको पात्र बनाइरहेको छ । विप्लवको पछि लाग्ने निर्दोश क्रान्तिकारीहरुले यो महत्वकांक्षालाई बेलैमा चिनेर होस पु¥याउन् ।

(प्रकाशबाट)