२०७७ मंसिर ९, मंगलवार

मौसमी ज्वरो फैलियो

logoenayanepalसुर्खेत, साउन २८ । सुर्खेतमा मौसमी ज्वरोका बिरामीहरु बढेका छन् । पश्चिमको काफलकोट र रानीवास गाविसमा मौसमी ज्वरोले गर्दा गाउँलेहरु बिरामी परेका छन् ।

जिल्लाका धेरैजसो ठाउँमा मौसमी ज्वरोका बिरामीहरुको संख्या बढेको छ । ज्वरोले गाउँलेहरु धमाधम बिरामी भएपछि काफलकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव भएको छ । स्वास्थ्य चौकीमा उपचारको लागि दैनिक ४०÷५० जना बिरामी आउने गरेपनि स्वास्थ्यकर्मी र औषधि नभएकोले उपचारै नगरी फर्किने गरेको बिरामीहरुले गुनासो गरेका छन् ।

मौसमी ज्वरोको कारण काफलकोटको वडा नं. १ देखि ८ सम्म र रानीवास गाविसका वडा नं. २ र ३ का बासिन्दा बढी प्रभावित भएको हरिबहादुर सिंहले जानकारी दिए । काफलकोट स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव टंकप्रसाद पंगाली २ महिनादेखि स्वास्थ्य चौकीमा नभएको गाउँलेहरुले जनाएका छन् ।

जेठको अन्तिम सातातिर वीरेन्द्रनगर झरेका पंगाली अहिलेसम्म पनि स्वास्थ्य चौकीमा नगएको गाउँलेले गुनासो गरेका छन् ।
यस्तै, अहेव छोराको उपचारको लागि काठमाडौं र कार्यालय सहयोगी श्रीमतीको उपचारको लागि नेपालगञ्ज गएकोले स्वास्थ्य चौकीमा अहिले करार सेवाकी अनमि पवित्रा कार्की मात्र कार्यरत रहेको बताइएको छ ।

गत माघ महिनामा काफलकोट स्वास्थ्य चौकीको इन्चार्ज भएर गएका सिनियर अहेव पंगाली महिनामा १०÷१२ दिनमात्रै स्वास्थ्य चौकीमा बस्ने गरेको स्थानीयले बताएका छन् ।

यता, जिल्ला स्वास्थ्य कार्यालय, सुर्खेतका फोकल पर्सन उदय बिसीले काफलकोटमा औषधि सहितको स्वास्थ्यकर्मीको टोली पठाउने बताए ।