२०७७ कार्तिक ५, बुधबार

विप्लव माओवादीले जनकारवाही चलाउने

bimal-1सुर्खेत, साउन २८ । मिटर ब्याज, ढुकुटी, अटो पास गर्नेलाई जनकारवाही गर्ने विप्लव माओवादीले चेतावनी दिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, सुर्खेतले प्रहरी र प्रशासनले पीडितहरुको गुनासो नसुनेको भन्दै न्यायको लागि पीडितहरुले आफनो पार्टीमा उजुरी दिन थालेको जनाएको छ ।

मिटर ब्याज, कालोबजारी, अटो पास, ज्यान सुरक्षाजस्ता उजुरीहरु पार्टीमा आउन थालेको माओवादीले जनाएको छ । नेकपा माओवादी, सुर्खेतका सेक्रेटरी प्रकाश ओलीले चर्काे ब्याज, अटो पास, कालोबजारी र ज्यान सुरक्षाका गरी अहिले करिव ४०÷४५ वटा उजुरी नगर परिषद्मा दर्ता भएको बताए ।

पीडितहरुले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दा एकै जना व्यक्तिले विभिन्न व्यक्तिहरुको ५ करोड रुपैयाँसम्म मिटर ब्याजमा लिएको पाइएको उनले जानकारी दिए ।

मिटर ब्याजमा पैसा दिएको तर पैसा दिएको प्रमाण नभएका ९ जना व्यक्तिहरुको ६७ लाख ९० हजार रुपैयाँको तिर्ने गरी कागज गरिएको ओलीले बताए । ९ जना व्यक्तिहरुको १० देखि २५ लाख रुपैयाँसम्म मिटर ब्याजमा पैसा लिएको पाइएको उनले जानकारी दिए ।

मिटर ब्याजमा पैसा लिने–दिने दुवै महिलाहरु हुने गरेको, श्रीमान्लाई पैसा लिए÷दिएको थाहा पनि नभएको, लिने–दिनेको कागज नगरेको, चेक नभई नगद पैसाको लिने–दिने गरेको र पैसा लिने–दिने बेला दोस्रो व्यक्तिलाई थाहा नदिने गरेको पाइएको सेक्रेटरी ओलीले बताए ।

तोकिएको समयभित्र पैसा फिर्ता नगरे त्यस्ता व्यक्तिलाई कारवाही गर्ने चेतावनी नेकपा माओवादी, सुर्खेतले जनाएको छ । पैसा असुल उपर गर्नको लागि प्रहरीकहाँ उजुरी दिन जाँदा प्रमाण माग्ने र प्रमाण नभएर उजुरी नै दर्ता नगर्ने भएकोले आफूहरु यता आउन बाध्य हुने गरेको पीडितले जनाएको विप्लव माओवादीले उल्लेख गरेको छ ।

पैसा मिटर ब्याजमा लगाउने, ढुकुटी खेलाउने, अटो पास गर्ने कार्यमा सुर्खेतका ठला व्यापारी र धनी व्यक्तिहरुको संलग्नता रहेको पाइएको माओवादीले दावी गरेको छ ।