२०७७ मंसिर ९, मंगलवार

५ सय ९ पदको लागि करिब १७ सयको उम्मेद्वारी दर्ता

 सुर्खेत, बैशाख । पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा ५ सय ९ पदको लागि झण्डै १७ सय उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगरको प्रमुखको लागि ३ स्वतन्त्र र १० दलसहित १३ जनाको प्रमुखमा उम्मेद्वारी परेको छ । उपप्रमुखमा १० जनासहित अन्य ४ सय ४ जनाको उम्मेद्वारी परेको सहायक निर्वाचन अधिकृत वीरेन्द्र मल्लले बताए । यस्तै, गुर्वाकोट नगरपालिकाको प्रमुखमा ६ जनाको र उपप्रमुखमा ४ जनाको सहित २ सय ५१ जनाको उम्मेद्वारी परेको छ । भेरीगंगा नगरपालिकाको प्रमुखमा ६ जना, उपप्रमुखमा ५ जनासहित २ सय ४६ जनाको उम्मेद्वारी परेको छ ।

लेकवेशी नगरपालिकाको प्रमुखमा ५ जना र उपप्रमुखमा ४ जनासहित १ सय ८३ जनाको उम्मेद्वारी परेको कार्यालयले जनाएको छ । पञ्चपुरी नगरपालिकाको प्रमुखमा १३ जना, उपप्रमुखमा ९ सहित २ सय ५६ जनाको उम्मेद्वारी परेको छ । चौकुने गाउँपालिकाको प्रमुखमा २ स्वतन्त्रसहित ९ जना, उपप्रमुखमा एक स्वतन्त्रसहित ७ जनाको उम्मेद्वारी परेको छ । सिम्ता गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ५ सहित १ सय ३५ जनाको चुनावी मैदानमा उत्रिएका छन् ।

बराहताल गाउँपालिकाको अध्यक्षमा १०, उपाध्यक्षमा ६ सहित २ सय ११ जनाको उम्मेद्वारी परेको अधिकृत मल्लले बताए । यस्तै, निर्वाचन आयोजले शुक्रबार चुनावी चिन्हसमेत प्रदान गरेको छ । आयोगले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेद्वारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरू दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गरेको हो । १ लाख ८४ हजार ३ सय ३८ जना मतदाता रहेको सुर्खेतमा १ सय ३८ ठाउँमा मतदान स्थल रहेका छन् भने २ सय ४० मतदान केन्द्र तोकिएको छ ।

सुर्खेतका ९ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदान केन्द्र रहेको क्षेत्र वीरेन्द्रनगरमा २७ मतदानस्थल रहेका छन् भने चिङ्गाड गाउँपालिकामा ८ मतदानस्थल तोकिएको छ । निर्वाचन आयोगले ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेद्वारलाई शुक्रबार चुनाव प्रदान गरेको छ ।