२०७७ मंसिर १६, मंगलवार

तिन दिन मतदाता परिचय पत्र बाडिदै

बैशाख, सुर्खेत । र्निर्वाचन आयोगले बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि विहीवार देखि मतदाता परिचय पत्र वितरण सुरु गरेको हो । मतदानका लागि मतदाता परिचय पत्र आवश्यक पर्ने कानुनी व्यवस्था अनुसार मतदाता परिचय पत्र वितरणको काम सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जानकारी दिए ।

विहीवार शुक्रवार र शनिवार ३ दिन सम्बन्धित मतदान केन्द्रले मतदाता परिचय पत्र वितरण गर्नेछ । निर्वाचन आयोगले मतदाता परिचय वितरणसँगै मतदात शिक्षा कार्यक्रमको पनि व्यवस्था गरेको छ । सम्बन्धित मतदान केन्द्रमा मतदाता शिक्षाका लागि निर्वाचन शिक्षा कार्यकर्ताको समेत व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे । आयोगका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ ।

यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्षका लागि हुनेछ । त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ । पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक÷एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता परिचय वितरणको समय भने सम्बन्धित मतदान केन्द्रले त्यहाँको परिस्थिति अनुकूल हुने गरी तय गर्ने पनि स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतहरु तोकिएको मतदान केन्द्रमा पुगेर मतदान स्थलको व्यवस्थापनमा जुटिसकेको पनि जानकारी दिएको छ । पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेश नम्बर ३, ४ र ६ नम्बरका २ सय ८३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले बैशाख ३१ गते विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने पनि स्पष्ट पारेको छ । मतदान सम्पन्न हुनेवित्तिकै मत गणना गर्ने जिम्मेवारी सम्बन्धित मतदान अधिकृतलाई जिम्मेवारी दिइएको निर्वाचन आयोगले जनाएको छ ।