२०७७ माघ ४, आईतवार

अबको नेतृत्व कस्तो

२० वर्षपछि भनिए पनि राज्यको पुनर्संरचनापछि पहिलोपटक भएको निर्वाचनको मत परिणाम आज (सोमबार) साँझसम्म आईपुग्ला । राज्यको पुनर्संरचनापछि यो पहिलोपटक हुन लागेको स्थानीय तहको निर्वाचन हो ।

धेरै नागरिकको बुझाईमा यो स्थानीय निकायको निर्वाचन हो । तर त्यो सत्य होइन, यो पहिलोपटक हुन लागेको स्थानीय तहको निर्वाचन हो । ३ वटा प्रदेशमा पहिलो चरण भएको यो स्थानीय तहको निर्बाचनले धेरै राजनीतिकर्मीहरूका अनुमान, आँकलन तथा अन्य सम्भाव्यताहरूलाई फेल गराउने या सत्य गराउने अबको २४ घण्टाभित्र थाहा हुनेछ । आम सर्वसाधारणहरू अहिले पनि स्थानीय तहको निर्वाचनमा मत हाले पनि यसको महत्व र दिर्घकालीन असरहरूका बारेमा अनभिज्ञता प्रकट गर्छन् ।

जस्तो कि यो निर्वाचनले कसलाई नेता बनाउने हो या यो निर्वाचनपछि अब हामीले पाउने नेताको अधिकार संविधानमा के व्यवस्था छ जस्ता विषयमा धेरेको अनभिज्ञता देखिन्छ । तर पनि लोकतन्त्रको अभ्यास गरेर उत्साहपूर्णरूपमा आम मतदाताको जे सहभागिता देखियो, यो अहिलेसम्म नभएका निर्वाचनका कारण देखिएको उत्साह हो । यो ठम्याई आम मतदाता र सर्वसाधारणको पनि हो देखिन्छ ।

अब रह्यो शान्तिपूर्णरूपमा सम्पन्न भएको मतदान र निर्वाचनको पछिको परिणामको कुरा । परिणाम जस्तो आए पनि या परिणाम जसको पक्षमा आए पनि परिणाम पछि आउने जनप्रतिनिधि र नेताहरूले अब कस्तो समाज रूपान्तरणको परिणाम ल्याउँछन् भन्ने कुरा हो ।

अब बन्ने नेताहरूले आम नागरिकमा अहिले देखिएको निरासा हटाउन सकेनन् वा अब पनि नयाँ खालको परिवर्तनको अनुभूति देखाउन सकेनन् भने फेरि पनि नैराश्यता नै बढ्नेछ । अब आशाको किरणहरू छर्न र आम नागरिकको नेता बन्ने प्रयास गर्ने काम नेतृत्वकै हो, नवनिर्वाचित हुने नेतृत्वको चेतना भया ।