२०७७ मंसिर ९, मंगलवार

रुकुमका पाँच स्थानीय तहमा मतगणना, यस्तो छ प्रारम्भिक नतिजा

जेठ, रुकुम । रुकुमका ६ मध्ये ५ स्थानीय तहमा मतगणना जारी छ । मुसिकोट नगरपालिकामा हिजो रातिदेखि मतगणना जारी रहँदा अहिलेसम्म एक वडाको मतगणना सकिएको छ । मुसिकोट नगरपालिका २ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार काशीराम खड्कासहित पूरै प्यानल विजयी भएको छ । खड्काले ४ सय २३ मत ल्याएका छन् । वडा नम्बर १ मा पनि कांग्रेसको प्यानलको अग्रता छ ।

मुसिकोट नगरपालिकामा मेयर उम्मेदवारतर्फ पनि कांग्रेसकै अग्रता छ । दुई वडाको मतगणना अनुसार, नेपाली कांग्रेसको ८ सय ११, माओवादी केन्द्र ४ सय ५४ र नेकपा एमालेको २ सय २३ रहेको छ ।

आठबिसकोट नगरपालिकामा भने स्यालाखदी क्षेत्रका मतपेटिका नआइसकेकाले मतगणना भने हुन सकेको छैन ।

त्यस्तै रुकुमको बाँफिकोट गाउँपालिकामा पनि मतगणना जारी छ । बिहानदेखि सुरु भएको मतगणना अनुसार वडा नम्बर १ मा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार हर्कु मल्लसहित प्यानल विजयी भएको छ । मल्लले २ सय १८ मत ल्याएका छन् । जहाँ नेकपा एमाले, नेपाली कांग्रेस सहित अन्य दलहरुबाट संयुक्त तालमेल थियो ।

त्यस्तै, उक्त गाउँपालिका अध्यक्षमा भने नेपाली कांग्रेसकै अग्रता छ । कांग्रेसका मेयर उम्मेदवारले १ सय ३८ र माओवादी केन्द्रका उम्मेदवारले १ सय २९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रुकुमको चौरजहारी नगरपालिकामा पनि बिहानदेखि मतगणना जारी छ । चौरजहारी मेयर पदमा माओवादी केन्द्रको अग्रता छ । माओवादी केन्द्रको ३ सय ७७, कांग्रेसको १ सय ७९ र नेकपा एमालेको १ सय २९ मत रहेको छ ।

सानीभेरी गाउँपालिकाको वडा नम्बर १ मा अध्यक्षका उम्मेदवार टेकबहादुर पुनको पूरै प्यानल विजयी भएको छ । गाउँपालिका अध्यक्ष पदमा माओवादी केन्द्रको अग्रता छ । माओवादी केन्द्र ९ सय ४०, नेपाली कांग्रेस २ सय ७९ र नेकपा एमालेको १७ मत छ ।

त्यस्तै, रुकुमको त्रिवेणी गाउँपालिकामा पनि मतगणना जारी रहँदा सुरुवाती मत सार्वजनिक हुँदा कांग्रेसको अग्रता छ । अध्यक्ष पदमा नेपाली कांग्रेसको ३४, माओवादी केन्द्रको १६ र नेकपा एमालेको १५  मत छ । वडा अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै अगाडि छन् ।

onlinekhabar