२०७७ मंसिर ८, सोमबार

रहेनन् श्याम प्रसाद शर्मा

काठमाडौँ । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्याम प्रसाद शर्मा रहेनन् । लामो समयदेखि अल्जाइमर (विस्मरण)द्वारा पीडित शर्माको २०७४ वैशाख २४ गते बिहान ४ बजे निधन भएको हो ।
शर्माको शव नेपाल प्रज्ञा–प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रगतिशील स्रष्टा तथा वामपन्थी नेता÷कार्यकताहरूद्वारा ठुलो सङ्ख्यामा श्रद्धाञ्जली दिइएपछि शर्माको सोही दिन साँझ आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
१९८६ असार ६ गते तत्कालीन ललितपुर जिल्ला भई हालको मकवानपुर जिल्लाको मन्थली सोलिथुममा जन्मिएका शर्मा २००९ असोज ५ गते स्थापित प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष थिए । २००० सालदेखि नै राणा विरोधी आन्दोलनमा होमिएका शर्मा अल्प समयका लागि नेपाली काङ्ग्रेससित नजिक भएका थिए । त्यसपछि २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको नजिक पुगेका शर्माले २००९ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०१० सालमा सम्पन्न नेकपाको प्रथम महाधिवेशनमा शर्मा प्रतिनिधिका रूपमा सामेल भएका थिए । राणा विरोधी आन्दोलनका क्रममा पटक पटक गिरफ्तारीमा परेका थिए । पछिका दिनका कम्युनिस्ट पार्टको नजिक रहेर काम गरेका शर्मा २०२४ सालदेखि भूमिगत भएर काम गरेका थिए । २०४६ सालपछि मात्र उनी सार्वजनिक जीवनमा पुनः प्रवेश गरेका थिए ।
शर्माका वैचारिक, साहित्यिक प्रकृतिका सयभन्दा बढी रचनाहरू प्रकाशित छन् । उनलाई थुप्रै सम्मान दिइएको थियो । थुप्रै देशहरूको भ्रमण गरेका शर्माका नाममा कैयौँ कोषहरू गठन भएका छन् । २००१ सालदेखि लेखन कार्य सुरु गरेका शर्मालाई पछिल्लो पटक ‘साहित्यकार श्याम प्रसाद राष्ट्रिय अभिनन्दन मूल समिति’ को ब्यानरमा २०७३ साल वैशाख २९ गते अभिनन्दन गरिएको थियो । दुई पटक विवाह गरेका शर्माका दुई छोरीहरू छन् । अन्तिम समयमा उनी जेठी छोरी सम्झना मानन्धरकहाँ राजधानीको कमलादी चोनेरको आवासमा बस्दै आएका थिए ।