२०७७ कार्तिक ९, आईतवार

मोर्चासँग भएको सम्झौता अनुसार संविधान संशोधन हुन्छ गृहमन्त्री निधि

minister nidhiकाठमाडौं, २८ साउन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक डेढमहिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री निधिले भने,‘मधेशी मोर्चासँग भएको सम्झौता अनुसार अब संविधान संशोधन हुन्छ, त्यसको लागि सवैपक्षसँग हामी छलफल गर्छौं, मधेशी, जनजाति, आदिवासी, थारु लगायतका मागहरु सम्बोधन गर्न संविधान संशोधन गर्नेमा हामी तयार छौं, सत्तारुढ दल यसको लागि गृहकार्यमा जुटिसकेको छ ।’

उनले मधेशी मोर्चा अविश्वासको पक्षमा मतदान गरेसँगै सत्तारुढ दल भएकाले उसँग आन्तरिक गृहकार्य गर्दै प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने स्पष्ट पारे ।

मन्त्री निधिले भने,‘अघिल्लो सरकारले मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमै ग्रहण गरेन, काँग्रेस र माओवादीले सुरुवातीदेखि नै मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा लिएको छ, अब हामी अविश्वासको पक्षमा मतदान गर्नेहरुवीच गृहकार्य गर्छौं, त्यसपछि वार्ताको मोडालिटि तयार पारेर एमालेसँग छलफल गर्छौं, मलाई लाग्छ एमालेपनि सहमतिमा आउँछ, अब वार्ता हाम्रो एमालेसँग हुन्छ ।’
उनले राजनीतिक सहमतिका आधारमा संशोधनका बुँदाहरु पहिचान गरी संसदमा संशोधन विद्येयक प्रस्तुत गर्ने स्पष्ट पारे । निधिले सिमांकन, राष्ट्रिय सभा र नागरिकता लगायत अन्य विषहरुमा संशोधन गरिने विश्वास व्यक्त गरे ।

मधेशी मोर्चा संविधान संशोधन नभएसम्म सरकारमा नआउने स्पष्ट पारे । उनले थपे,‘मोर्चाका साथीहरुले नै संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौं भन्नुभएको छ, हाम्रो प्रयास जारी छ, उहाँहरु सरकारमा छिट्टै आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ, हामी आग्रह गरिरहेका छौं ।’

एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनमा एमालेले सहयोग नगर्ने अडान लिएका छन नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘बाहिर के भन्नुभएको छ, हामीलाई थाहा छैन तर संसदमा उहाँले संविधान गतिशिल दस्तावेज भएको भन्दै यसमा केही थपघट गर्नुपरे संशोधन गर्न एमाले तयार छ भन्नुभएको छ, संसदबाहिर बोलेको कुराको पछि हामी दौडिदैनौं ।’

मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनको दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै मन्त्री निधिले भने,‘मन्त्रिपरिषदको बैठकबाट केही महत्वपूर्ण निर्णय भैसकेको छ, केही मागहरु पुरा भएका छन्, बाँकी मागहरु आपसी समझदारीबाट पूरा गर्नेछौं ।’

उनले मोर्चाले आन्दोलनका क्रममा साहादत प्राप्त गर्नेलाई सहिद घोषणा गर्नुपर्ने, घाईतेलाई उपचार गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, मुद्दा फिर्ता गर्ने, आन्दोलनमा दमन भएकोबारेमा न्यायिक छानविन गर्नुपर्ने लगायत उठाएका राजनीतिक मागहरु पूरा गर्नेबारेमा छिट्टै सहमति हुने दाबी गरे ।

निधिले आफूले नामहरुको सूचि तयार पार्न निर्देशन दिईसकेको बताए । उनले थपे,‘दुईहप्ताभित्र सूचि तथा तथ्यांक तयार गर्न निर्देशन दिईसकेको छु, सरकारको तथ्यांकको साथसाथै मोर्चासँग् पनि तथ्यांक माँग्छौं, त्यसमा छलफल गरेर एउटा निश्कर्षमा पुग्छौं ।’ उनले यसबारेमा मोर्चासँग आफूले आईतबार छलफल गर्ने जानकारी दिए ।

संविधानको सर्वस्विकार्यताको लागि पनि असन्तुष्ट पक्षहरुको आवाजलाई सुनिश्चित गर्नेगरि यो सरकारले काम गर्ने उनको विश्वास व्यक्त गरे । उनले आगामी ०७४ माघ ७ भित्रै तीन वटै निकायका निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको लागि काँग्रेस–माओवादी केन्द्रवीच गठबन्धन बनेको दाबी गरे ।

संविधान जारी भएयता नेपाल–भारत सम्बन्धमा चिसोपना देखिएको र केही असहज परिस्थिति बनेको उल्लेख गर्दै त्यसलाई अझै राम्रो बनाउनको लागि पनि आफ्नो भारत भ्रमण बढि केन्द्रित रहने उनको विश्वास थियो । यद्धपी उनले आफू प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत जान लागेको स्पष्ट पारे ।

उनले थपे,‘प्रधानमन्त्रीको तर्फबाट भारतका राष्ट्रपतिको नेपाल भ्रमणको लागि निम्तो दिने, नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले दिनुभएको भ्रमणको निम्तोबारेमा कुरा गर्ने र नेपाल–भारत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल हुनेछ, अब नेपाल–भारत सम्बन्ध सुमधुर हुनेछ, छिट्टै हाम्रो प्रधानमन्त्रीले पनि भारत भ्रमण गर्नुहुनेछ, भ्रमणको गृहकार्यको तयारी भारतीय राजदुतावास र नेपाल सरकारले गर्नेछ ।’ उनले प्रधानमन्त्रीले आफूहरु भारत र चीन जानुपुर्व नै भ्रमणको उद्देश्यको बारेमा विशेष निर्देशन दिने समेत बताए ।

निधिले अर्का उप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि प्रधानमन्त्रीको विशेष दुतको रुपमा चीन जान लागेको उल्लेख गर्दै चीन भ्रमणमा रहँदा उपप्रधानन्त्री महराले द्धिपक्षीय सम्बन्ध मजबुत बनाउने, चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्ने लगायतका बारेमा छलफल गर्नेे जनाए ।
निधिले छिट्टै सरकारले पूर्णता पाउने दाबी गरे । उनले थपे,‘हामी नेविसंघको महाधिवेशनमा नै बढि केन्द्रित भयौं, हाम्रै व्यस्तताले गर्दा मन्त्रिपरिषद विस्तार हुन सकने, अब तीन चारदिनभित्रै मन्त्रिमण्डलमा पार्टीका साथीहरु आउनुहुन्छ, पार्टीभित्र यसबारेमा कुनै विवाद छैन, हाम्रो कारणले अब ढिलाई हुँदैन, माओवादी केन्द्रले त नाम तयार गरिसकेको छ, उहाँहरुको समस्या नै छैन, आजभोलिमा मन्त्रिमण्डल विस्तार हुन सक्छ ।’

अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा हल्ला भैरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री निधिले भने,‘महाअभियोग लगाउन कुनै जरुरी छैन, काँग्रेस पार्टी त्यसको पक्षमा छँदैछैन्, बाहिरको हल्लामा नलाग्नुहोस् ।’
सरकारले छिट्टै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने उनले स्पष्ट पारे । उनले थपे,‘नीति तथा कार्यक्रम बनाउनको लागि काँग्रेस र माओवादी केन्द्रबाट ६ सदस्यीय कार्यदल बनेको छ, सरकारमा सहभागी हुने साना दलहरुसँग समेत छलफल गरेर हामी नीति तथा कार्यक्रम तयार पार्छौं, केही साना दल सरकारमा आउनुभएको छ, अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने बाँकी साना दलहरुलाई सरकारमा ल्याउँछौं ।’

निधिले फाष्ट्ट्रयाकको बारेमा अनावश्यक विवाद गर्नुको कुनै औचित्य नरहेको प्रष्ट पारे । निधिले भने,‘नेपाल सरकारले बनाउने सबै कुराहरु नेपालकै हो, यसमा विवाद गर्नु राम्रो हुँदैन, हामी ग्लोबल टेण्डरमार्फत यसलाई अघि बढाउँछौं, जसको लगानीमा बनेपनि यो नेपाल सरकारकै हो ।’

क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री निधिलाई उपप्रधान एवम् गृहमन्त्रीको कार्यभार सम्हालेकोमा बधाई तथा सफलताको शुभकामना दिँदै आगामी दिनमा संविधानमा सबैको अपनत्व हुनेगरि संशोधन गर्न र यसको सफल कार्यान्वयनको लागि विशेष भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।