२०७७ माघ १२, सोमबार

बालबालिकामैत्री स्वास्थ्य नीति

विद्यालय भनेको बालबालिकाका लागि आधा घरजस्तै हो । अरु समय बाबुआमासँग सुरक्षितरुपमा घर बस्ने बालबालिका त्यत्तिकै समय विद्यालय जान्छन् । विद्यालयमा बालबालिकाले बालबालिकामैत्री वातावरणसँगै अन्य कैयौं व्यवहार र शिक्षा पाउनुपर्छ । त्योसँगै उनीहरुले स्वास्थ्यका क्षेत्रमा पनि ध्यान दिनुपर्छ ।

बालबालिकाका लागि स्वास्थ्य एक महत्वपूर्ण पाटो हो । उनीहरु रहने विद्यालयमा स्वास्थ्यको प्रबन्ध भएन या आकस्मिक उपचारको व्यवस्था भएन भने उनीहरुलाई जटिल अवस्था सिर्जना हुन सक्छ । त्यसकै लागि भनेर अहिले सरकारले नयाँ व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्यरुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यसक्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले एक विद्यालयमा एक नर्सको अवधारणा लागू गर्न शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सनलगायत सरोकारवाला निकायसँग छलफल गरिसकेको छ । मन्त्रालयले प्याब्सन तथा एन प्याब्सनसँग सम्झौता नै गरिसकेको जनाएको छ । सम्झौतामा विद्यार्थीको उपचारका लागि नर्स राख्ने व्यवस्था मात्रै छैन, विद्यार्थीको समग्र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । त्यसअनुसार, निजी विद्यालयको हाताभित्र अबदेखि जंक फुड, गुलियो पेयपदार्थ पूर्णरुपमा निषेध गरिनेछ । विद्यालयमा नर्स राख्ने अवधारणाबारे शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको र त्यहाँबाट प्रक्रिया अगाडि बढेसँगै कार्यान्वयनमा जानेछ ।

विद्यालयमा नर्स राख्ने अवधारणा अब कार्यान्वयनको तहमा अघि बढेको छ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले अब अर्को साताबाट यसलाई लागू गर्ने भएको छ । यसले आम विद्यार्थीहरुको स्वास्थ्यसँग जोडिएका विषयहरुलाई समाधान गर्ने छ । स्वास्थ्य मन्त्रालयले ल्याएको यो नीति कार्यान्वयनको तहमा सबै इमान्दार भईदिने हो भने शिक्षा क्षेत्र र बालबालिका स्वास्थ्यका हिसाबले पनि अझ सुरक्षित हुनेछ ।