२०७७ कार्तिक ११, मंगलवार

सुर्खेतमा मेडिकल कजेलका लागि जग्गाको खोजी, छुट्टै प्रतिष्ठान बनाउने कि कुनै संस्थासँँग समन्वय गर्ने ?

j
तस्बीर ः समितिका संयोजक जितबहादुर रानाको फेसबुकबाट ।

सुर्खेत, साउन २९ । सुर्खेतमा प्रदेश नं. ६ स्तरीय मेडिकल कलेज स्थापना गर्न औपचारिकरुपमा प्रारम्भिक कार्य सुरु भएपछि विभिन्न बहसहरु सुरु भएका छन् । प्रारम्भीक चरणमा जग्गाको खोजीसँगै अन्य विभिन्न विषयमा पनि छलफल चलाईएको छ । सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गर्नका लागि मेडिकल कलेज स्थापना कार्य प्रारम्भ समितिले शुक्रबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा जग्गाका लागि विभिन्न विकल्पहरु प्रस्ताव गरिएको छ ।

छलफल कार्यक्रमका सहभागीले मेडिकल कलेज स्थापनाको विषयमा विभिन्न सुझावहरु दिएका छन् । छलफलमा जग्गाका लागि पनि विभिन्न स्थानलाई विकल्पका अरुपमा अगाडि सारिएको छ तर मेडिकल कलेजलाई छुट्टै प्रतिष्ठानका रुपमा विकास गर्ने कि जिल्लामा रहेका अन्य कुनै संस्थासँग समन्वय गरेर अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

सहभागीहरुले कलेजका लागि आवश्यक जग्गाका लागि मध्यपश्चिम क्षेत्रीय अस्पतालको १५ बिगाह जग्गा रहेको र क्षेत्रीय अस्पतालसँग समन्वय गरी अगाडि बढाउन सकिने सुझाव दिएका छन् । यस्तै, केहीले भने वीरेन्द्रनगर नगरपालिका–१ सोलीघोप्टेमा रहेको २५ बिगाह जग्गामा बनाउन प्रस्ताव गरेका छन् ।

कतिपयले करैखोलादेखि गाग्रेतालसम्मको १३ सय हेक्टर, मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग समन्वय गर्ने, नीजि क्षेत्रको जग्गाको व्यवस्थापन गर्न सकिने सुझाव पनि दिएका छन् ।

यदि कलेजलाई छुट्टै प्रतिष्ठानको रुपमा विकास गर्न सक्ने हो भने पनि त्यसका लागि पनि उपयुक्त जग्गाको खोजी गर्नुपर्ने सुझाव पनि सहभागीहरुले दिएका थिए । छलफलमा सहभागीहरुले विभिन्न किसिमका सुझाव दिएपछि उपयुक्त जग्गा र कलेजलाई छुट्टै प्रतिष्ठान बनाउने कि कुनै संस्थासँग समन्वय गरी सञ्चालन गर्ने भन्ने विषयमा समेत टुङ्गो लागेको छैन । जग्गाका विषयमा स्थानीय राजनीतिक दलहरु नै विभाजित देखिएका छन् ।

केही राजनीतिक दलका नेताहरुले प्रदेश स्तरको संरचना हुने भएकोले कलेजका संरचनाहरु वीरेन्द्रनगर नगरपालिकाकै आसपासमा निर्माण गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र अन्य सरोकारवालाले भने वनको जग्गाको झञ्झटिलो प्रक्रियाका कारण मेडिकल कलेज स्थापना नै अन्यौलमा पर्ने भन्दै सकेसम्म सार्वजनिक र निजी जग्गालाई उत्तम विकल्पको रुपमा राख्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पूर्व सांसद् नरबहादुर बिष्टले कलेजका लागि भौतिक संरचना आवश्यक रहेकोले तत्कालका लागि क्षेत्रीय अस्पतालको संरचनालाई प्रयोग गरी अगाडि बढ्नुपर्ने बताएका थिए । यस्तै, नेपाली काँग्रेसका कोषाध्यक्ष अनन्त पौडेलले वनको जग्ग भन्दा सार्वजनिक एवम् निजी जग्गाको व्यवस्था गर्दा कलेज स्थापनाको कार्य यथाशीघ्र अगाडि बढ्ने बताए ।

एमाले, सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीले मेडिकल कलेजजस्तो शैक्षिक संस्था स्थापनाका लागि सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा डा.सुरेश तिवारी, नेपाली काँग्रेसका गोविन्द कोइराला, झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा, माओवादी केन्द्रका संयोजक कृष्ण जिसी, राप्रपा नेपालका अध्यक्ष मानबहादुर खड्का, क्रान्तिकारी माओवादीका संयोजक खडानन्द लामिछाने, क्षेत्रीय अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेल लगायतले उपयुक्त जग्गाको पहिचान गरी तत्कालै काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

तस्बीर ः समितिका संयोजक जितबहादुर रानाको फेसबुकबाट ।