२०७७ कार्तिक १०, सोमबार

सुर्खेतमा पनि मनाईयो युवा दिवस, स्वदेशमै रोजगारी सृजना गर्न माग

 Youth reliसुर्खेत, साउन २९ । सुर्खेतका सरोकारवालाहरुले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायनलाई रोक्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्, अमेरिकी सहयोग नियोक युएसएआइडीको सहयोगमा सञ्चालित साझेदारी विकास परियोजनाअन्तर्गत समाज जागरण केन्द्र (स्याक) नेपाल र सुन्दर नेपाल संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका हितप्रसाद पौडेलले बेरोजगारी समस्याको समाधानतर्फ ध्यान नदिए समस्या झन्–झन् जटिल बन्दै जाने बताए ।

“दैनिक हजारौं युवाहरु विदेश पलायन भईरहेका छन्”, उनले भने, “देशमै रोजगारीको अवसर सिर्जना गरे, यो युवा जनशक्तिलाई देशमै परिचालन गर्न सकिन्छ ।” जिल्ला युवा परिषद्, सुर्खेतका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतले युवाहरुलाई व्यवसायिक कृषिमा लगाउनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो बेरोजगारीको समस्या बढ्दै गएको र पढेका युवाहरु खाडीमा काम गर्न बाध्य भएको भन्दै बस्नेतले शिक्षालाई पनि व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।

समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले देश विकासको प्रमुख मेरुदण्डका रुपमा रहेका दक्ष युवा जनशक्तिलाई देशमै परिचालन गर्न सरकारी तवरबाट पहलकदमी थाल्नुपर्नेमा जोड दिए । युवा दिवसको अवसरमा स्थानीय मंगलगढी चौकबाट प्रभातफेरी समेत निकालिएको थियो ।