२०७७ मंसिर १३, शनिबार

आलोचना गर्ने नेतालाई रेणुको च्यालेन्ज : सक्नुहुन्छ भने छोराछोरीलाई राजनीतिमा उतार्नुस्

भरतपुरमा मेयर पदका लागि प्रतिस्पर्धामा उत्रिएकी रेणु दाहालको चर्चा मिडियामा सक्रिय राजनीतिकर्मीभन्दा प्रचण्ड पुत्रीको रुपमा भयो। भरतपुर पुगेर अन्तर्वार्ताको प्रस्ताव गर्दा उनी खासै सकारात्मक देखिइनन्। तर, आफूमाथि लागेका आरोपहरु खण्डन गर्ने उनको चाहना प्रस्ट देखिन्थ्यो।

लाभको पद नरोजेर जनताबाट अनुमोदित हुने उनको चाहनाको प्रचार भएन। प्रधानमन्त्री पुत्रीका रुपमा बदनाम गर्नेहरु भने धेरै सक्रिय रहे। यसपालाको निर्वाचनमा कुप्रचारको चपेटामा उनी बराबर कोही पनि परेन। मतगणनामा अग्रता हासिल गर्दा उनीमाथि शक्तिको प्रयोग गरेर जीत हात पार्न खोजेको आरोप लाग्यो।

प्रचण्डपुत्री भनेर अर्थ्याउने मिडियाबाट वाक्क देखिएकी रेणुसँग मनोज सत्यालले गरेको कुराकानी –

स्थानीय निर्वाचनको मूल केन्द्रमा तपाईँ हुनुभयो। भरतपुरमा तपाईँको उम्मेद्वारी घोषणा भएपछि एमाले अध्यक्ष केपी ओली विपक्षमा प्रचार गर्न आउनुभयो। अनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड तपाईँको पक्षमा। कस्तो महसुस हुँदोरहेछ?

एकदमै प्रेसर भयो। विरोधीको पनि केन्द्र, समर्थकको लागि पनि केन्द्र। सुरुवाती चरणमा विपक्षीबाट बढी नै प्रहार भयो। सुरुमा व्यक्तिगत हिसाबले र नैतिक हिसाबले ममाथि आरोप लगाउने कुनै पनि विषयवस्तु हतियार भएन।

खाली प्रचण्डपुत्रीको रुपमा ममाथि आरोपहरु आए। वंशपुत्री र शाहज्यादीका कुरा उठाइयो। खाली बुबासँग जोडेर तर्क र कुतर्क आए। अहिले पछिल्लो चरणमा त्यो विषय मत्थर भएर गएको छ।

प्रतिस्पर्धीले कसरी लिए तपाईँको उपस्थिति? विशेषगरी एमाले र देवी ज्ञवालीले?

भरतपुरमा मलाई एमालेले बलियो क्याण्डिडेटको रुपमा लियो। अनेक ढंगले ममाथि प्रहार पनि भयो। अलिक बढी हतोत्साही भएको र एकदमै तुच्छ ढंगले पराजित मानसिकतासहित गालीगलौज भए।

केपी ओलीसमेत आएर आफ्नो विषयवस्तु होइन कि मात्रै माओवादी पार्टी अनि अध्यक्ष अनि प्रचण्ड पुत्री भनेर वंश परम्पराका कुरा उठाउनुभयो। उहाँहरु अलिक बढी नै हतोत्साही हुनुहुन्थ्यो।

अलायन्स भएपछि झन् बढी हतोत्साही हुनुभएको रहेछ। अलिक आत्तिएको जस्तो, डराएको जस्तो देखियो।

निर्वाचनको मनोनयन दर्ताको १० दिन अगाडि मात्र चितवन आउनुभयो। यति ढिला आएर पनि राजनीतिमा प्रभाव पार्न सकिने रहेछ है?

अलिकति टाइमको प्रेसर भयो। हुन त म राजनीतिमा बीसौं वर्ष लागेको छु। समग्र हिसाबले केन्द्रमा रहेर भूमिका निर्वाह गरे पनि स्थानीय निर्वाचन भएकाले यहाँका जनतासँग एकखालको एट्याचमेन्ट अर्थात् सम्पर्क र सम्बन्ध नभएका कारण प्रेसर भयो।

पार्टी पङ्क्तिमा पनि सबैलाई विश्वासमा लिनुपर्ने अवस्था आन्तरिक रुपमा थियो। जनता पनि फेस गर्नुपर्ने र विरोधसँग सामना पनि गर्नुपर्ने। तीन खालको काम मैले दशदेखि पन्ध्र दिनमा गर्नुपर्दा समय अभावले दवाव भयो।

जति समय पाएँ मैले आफ्नो ठाउँबाट पार्टी पङ्क्तिमा, जनतामा र विपक्षीमा उम्मेद्वारको हैसियले राम्रोसँग फेस गरेँ।

रेणु दाहालको नाम लिएपछि किन मानिसहरु नेगेटिभ हुन्छन्? प्रचण्डसँग जोडेकाले त होइन?

मलाई देखेर कोही नेगेटिभ छन् जस्तो लाग्दैन। विपक्षीहरु त प्रचण्ड नै आए पनि नेगेटिभ हुन्छन्। पार्टीमा पनि एक जना उठ्दा अर्को बागी उठ्ने गरेको पाइन्छ। चितवनमा अलिक बढी नेगेटिभ कन्सेप्ट देखेँ।

हुन त देशको ७५ जिल्लाकै मान्छे बस्ने ७६ औँ जिल्ला भन्छन् चितवनलाई। सबै खालका मानिस छन्। बौद्धिक खालका र टाठाबाठा सबैको केन्द्रिकरण हुँदा अलिकति नेगेटिभ कन्सेप्ट पनि देखियो।

व्यक्तिगत रुपमा केही नेगेटिभ विषय फेस गर्न गाह्रो थिएन। मात्र प्रचण्ड पुत्रीको रुपमा मैले जस्टिफिकेसन दिनुपर्‍यो। प्रचण्ड पुत्री मात्र म होइन।

म लामो समय राजनीति गरेको, हिजो मर्न तयार भएको मान्छे हुँ। देशमा आएको परिवर्तन ल्याउन मेरो पनि भूमिका छ।

बाँच्न सफल भएँ, त्यो बेग्लै कुरा हो। नत्र भने त परिवर्तनका लागि मर्न तयार भएर हिँडेको मान्छे हुँ। योद्धा हुँ।

शान्ति प्रकियाको चरणपछि पनि पार्टीको मुख्य जिम्मेवारी लिएर देशव्यापी मुभ गरेको मानिस हुँ। कतै पनि मेरो व्यक्तिगत विषयमाथि प्रश्न उठाएको भेटिन। विरोधका लागि हतियारको रुपमा केही नपाएपछि मात्र प्रचण्ड पुत्रीका रुपमा हतियार बनाउन खोजियो। अरु विषय केही नपाउँदा त्यति भन्नु स्वभाविक पनि हो।

नेताका छोराछोरीलाई राजनीतिमा आउन त सजिलो छ नि?

देशका लागि र जनताका लागि अरु नेताले आफ्ना छोराछोरी आफू हिँडेको बाटो डोहोर्‍याउन सक्नुपर्थ्यो। जति पनि व्यक्तिले प्रचण्डका छोरीको रुपमा चित्रित गरेका छन्, तिनीहरुलाई म च्यालेन्ज गर्न चाहन्छु। उहाँहरुले आफ्ना छोराछोरीलाई आफ्नो पदमार्ग पछ्याउन सक्ने किन बनाउनु भएन? राजनीतिमा नेताहरुले छोराछोरी किन ल्याउन सकेनन्?

यो व्यक्तिगत कुरा होइन। मैले पनि पढ्न सक्थेँ होला। ठूलाठूला प्रोजेक्टमा जागिर खान सक्थेँ। म पनि सुख सुविधाको निजी जीवन बिताउन सक्थेँहोला नि त। हाम्रो त निजी जीवन भनेकै भएन। पढ्दा पढ्दै छाडेर देश र जनताका लागि हिँडियो। अब बाँकी जीवन पनि देश र जनताकै लागि रहन्छ।

नेताका छोराछोरीलाई मायाभन्दा बढी गाली हुने हो त?

एकदमै। पढे भने आफ्ना छोराछोरी पढाए अरुका छोराछोरी मर्न-मार्न लगाउने भन्दिन्छन्। हिजो हामी युद्धमा हुँदा त्यो आरोप आएन। प्रचण्डले आफ्नो छोराछोरी युद्धमा हिँडायो कसैले भनेन।

पढेन भने पनि ‘हेर आफ्ना छोराछोरी वेवारिसे बनायो। अरुका के हेर्ला?’ भन्ने खालको अभिव्यक्ति आउँछ। व्यवसाय गर्‍यो भने व्यवसाय गर्‍यो भन्ने खालको। राजनीति गर्‍यो भने मैले भोगे जस्तै आक्षेपहरु। अनि केही पनि गरेन भने पनि ‘ल हेर त केही पनि गरेन’ भन्ने। राजनीतिक परिवारका सदस्यलाई केही गरेपनि सुख छैन।

तपाईँलाई कतिपयले जनताबाट चुनिएर अनुमोदित हुन खोजेको पनि भनेका छन् नि! आलोचनामात्र छैन त।

पार्टीभित्र पनि बाहिर पनि प्रस्ट भन्छु – म मनोनित भएर जाने पक्षमा हैन। जहिले पनि कि सर्वसम्मत भएर कि प्रतिस्पर्धाबाट जिम्मेवारी लिनुपर्छ भन्ने मान्छे हुँ।

मैले अहिलेसम्म पदका लागि कसैसँग केही भनेको छैन। बुबालाई पनि मैले आजसम्म यो गर्दिनुस् भनेको छैन। कुनै पदका लागि दवाव दिएको छैन।

म मेयर लड्नका लागि पार्टीबाट सर्वसम्मत भएपछि मात्र आएको हुँ। मेरो त प्रदेशमा पनि केन्द्रमा पनि समानुपातिकबाट सांसद् हुने सम्भावना थियो। तर, त्यसरी होइन कार्यकर्ताको परीक्षणबाट र जनताबाट अनुमोदित हुनुपर्छ। त्यहाँबाट पास भएर जानुपर्छ भन्ने मान्यता हो मेरो।

नेताका छोराछोरीमाथि अन्यथा आरोप आउँछन्। स्वयम् पार्टी बदनाम हुन्छ। त्यस्तो अवस्था चिर्न सक्नुपर्छ। त्यो भनेको जनता र कार्यकर्ताबाट अनुमोदन हुने हो।

सभासद् भएको र संविधानसभा चुनाव लडेको मान्छे। माथि प्रशस्त सम्भावना भएर पनि म यहाँ तयार भएर आएको छु।

पदीय हिसाबले तल हो अहिलेको पद। तर, कार्यकारी पदका लागि काम गर्न आएको हुँ नि त। सांसद् भन्दा तल्लो पद हो नि त।

म यहाँ आउँदा मिडियामा जसरी प्रचण्ड पुत्री भनेर हल्ला फिजाइँयो मलाई प्रत्यक्ष देखेपछि आम कार्यकर्ता मबाट प्रभावित हुनुभएको छ। मैले जनतामा छुट्टै प्रभाव दिन सफल भएको छु।

प्रचण्डको राजनीतिक भविष्य भरतपुरमा बनाउन तपाईँलाई उठाइएको हो चर्चा छ। प्रचण्डले छोरीलाई राजनीतिमा प्रयोग गरेको होइन कसरी भन्ने?

निर्वाचनमा तालमेल केन्द्रबाट भएको हो। कांग्रेससँग सहकार्य भएकाले गठबन्धनमा कसरी जाने भनेर चुनावी रणनीति बन्दा हाम्रो फोकस भरतपुर बनेको हो।

तपाईँले भनेको कुरा पनि अलिअलि सत्य हो। संविधान अनुसार एउटा क्षेत्रबाट निर्वाचित नहुने हो भने प्रधानमन्त्री बन्न सक्ने अवस्था रहँदैन। त्यो भइसकेपछि कहीँ न कहीँबाट निर्वाचित हुनुपर्‍यो। अझै पनि केही समय यो देशको नेतृत्व हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले लिनैपर्छ। त्यो आवश्यकता छ देशका लागि। त्यो पनि एउटा कारण हो।

तर, त्यति मात्रै पनि होइन। मेरो पनि यहाँ राजनीति छ। पार्टीको पनि राजनीतिक आवश्यकता छ।

यसखालको मत परिणाम आइरहँदा कस्तो अनुभूति हुँदोरहेछ?

मलाई कांग्रेसका नेता कार्यकर्ताले यति धेरै विश्वास तुल्याउनु भएको छ कि ‘तपाईँ कत्ति पनि हतोत्साही नहुनु, नआत्तिनु हण्ड्रेड पर्सेन्ट हाम्रो जीत हुन्छ।’ १३ नम्बर वडादेखि हाम्रो पनि आधारक्षेत्र छ। अनि कांग्रेसको पनि गढ भयो त्यता। त्यसैले ‘मत गणनामा पछि परेको ऋण’ तिरेर ३५ सय देखि ५ हजार मत फरकले हामी जित्छौँ।

अलिक अगाडि राम्रो मत आएको भए दश हजारले लिड गर्छौँ भन्ने थियो। हामी ३५ सय देखि ५ हजारले मत जित्छौँ भन्ने हामीलाई विश्वास छ।

तपाईँले मेयर पदमा रुखमा लागेको छापको भोट पनि गन्नुपर्छ भन्नु भएछ नि?

विपक्षीले गरेको कुर्तक हो यो। एक प्रतिशत पनि सत्यता छैन। ‘रेणुले जतिबेला रुखमा खसेको मत पाउनुपर्छ भनेर मिडियामा व्यापक गराइयो, दुष्प्रचार गरियो त्यतिखेरको सर्वदलीय बैठकमा मैले बोलेकै थिइन्। बैठकमा एक शब्द पनि बोलिन। तर, बाहिर निस्किँदा त रेणुले यसो भनी भनेर अनलाइनभरि आयो।

त्यो बेकारको विषय हो। नियमावली विपरितको कुरा थियो त्यो। म कसरी त्यो भन्न सक्थेँ? बदर ठहरिने व्यवस्था नियमावलीमा छ। असम्भव हुने कुरा म किन भन्छु?

विपक्षीले हारको मानसिकताबाट यस्तो कुरा ल्याएको भन्ने बुझेको छु।

तपाईँले जीतका लागि शक्ति/सत्ता दुरुप्रयोग गर्दै हुनुहुन्छ भन्ने आरोप छ?

पावरको कारण हुने भए त मतगणनामा म अगाडि नै आइसक्थेँ होला नि! सुरुमा मतगणनामा व्यवस्थापन राम्रो भएन। व्यवस्थापनको पूर्व तयारी थिएन। लापरवाही पनि देखियो।

दुई दिन भद्रगोल भएर गणना अगाडि बढ्यो। मतगणना तलमाथि भएपछि प्रेसर दिने काम पनि भए। अहिले कसैले छलछाम गर्न सक्ने अवस्था छैन। कसैले सक्दैन पनि। हामीले पनि सक्ने कुरा हुन्न। गर्ने कुरा पनि भएन। असम्भव विषयमा किन समय खर्चने?

अर्को कुरा पावर प्रयोग रे। के पावर? त्यसो हुँदा त अहिलेसम्म एउटा नतिजा नै आइसक्थ्यो होला नि! सरकारको पावर प्रयोग गर्ने भए मतदानकै प्रक्रियामा त्यो ढंगले गइन्थ्यो होला नि।

यतिधेरै सौहार्द र व्यवस्थित मतदान भयो। अहिलेसम्मको गणनामा हामीले स्वीकार गरेका छौँ। भोलि गणना अन्तिम हुँदा या हारिसकेपछि पनि यो र त्यो भन्ने?

हुन त भन्या छन् ‘प्रचण्ड आउन लाग्यो छोरीलाई जिताउन, मतपेटिका सार्न’। भन्ने/नभन्ने जे भने पनि हुनेरहेछ। एउटा आधार त हुनुपर्‍यो नि भन्नका लागि। प्रमाण त हुनुपर्‍यो नि। आरोप त हामी पनि लगाउन सक्थ्यौँ होला। तर, हामी त्यस्तो तल गिरेर छुद्र राजनीति गर्दैनौँ।

मत परिणामप्रति कति आशवादी हुनुहुन्छ?

चुनाव जितिन्छ। चुनाव जितेर गइसकेपछि म प्रचण्ड पुत्री मात्र होइन यो देशको नेतृत्व क्षमता भएको व्यक्ति हो भनेर प्रमाणित गर्नुछ। जनताले मलाई विश्वास गर्नुभएको छ। विजयी भएपछि मैले आफ्नो परफरमेन्स जनतालाई प्रत्यक्ष असर पर्ने गरी सुरुवाती चरणबाटै देखाउनेछु।(पहिलाेपाेष्ट)