२०७७ माघ ९, शुक्रबार

दुःखको आहाल, देउतीको बेहाल

सिन्धुपाल्चोकको दुर्गम ठाउँको एक शताब्दी अघिको समाज । समाजमा व्याप्त बालविवाहको भयानक रोग । रोगले निम्त्याउने अनेकौं समस्या र पीडा । धर्मका नाममा नारीमाथि हुने अन्याय । संस्कारका नाममा थोपरिने दुःखको भारी । महिला र पुरुषबीच रहेको पुर्नै नसकिने असमानताको खाडल । मृत्युपछिको संस्कारको नामले ल्याएको पारिवारिक बिछोड । लोग्ने–स्वास्नीबीच भर्खरै अंकुराउँदै गरेको मायाका मुना निमोठेर फाल्दाको पीडा । कसले कल्पना गर्न सक्छ ? सुन्न त निकै कठिन हुने कुरा भोग्दा झन् कस्तो होला !

सिन्धुको एउटा गाउँमा पहिलो सन्तानको रुपमा एक छोरीको जन्म हुन्छ । सात वर्ष बित्दा नबित्दै बाबुलाई भन्दा आमालाई छोरीको बिहे गरिदिन हतार । भूकम्पले बस्ती नै जर्जर भइरहँदा कम खर्च गरेर बिहे उम्काउने तारतम्य ।

देउती बालखैमा विवाह गरेर लोग्नेको घर जान्छे, जसलाई बिहे भनेको के हो भन्ने नै थाहा हुँदैन । विवाह भएर गएपछि देउतीले आमाभन्दा धेरै माया पाउँछे सासूबाट । बिहानदेखि बेलुका अबेरसम्म काममा घोटिनुपरेको सबै दुःख सासूको मायाले बिर्सन्छे ।

एक रात देउतीको लोग्नेले सपनामा बालाई देख्छ । साह्रै नराम्रो सपना भन्दै देउतीकी सासू गाउँको ‘नामी ज्योतिषी’ कहाँ देखाउन पुग्छिन् । लोग्नेको अस्तुले पिरोलेको ज्योतिषीको रायले अस्तु सेलाउन कान्छो छोरोलाई गया पठाउँछिन् । तर, छोरो गयामै बेपत्ता हुन्छ ।

देउती लोग्नेको वियोगमा र आमा पुत्र वियोगमा पिल्सिन्छन् । दुई दशकसम्म छोरोको पत्तो लाग्दैन । त्यही पीरमा देउतीकी सासूको मृत्यु हुन्छ । त्यसअघि नै आमाको मृत्यु भइसकेको हुन्छ ।

पतिवियोग र आमा समान सासूको मृत्युपछि देउती नितान्त एक्लो हुन्छे । लामो समयसम्म लोग्ने नफर्केपछि लास र सासको टुंगो नलगाई गाउँले र भद्रभलादमी नामको एउटा जत्थाले कुशको प्रतिमा बनाएर देउतीलाई लोग्नेको काजक्रिया गर्न बाध्य पार्छ ।

दुःखमाथिको दुःख थपिँदै जान्छ । जेठाजु र जेठानीको हेला, गाउँका दुष्ट आइमाई र पुरुषहरुले दिने यातना भनिसाध्य हुँदैन । अन्ततः इन्द्रायणी नदीमा हाम फालेर प्राण त्याग्ने देउतीको दुस्साहस पनि पूरा हुँदैन । त्यसको केही समयपछि लोग्ने जीवितै भएको खबर आउँछ, चितवन देवघाटमा भान्छे भएर बसिरहेको ।

त्यसपछि के हुन्छ ? अक्षर काकाकृत उपन्यास ‘देउती’ पढ्नुको विकल्प छैन ।

अक्षर काकाको वास्तविक नाम रामनाथ खनाल हो । मुख्य कर्म पत्रकारिता । एकछिन चुप नबस्ने । केही न केही गरिरहनुपर्ने । केही न केही खोजिरहनुपर्ने अक्षर काकालाई आफ्नै फुपू र हजुरआमाको कथाले उपन्यास लेखाएको हो ।

उपन्यास भनेको स्वरैकल्पनाको दुनियाँ हो, घर–आँगनको कथाले उपन्यास बन्न सक्दैन भन्नेहरुका लागि उपन्यास देउती गतिलो झापड हो ।

भाषा, कथा बुनोट, विम्बको प्रयोग, कल्पनाशीलता, दृश्य वर्णनलाई हेर्दा लेखकको पहिलो उपन्यास हो भन्ने ठाउँ छँदैछैन । प्रत्येक वाक्य कविताका हरफ पढे जस्ता छन् । एउटा अनुच्छेद सक्दा एउटा कविता सके जस्तो लाग्छ । छोटा वाक्य, गहकिला शब्द चयनले पाठकलाई तानिरहन्छ । गैरआख्यान पढिरहनेहरुलाई पनि उपन्यासको भाषाले तान्न सक्छ । तर बुझ्न केही मिहिनेत चाहिन्छ ।

कथा पनि सलल बगेको छ । कहीँ कतै जेलिएको छैन । मुख्य पात्र देउतीले सुरुदेखि अन्तसम्म आफूप्रति सहानुभूति बढाउँदै पाठकलाई तानिरहन्छिन् । सहनशीलता र संघर्षको प्रतिमूर्तिका रुपमा आफूलाई उभ्याउन सफल हुन्छिन् । पढ्दै जाँदा लेखकले देउतीमाथि निकै धेरै दुःख थोपरेर अन्याय नै गरे है भन्ने पाठकलाई पर्छ ।

लेखकले सासू–बुहारीको सम्बन्ध अहिले २१औं शताब्दीमा त राम्रो हुन सकिरहेको छैन भन्ने बेलामा त्यो बेलाको समाजमा त्यति सारो मेल गराउनु डाहालाग्दो छ । नयाँ मान्छेलाई कसरी पोख्त बनाउने ? त्यो कसैले सिक्न चाहन्छ भने कोइराल्नी बूढी पर्याप्त छिन् ।

देउतीले आफ्नो इज्जत जोगाउन अपनाएकी उपाय अहिले आधुनिक भनिएको समयमा बलात्कारबाट जोगिने असल हतियार हुनसक्छ । सम्पत्तिका लागि अपनाउने हतकण्डा अहिले पनि उस्तै छ । जंगलमा सबैभन्दा पहिलो सोझो रुख नै काटिन्छ भने झैं समाजमा पनि सोझोसाझा र असल मान्छे नै बढी लखेटिन्छ भन्ने तथ्यलाई उपन्यासले पनि पुष्टि गर्न खोजेको छ ।

ज्योतिषी र धामीझाँक्रीका नाममा जीवित कुसंस्कारले निम्त्याउने परिणाम प्रत्युत्पादक हुन्छ भन्ने सन्देश दिन लेखक सक्षम छन् । बोक्सीको नाममा ‘अवला’ नारीमाथि हुने यातनाको रुप अहिले पनि उस्तै छ । स्वरुप फेरिए पनि सार उही छ । झण्डै एक सय वर्षअघि कस्तो थियो भन्ने चित्र सफल रुपमा देखाइएको छ ।

यति भनिरहँदा उपन्यासका कमजोरी नै छैनन् भन्ने पनि होइन । उपन्यासको परिवेश सिन्धुदेखि चितवनसम्म, सिन्धुदेखि रक्सौल हुँदै गयासम्म फैलिएको छ । तर, त्यहाँको दृश्यचित्र स्पष्ट रुपमा आएको छैन ।

देउतीको दुःखमाथि दुःख थप्नका लागि लेखकले कतिपय ठाउँमा निकै धेरै शब्द खर्चिएका छन् । व्याख्याले कतिपय ठाउँमा कथालाई बोझिलो बनाइएको छ । उपन्यासलाई यही आकारमा कायम राखेर पारिवारिक र सामाजिक पाटो मात्रै नभई, त्यतिबेलाको समाजको बृहत्तर पाटो उजागर गर्न सकिने ठाउँहरु छन् ।

खेतीकिसानीसँग जोडिएका कतिपय सांस्कृतिक पाटोहरुलाई केलाउन सकिन्थ्यो । असारे भाका, असार १५, साउन १५ को संस्कृति लगायत मसिना तर युवापुस्तालाई बुझाउनुपर्ने अनेकौं आयाम ल्याउन सकिन्थ्यो । उतिबेला चाडपर्वहरुको रौनक र अन्य पाटाहरु पनि उपन्यासमा आउन सक्थ्यो ।

अहिलेसम्म पनि बाबुआमा र दाजुभाइले आफ्ना छोरीचेलीलाई सेतो लुगामा हेर्न हुँदैन (कम्तिमा एक वर्ष) भन्ने मान्यता छ । तर, देउती सेतै लुगामा माइत पुगेकी छन् । यहाँनेर थोरै विवादास्पद लाग्छ । तर, हिन्दू संस्कार निकै लचिलो छ भन्ने तथ्यका रुपमा पनि यसलाई हेर्न सकिन्छ ।

देउतीको सरसंगत र परिवेश साँघुरो भए पनि उनी सबै कुरामा कसरी पारङ्गत भइन् ? बेलामौकामा दार्शनिक पनि लाग्छिन् । ती ज्ञान उनले कहाँबाट पाइन् ? नृत्य र गायन कला कहाँबाट आयो ? प्रश्नहरु नभएका हैनन् ।

लेखक पत्रकार पनि भएकाले देउतीमाथि गिद्दे नजर लाउने र छोएर दुर्व्यवहार गर्नेकै नाम लेखिदिएको भए हुन्थ्यो । फलानोको नातिभन्दा धान खाने मुसो चोट पाउने भ्यागुता भयो ।

जोगीका नाममा समाजमा व्यभिचारी ढोंगी देखाउन एउटा पात्रको प्रवेश गराइएको छ । त्यो कथाले मागे जस्तो लाग्दैन । एकलासको बस्तीको एकमात्रै घरमा त्यो जोगी नपुग्नुपर्ने हो कि ?

लेखकले एकै विम्ब र उखान पटकपटक दोहोर्‍याएका छन् । कहीँ कतै पात्रको शब्द र संवाद चयन मेल खाँदैन । कथालाई वियोगान्त बनाएर टुङ्याइएको छ । नेपाली साहित्यमा आँसु बिक्छ भन्ने मान्यता पनि छँदै छ । यो लेखकको चलाखी हो कि देउतीको अर्को भाग लेख्ने योजना ? यो कुरा समयले नै बताउला ।

अहिलेलाई यति भन्न सकिन्छ, देउतीका लागि पाठकले गरेको लगानी खेर जाँदैन ।

–अनलाइनखबर