२०७७ मंसिर १६, मंगलवार

सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षमा कोइराला नियुक्त

जेठ १९,सुर्खेत ।सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षमा नारायणकुमार कोइराला नियुक्त हुनु भएको छ। नेपाली कांग्रेसका क्षेत्रीय सभापति कोइरालालाई जेठ १७ गतेको मन्त्रिस्रीय निर्णयले दुई बर्षका लागि अध्यक्षमा मनोनित गरेको हो।

तत्कालीन अध्यक्ष ध्रुवकुमार चपाईं वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित भएपछि समितिको अध्यक्षबाट राजीनामा दिँदा पद रिक्त भएकाे थियो। समितिको अध्यक्षमा मनोनित भएपछि कोइरालाले सुर्खेत उपत्यकाको समग्र विकासका लागि सवै पक्षसंग समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ। उपत्यकाको गुरुयोजना, पर्यटकीय स्थलहरुको संरक्षण एवं विकासका लागि आफ्नो क्रियाशीलता रहने उल्लेख गर्दै उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुसंग सहकार्य गरेर काम गर्ने बताउनुभयो।

यसैवीच नवनियुक्त अध्यक्ष कोइरालाले आजै पदभार ग्रहण गर्नुभएको छ। समितिको कार्यालयमा निवर्तमान अध्यक्ष धु्रवकुमार चपाईंले नवनियुक्त अध्यक्ष कोइरालालाई पदभार गराउनु भएको हो। पदभार कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, सचिव भूपेन्द्र खत्री, कोषाध्यक्ष अनन्त पौडेललगायत समितिका कर्मचारीहरुले स्वागत गरेका थिए।