२०७७ मंसिर ९, मंगलवार

गर्मीमा स्विमिङले मन र मस्तिष्क स्वस्थ !

चार दशकअगाडि बाग्मतीको नीलो पानीमा पौडी खेलेको किशोर थापाले अझै भुलेका छैनन्। काठमाडौंको चोभारमा जन्मिएका थापा प्रायः बिदाका दिनमा आफूभन्दा सिनियर साथीहरूसँग बाग्मती नदीमा पौडी खेल्ने गर्थे।

दस वर्षको कलिलो उमेरदेखि नख्खु दोबाटो र जलविनायकमा पौडी खेलेका थापा अहिले भने कहिलेकाहीँ स्विमिङ पुलमा पौडी खेल्न जान्छन्। उनले ०३४ सालदेखि भने बाग्मतीमा पौडी खेलेनन्।

थापा भन्छन्, ‘बाग्मतीको पानी सफा थियो, गन्ध आउँदैनथ्यो। त्यही पानीमा पौडी खेल्दै माछा मार्ने, बालुवामा खेल्ने र पानीमा लुकामारी खेलिन्थ्यो।’
पौडीबाहेक नुहाउने र लुगा धुने काम पनि बाग्मती नदीमै हुन्थ्यो। त्यसबेलासम्म काठमाडौंका प्रायःजसोको घरमा धारा थिएन। विस्तारै काठमाडौं उपत्यकामा बस्ती विस्तार हुँदै गयो। नदीको पानी दुर्गन्धित हुँदै गयो।

पौडी खेल्ने त कुरै छाडौं अहिले बाग्मती नदीकिनार भएर हिँड्न पनि असहज हुँदै आएको उनी बताउँछन्।बाग्मतीमा पौडी खेल्न सक्ने अवस्था छैन। अहिले होटेलपिच्छे, चोक चोकमा स्विमिङ पुल बनेका छन्। कहिले रंगशालाको स्विमिङ पुल त कहिले सातादोबाटोको पुलमा जाने गर्छु। अहिले पनि सिजनमा दुई/तीन पटक पौडीको मज्जा लिन जान्छु तर नियमित जान नसकेको थापा बताउँछन्। छोरीलाई भने अहिले पनि नियमित पौडी खेल्न पठाउने गरेको उनले सुनाए।

तर, नदीमा पौडी खेल्नु र स्विमिङ पुलमा पौडी खेल्नुको मज्जा धेरै फरक छ। बगेको पानीका पौडी खेल्दा नदीको पानीसँग हुने शक्तिसँग आत्मसात गर्न सकिने उनको अनुभव छ।तर, स्विमिङ पुलमा जम्मा भएको पानीमा त्यो मज्जा नआउने थापा बताउँछन्। तर, अहिले काठमाडांै उपत्यकादेखि सहरी क्षेत्रका नदीका पौडी खेल्ने बानी अन्त्य भइसकेको छ।

स्विमिङ पुल, होटेल तथा पार्कका परिवार, साथीहरूसँग गफ गर्दै पौडी खेल्ने बानीको विकास भएको छ। पौडी मानव स्वास्थ्यका लागि फाइदाजनक छ। स्विमिङका लागि सबैभन्दा बढी भीड हुने समय भनेको वैशाख, जेठ, असार र साउन हो।

त्यसका पनि सबैभन्दा बढी चाप जेठमा हुने गरेको काठमाडौं फन भ्यालीका पलासे भक्तपुरका मार्केटिङ म्यानेजर रोशन घिमिरे बताउँछन्।स-सना ३ वर्षे बालकदेखि ५० वर्ष उमेरसम्मका पौडीमा रमाउने गरेको घिमिरेको भनाइ छ। त्यसमा पनि टिनएजका युवायुवती पौडीमा बढी रमाउने गरेका छन्। एक सिजनमा १० हजारभन्दा बढीले काठमाडौं फन भ्यालीमा पौडी खेल्ने गरेको उनी बताउँछन्।

फन भ्यालीमा बच्चाका लागि चार सय ५० र वयष्कका लागि ६ सय ५० रुपैयाँ तोकिएको छ।ललितपुर निवासी अनिल काफ्ले गर्मी सुरु भएसँगै नियमित पौडी खेल्ने गरेको बताउँछन्। काफ्ले प्रायः बिहान १० बजे कि बेलुकीपख सातदोबाटोको स्विमिङ पुलमा पौडी खेल्ने गर्छन्।

पौडीले शरीर सुगठित बनाउनुका साथै दिनभरि ताजा महसुस गराउँछ। बिहान उठेर पौडी खेलेपछि मन पनि स्वच्छ हुन्छ। ताजा मस्तिष्कले स्वस्थ चिन्तन दिन्छ।

 

अहिले स्विमिङ पुलबाहेक अधिकांश तारे होटेल तथा हेल्थ क्लबले समेत स्विमिङ पुललाई प्राथमिकता दिन थालेका छन्। गर्मी छल्न स्विमिङ पुलमा धाउनेको संख्यासँगै पुलहरू थपिने क्रम पनि बढेको हो। तराईको होटेलमा समेत अहिले स्विमिङ पुल बनाउन थालिसकेका छन्।

काठमाडौंको ठमेलमा भर्खरै मात्र सञ्चालनमा आएको मलवेरी होटेलले ग्राहकलाई लक्ष्य गर्दै टपमै स्विमिङ पुल सञ्चालनमा ल्याएको छ। नेपालमा स्विमिङ पुलमा गएर पौडी खेल्ने संस्कृतिको विकास भएको धेरै भएको छैन।

करिब ३० वर्षअगाडि राजधानीमा रंगशाला र बालाजुमा मात्र स्विमिङ पुल थिए। त्यतिबेला सीमित मान्छे मात्रै स्विमिङ पुल जान्थे। अहिले चोकचोकमा स्विमिङ पुल खुल्दा पनि सञ्चालकलाई पौडी खेल्नेको चाप थेग्न गाह्रो छ।

होटेल तथा क्लबबाहेक पनि अहिले काठमाडौं उपत्यकामा मात्रै करिब २० वटा भन्दा बढी स्विमिङ पुल सञ्चालनमा छन्। स्विमिङ पुल अहिले होटेल तथा क्लब घरको अत्यावश्यक बनिसकेको छ। यसरी खुलेको स्विमिङ पुलमा कोही रमाइलो गर्न, कोही शरीरलाई स्फूर्त बनाउन त कोही पौडी सिक्न स्विमिङ पुल धाउने गरेको पाइन्छ।

नेपालमा स्विमिङ पुल गएर पौडी खेल्ने संस्कृतिको विकास भएको धेरै नभए पनि उपत्यका र देशका अन्य ठूला सहरमा स्विमिङ पुल जाने संख्या बढ्दो छ। 

गर्मीयाममा काठमाडौंदेखि तराईका प्रायःसबै स्विमिङ पुल भरिने गरेको व्यवसायी बताउँछन्। स्विमिङ गर्दा शरीरका सबै इन्द्रिय सक्रिय हुने गर्छन्। स्विमिङलाई शरीरको एक मात्र पूर्ण अभ्यास मानिन्छ।भोक बढाउन र रोग घटाउन स्विमिङ सहयोगी हुने गर्छ। शारीरिक सुन्दरता र स्वस्थ रहन स्विमिङ अनिवार्य बन्दै गएको नियमित स्विमिङ गर्दै आएका माधव न्यौपाने बताउँछन्।

क्लबहरूले नियमित ग्राहकका लागि मासिक शुल्कसमेत निर्धारण गर्न थालिसकेका छन्।डिस होमको मानव संसाधन विभागमा वरिष्ठ अधिकृतका रूपमा कार्यरत मन्दु बज्राचार्यलाई गर्मी भनेपछि अत्यास लाग्छ। शारीरिक व्यायाममा जोड दिने उनी व्यायाम गर्दा आउने पसिना भने मन पराउँदिनन्। उनका लागि व्यायाम र शीतलता दुवैको स्रोत भएको छ-पौडी। त्यसो त गर्मीमा यसै पनि अल्छी महसुस भइरहन्छ।

पौडी भने यस्तो व्यायाम हो जसले दिनभरिका लागि ताजगी प्रदान गर्छ। पौडी गरेपछि मन्दु दिनभरि जोसिलो महसुस गर्छिन्। पौडीले दिने ताजगीले शरीर मात्र नभई मन–मस्तिष्कलाई पनि फुर्तिलो बनाइराख्ने अनुभव छ उनको। सकारात्मक सोच र काममा केन्द्रित हुन सहयोग गर्ने बताउँछिन् उनी। भन्छिन्, ‘एभ्री डे इज न्यु डे लाग्छ।’

पहिले महेन्द्र पुलिस क्लबमा स्विमिङ जाने उनी अहिले धुम्बाराहीस्थित धनयन्त्री स्विमिङ पुल जान थालेकी छन्। काठमाडौंका दीपक श्रेष्ठको गर्मीयामको दैनिकी सोल्टी होटेलको स्विमिङ पुलबाट सुरु हुन्छ। तीन चार वर्षदेखि हरेक गर्मीमा नियमित स्विमिङ पुल जान थालेका हुन् उनी।

पौडी खेल्न थालेपछि आफूलाई निकै फिट भएको महसुस गरेका छन् उनले। एक घन्टाको पौडीले अरू सबै शारीरिक व्यायामले गर्ने काम गरिरहेको अनुभव छ उनको। भन्छन्, ‘खाना पनि खाइरहेछुशरीर पनि फिट नै छ।’ बिहानको पौडीपछि व्यावसायिक जीवन निकै रमाइलो बनाइदिने बताउँछन् उनी।

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको ‘ज्यासमिन फिटनेस क्लब एन्ड स्पा’मा रुफटप स्विमिङ पुल सञ्चालन गरिरहेका निरज लामाले केही वर्षयता पौडी निकै आधुनिक बन्दै गएको अनुभव सुनाए।दिनमा एक सय २० देखि एक सय ३० सम्मले पौडी खेल्न मिल्ने क्षमता भएको रुफटप स्विमिङ पुलमा ६० देखि ७० जना आउने गरेका छन्।

शनिबार बढी भीड लाग्छ। ज्यासमिनमा एक पटकका लागि वयष्कले पाँच सय ९० रुपैयाँ र बच्चाले चार सय ३० रुपैयाँ शुल्क रहेको उनले बताए।
शनिबारबाहेकका दिनमा ३० प्रतिशत छुटको व्यवस्था छ। सदस्य बन्नेहरूले मासिक ६ हजार रुपैयाँ तिर्नुपर्छ। तारे होटेलहरूले गर्मीको समयमा स्विमिङ प्याकेजको व्यवस्था गरेका हुन्छन्।

सर्वसाधारणका लागि खुला हुने राजधानीका स्विमिङ पुलमा दुई सय ५० रुपैयाँदेखि हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ। पौडीबाजका लागि महेन्द्र पुलिस क्लब, बालाजु स्विमिङ पुल, चप्पल कारखानास्थित कुण्डलिनी, चोभार, पलाँसेस्थित काठमाडौं फन भ्यालीलगायत स्थान मुख्य गन्तव्य बन्ने गरेका छन्।-अन्नपुर्ण पाेष्ट