२०७७ माघ ५, सोमबार

तिम्रो बुढो विदेश उस्लाई तिरिमिरी छ मलाई यता फिरी छ (भिडियो सहित)

काठमाडौं ।रोइला गीत रोदनसँग नजिक रहेको गीत हो । यसको व्युत्पत्ति रुवाइंला रोइला हो । यस्तै कसैले रोइ लाग् भन्दा भन्दै रोइला भएको हो भन्छन् । ‘रोइला’ शब्दले व्यक्त गर्ने अर्थ पनि रुवाइ वा रोदन जस्तो लाग्ने भएकोले यस्तो व्युत्पत्तिगत अर्थ लगाउन सकिन्छ ।

रोइलाले एउटा छुट्टै खालको करुण रसप्रधान गीतलाई बुझाउँछ जुन बिलम्बित लयमा गाइन्छ । यो गीत विशेषतः थकाली जातिमा प्रचलित छ । उनीहरूले मृत्यु संस्कारमा रोइला गाउँछन् ।
त्यसैगरी मगरहरूको गोपीचन लोकनाटक र गुरुङ् जातिको सतीघाटुमा पनि रोदनायुक्त गीत पाइने भएकाले त्यसलाई पनि रोइला भन्न सकिन्छ । थकाली, शेरचन, भट्टचन, गौचन, तुलाचन आदिले घाटुलाई रैला वा रोइला भनेर मृतकको सम्झनामा तिनका सुकर्महरूको उल्लेख गर्दै भट्याएर रुने गर्दछन् ।

यसरी रोइला गीत गुरुङ् मगर र थकाली जातिले मृतकको सम्झनामा भट्याएर रुँदै गाउने एकप्रकारको रोदनयुक्त गीत भनेर परिभाषित गर्न सान्दर्भिक देखिएको छ ।

थकाली जातिले आफ्नै परम्परा बमोजिमको मृत्युसंस्कार गर्दछन् । उनीहरूको मृत्युसंस्कारमा कोही आफन्तको मृत्यु हुँदा अनिवार्य रूपमा फलाक्दै रुनुपर्ने हुन्छ । यदि स्वाभाविक मृत्युमा कसैलाई रुन नआए पनि छोरीचेलीलाई बोलाएर उनीहरूलाई अनिवार्य रुवाउने गर्छन् ।

यसरी रुन लगाउँदा उनीहरू आफ्ना छोरी चेलीलाई ‘‘रोइ लाग् रोइ लाग्’’ भन्दै रुन लगाउँछन् । त्यही रोइ लाग् भन्ने पदावली पछि गएर ‘रोइला’ शब्दमा रुपान्तरित भएको हो । मृत्यु हुने मानिसको गुण र विगत सम्झेर फलाक्दै लयमा छोरीचेलीहरू रुँदा त्यहाँ उपस्थित अन्य मानिसहरू पनि नरोइ रहन सक्दैनन् । त्यति बेला त्यो ठाउँ साँच्चैको रुवावासीमय हुन्छ । यही लय मिलाएर अनिवार्य रुनैपर्ने संस्कृतिलाई थकालीहरू रोइला भन्छन् ।

थाकखोलाबाट आएर अहिले बाग्लुङ् बजारमा होटल व्यवसाय गर्दै आएका सोमु हिराचन भन्छन् – ‘‘रोइला हामी थकाली जातिको मौलिक संस्कृति हो । मान्छे मर्दा त जो पनि रुन्छ तर यसरी लयमा फलाक्दै अनिवार्य रुनैपर्ने संस्कृति भने थकालीहरूमा मात्रै छ !