२०७७ मंसिर ११, बिहीबार

४० औ प्रधानमन्त्री शेरबहादुर देउवाका ७ ‘ओपन सेक्रेट्स’

‘पेपर टाइगर’देखि ‘एलिट’को नेतासम्म !

 काठमाडौं । डडेलधुराको साविक अशोकग्राम गाविस वडा नम्बर ५ मा वि.सं. २००४ साल जेठ ३० गते जन्मिएका शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् । आगामी साता देउवाले बालुवाटारमा ‘ह्याप्पी बर्थ डे’ मनाउनेछन् र उनी ७२ वर्षमा प्रवेश गर्नेछन् ।

शेरबहादुरका पिता प्रसादसिंह देउवाले गणतन्त्र आएपछि आफ्नो छोरो चौथोचोटि प्रधानमन्त्री बनेको देख्न पाएनन् । पिता प्रसाद सिंह र माता द्रौपदी देवीको निधन भइसकेको छ ।हाल काठमाडौंको बूढानीलकण्ठमा बसोबास गर्दै आएका कांग्रेस सभापति देउवा एकजना भाग्यमानी सुदुरपश्चिमे नेता हुन्, जसले जीवनमा पटक-पटक सिंहदरबारको सयर गरे । उनी सिंहदरबारको सिंहासनमा मात्रै बसेनन्, आफ्नो जीवनको सुदुरपश्चिमे वर्गीय-क्षेत्रीय धरातल र जीवनशैलीमा समेत आमूल परिवर्तन ल्याउन सफल भए । पुरानो राणाशाही कुलीन परिवारसँग उनको पारिवारिक सम्बन्ध जोडियो, जुन दक्षिण एशियाको बंशीय राजनीतिमा निकै अर्थपूर्ण छ ।

प्रधानमन्त्री देउवाकी जीवनसंगिनी आरजू राणा अहिले नेपाली कांग्रेसबाट सांसद छिन् । उनी शेरबहादुरको प्रगतिकी द्रष्टा मात्रै होइनन्, स्रष्टा पनि हुन् ।

आफ्ना सालाहरुको व्यवसायिक भोकलाई राजनीतिको माध्यमबाट तृप्त पार्नु बाहेक शेरबहादुर देउवासँग कुनै पारिवारिक-व्यक्तिगत लेठो छैन । आफ्ना एकमात्र छोरा जरयवीरसिंह देउवा लण्डनमा छन् । छोरो बिरामी भएको भन्दै आरजू राणा केही महिनाअघि बेलायत गएकी थिइन्, हाल उनी नेपाल फर्किइसकेकी छिन् ।

बूढानीलकण्ठस्थित फराकिलो कम्पाउण्डमा रहेको निवासमा शेरबहादुर र आरजू ‘बूढाबूढी’ मात्रै बस्छन् । काम सघाउने सहयोगीहरु छन्, दम्पतीकै तलब भत्ता आउँछ, जीवनमा कुनै अभाव र दुःख छैन ।

कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका देउवाले प्लेटोबाट सिक्ने हो उनले जीवनमा भ्रष्टाचार, लोभ वा मोह केही गरीराख्न जरुरी देखिँदैन । सुन जम्मा पारिराख्न जरुरी छैन । उमेरको हिसाबले देउवा यतिबेला लोभ र मोह हैन, ‘मोक्ष’ खोज्ने बेलातिर दौडिँदैछन् तीव्रगतिमा । उमेरमा सुन्दर देखिने उनको अनुहारमा देखिन थालेको ‘चाउरी’ले यही संकेत गर्छ ।

सम्भवतः देउवाको जोडी अब यसैसाता साइत जुराएर बालुवाटार सर्नेछ । १२ वर्षमा खोलो फर्किन्छ भनेजस्तै देउवाको बालुवाटार बसाइँ सराइ लगभग १३ वर्षपछि सम्भव दोहोरिएको छ । ०६१ साल माघ १९ मा ज्ञानेन्द्रले ‘कु’ गरेयता उनी पहिलोचोटि प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवा १९ वर्षको हुँदा अर्थात् २०२२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भए । उनी यत्तिकै रातारात शेरबहादुर भएका होइनन्, राजनीतिमा लाग्दा उनले १० वर्ष १० महिना जेल जीवन बिताएका छन् ।

हाल डडेलधुरा क्षेत्र नं १ का निर्वाचित सांसदसमेत रहेका देउवाले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । पत्नी आरजू राणाले पीएचडी उत्तीर्ण गरे पनि देउवाको अध्ययन एमएमै विश्राम लाग्यो । यद्यपि उनले बेलायतमा गएर केही समय अध्ययन गरे ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाका बारेमा नेपाली राजनीतिमा अनेक खाले चर्चा परिचर्चा र ‘मिथक’ हरु छन् । उनीसँग नाम छ, बदनामी छ, तर राजनीतिमा कहिल्यै गुमनाम छैनन् । विशेष गरी ०४७ सालको परिवर्तनपछि देउवा राजनीतिक चर्चा र विवादको केन्द्र भागमा अनवरतरुपमा रहँदै आएका छन् ।
यहाँ हामीले प्रधानमन्त्री शेरबहादुर देउवाका केही ‘ओपन सेक्रेट’ बारे चर्चा गर्ने प्रयास गरेका छौं ।

१. नियमित आकस्मिकता

वालकृष्ण समले नियमित आकस्मिकता लेखेका थिए । हरेक चिजको विकास र घटनाक्रम नियमित रुपमा अघि बढ्छ तर यसमा आकस्मिकता पनि मिश्रति हुन्छ ।

शेरबहादुर देउवाको जीवन पनि एउटा नियमित आकस्मिकता हो । डडेलधुरामा जन्मेका देउवाको जीवन नियमितमात्रै छैन, आकस्मिकताहरुले भरपुर छ ।

नेपाली कांग्रेसमा वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछि दोस्रो तहका नेताहरु धेरै छन् । तर, ती सबैलाई उछिन्दै शेरबहादुर देउवा ४/४ पटक प्रधानमन्त्री बन्न सफल भए । यसमा आकस्मिकता नभएको भए सम्भव थिएन ।

खुमबहादुर खड्काले आफ्ना निकटस्थहरुसँग बारम्बार भन्ने गर्छन् कि उनी पार्टीमा शेरबहादुर देउवाभन्दा सिनियर हुन् । देउवाको साटो खड्कालाई प्रधानमन्त्री बन्ने प्रस्ताव पनि विगतमा आएको थियो । तर, कथाले आकस्मिक मोड लियो । र, अहिले देउवा कहाँ छन्, खड्का कहाँ पुगे ।

देउवाकै समकालीन रामचन्द्र पौडेललाई अहिलेसम्म प्रधानमन्त्री हुने अवसर एकचोटि पनि जुरेको छैन । १७ वटकसम्म उनलाई संसदमा हार्ने चुनावमा भिडाइयो । देउवालाई भने संसदमा उम्मदेवारी दर्ता गर्दा विपक्षी उम्मेदवारै छैनन्, दुईतिहाइको हाराहारीमा समर्थन छ ।

त्यसो त शेरबहादुर देउवाले विगतमा नेपाली कांग्रेस पार्टी पनि फुटाए । तथापि अहिले उनी एकीकृत पार्टीको सभापति आफैं छन् । आखिर जसै गरे पनि जहाँ गए पनि किन यसरी देउवा सत्ताको केन्द्र भागमा छन् ? यसको रहस्य के हो ?

रहस्य यही नै हो कि देउवाको जिन्दगी वालकृष्ण समको सिद्धान्तले भनेजस्तो नियमित आकस्मिकताले भरपुर छ । यस्तो आकस्मिकता कुनै पनि व्यक्तिको जीवनमा दुर्लभ हुन्छ । रसियन साहित्यकार मिखाइल सोलोखोभले ‘मान्छेको भाग्य र दोनका कथाहरु’ त्यतिकै लेखेका होइनन् ।

हुन सक्छ, आध्यात्मवादीहरुले देउवालाई भाग्यले साथ दिएको बताउलान् । तर, समाजशास्त्रीय एवं आधुनिक राजनीतिशास्त्रीय दृष्टिकोणमा हेर्दा शेरबहादुर देउवाको ‘व्यक्तित्व’ निर्माणका पछाडि केही आकस्मिक परिघटना र देशको वस्तुस्थितिले भूमिका खेलेको हामीले बिर्सनुहुँदैन । अन्यथा नेताहरु कसरी जन्मिन्छन् भन्ने प्रश्नमा हामी अल्मलिन र फस्न सक्छौं ।

२. सुदुरपश्चिमेको छोरो, ‘एलिट’ को नेता !

आरजू राणासँग बिवाहको कुरो चल्दैगर्दा शेरबहादुर देउवा मुलुकको गृहमन्त्री थिए । विवाहपछिका दिनहरुको सम्झना गर्नेक्रममा आरजू राणा आफ्ना निकटस्थहरुसँग अझै पनि भन्ने गर्छिन्, त्यसबेला राणा खान्दानहरुसँग कसरी बोल्ने र कस्तो व्यवहार गर्ने भन्नेबारेमा देउवालाई केही समय सिकाउनुपरेको थियो ।

गाउँको परिवेशमा हुर्केका, काठमाडौंमा डेरा गरेर बस्ने, १० वर्ष जेल परेका निस्केका नेतालाई काठमाडौंको एलिट राणा खान्दानको ज्वाइँ बनेर नयाँ जीवनशैलीमा अभ्यस्त हुनु सजिलो थिएन ।

तर, केही समय बेलायतमा पढ्न बसेका देउवा व्यक्तिगत जीवनमा जति नै होस्ल्याङे भए पनि उच्च घरानिया वर्गको सहज पात्र बन्न सक्नेछन् भन्ने विश्वास गरेर नै हुनुपर्छ उनीसँग राणा परिवारको वैवाहिक सम्बन्ध कायम गराइएको थियो ।
नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङले यो कुरा शायदै सोचेकी थिइन् होला कि पश्चिमसँग राम्रो सम्बन्ध रहेका देउवा र आरजूको ‘एरेञ्ज म्यारिज’ कालान्तरमा गएर नेपालको कांग्रेस र दरबारिया शक्तिवीचको राजनीतिक ‘एरेञ्ज’ बन्न पुग्नेछ, कोइराला परिवारमा रविन्द्रनाथ शर्माको पारिवारिक सम्बन्धजस्तै ।

देशमा अहिले राजतन्त्र समाप्त भइसकेको छ । तर, यो होइन कि पुरानो राणा-शाह खान्दानको लिगेसी नेपाली राजनीतिमा सकिएको छ । यही अदृश्य शक्तिको स्रोत शेरबहादुर देउवालाई प्राप्त हुँदै आएको छ । र, यो नै उनी बारम्बार प्रधानमन्त्री बन्न पाउने एउटा रहस्य पनि हो ।

विचारको हिसाबले राणा-शाहको लिगेसी कमल थापा र उनको पार्टीमा रहेका पशुपतिसमशेर राणाहरुमा हुनुपर्ने हो । तर, त्यो विस्तारै देउवातिर सिफ्ट हुँदैछ । कमल थापाको पार्टीसँग देउवाकी सासू प्रतिभा राणा -राजदूत) मात्रै बाँकी रहनेजस्तो परिस्थिति छ ।

सुदुरपश्चिमे नेता शेरबहादुर देउवाको विवाह, परिवार तथा व्यक्तिगत जीवनशैलीमा मात्रै यो वर्गोत्थान भएको ठान्नु मूर्खता हुनेछ । बरु सुदुरपश्चिमजस्तो पिछडिएको क्षेत्रको नेता यतिबेला नेपालको ‘एलिट क्लास’ को असली तालिमप्राप्त एवं दीक्षित नेता बन्न पुगेको तथ्य यहाँ स्मरणीय छ । र, यो पनि एउटा आकस्मिकता हो ।

देउवा सुदुरपश्चिमका त हुन् । तर सुदुरपश्चिम भन्नेवित्तिकै उनी गरीब र उत्पीडित समुदायका प्रतिनिधिपात्र होइनन् । उनी हुनेखाने वर्गकै प्रतिनिधि हुन् । अहिले रुखो भाषामा भन्दा ‘शासक जाति’ कै प्रतिनिधि हुन् । तर, उनी आफूलाई ‘एलिट क्लास’ को हबेलीमा बसेर सीमान्तीकृतको पक्षमा काम गर्ने नेता बनाउन चाहन्छन् ।

३. देश गुनाको भेष, कपाल गुनाको केस !

वीपीपुत्र प्रकाश कोइरालाको विचारमा नेपाली समाजमा पढेलेखेका, डाक्टरी गरेका वा विद्वान नेताहरु खासै अगाडि आउन सक्दैनन् । नेपाली समाजको चरित्र अनुसार डाङडुङ गर्न सक्ने, हाट्टहुट्ट गर्न सक्ने नेताहरु नै अगाडि आउँछन् ।

नेपाली समाजमा एउटा आहान छ- देश गुनाको भेष, कपाल गुनाको केश । कुनै पनि देशका नेताहरु पनि देश र समाज अनुसार नै विनिर्मित भएका हुन्छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प त्यहाँको आवश्यकता अनुसार नेता बनाइएका हुन् । कर्पोरेटहरुले प्रोजेक्ट गरेर उनी नेता बनाइएका हुन् । भारतमा मोदीको उदय पनि भारतीय व्यापारिक समाजको आवश्यकताले गराएको हो ।

नेपाली समाज यतिबेला अस्थिरता, संक्रमण र अराजकतासँग जुधिरहेको छ । भ्रष्टाचार र बेथितिबाट त्राण खोजिरहेको छ । यस्तो बेलामा समाजका विभिन्न वर्ग र समुदायले आ-आफ्नै प्रतिनिधि पात्रहरु अर्थात नेताहरुको खोजी गरिरहेको अवस्था छ । यो परिस्थितिमा शेरबहादुर देउवा नेपाली समाजको एएटा प्रतिनिधिपात्र हुन् ।

नेपाली कांग्रेसमा रामचन्द्र पौडेलजस्ता सादगी व्यक्ति किन सभापति हुन सकेनन् र ‘होस्ल्याङ्गे’ भनिएका देउवा शक्तिमा उदाए ? यसमा प्रकाश कोइरालाले विश्लेषण गरेजस्तै ‘जस्तो समाज उस्तै नेता भन्ने थ्यौरीले काम गरेको छ ।

देउवाको नेतृत्व विनिर्माणमा नेपाली समाजको प्रतिविम्वनबारे सामान्य विश्लेषण गरिहेरौंः

सत्ताबाट बहिर्गमित भएको नेपालको राजावादी शक्तिले आफ्नो असली नेता खोजिरहेको छ । यो शक्ति कहिले कमल थापातिर भौतारिन्छ, कहिले कांग्रेसभित्रको हिन्दुवादी शक्तिलाई सुम्सुम्याउन पुग्छ । र, यो पुरानो शक्ति कहिलेकाँही शेरबहादुर देउवासित भर पर्न खोज्छ । आश गर्न खोज्छ । देउवाले नेपालमा हिन्दुराष्ट्र फर्काइदिने उसलाई आशा छ ।

पछिल्लो समयमा नेपालमा उदाएको कर्पोरेट क्षेत्र एवं विदेशी माल र सेवा बेच्ने दलाल वर्गलाई सत्तासँग सोझो सम्बन्ध चाहिएको छ । कर तिर्नु नपर्नेदेखि अनेकन समस्याहरु समाधानका लागि त्यस्ता व्यक्ति र कम्पनीहरुले सरकारमा आसीन नेता वा दललाई समाएर आफ्नो बिजनेस चलाउने गरेका छन् । उनीहरुलाई सरकारमा एउटा कर्पोरेट-प्रतिनिधि चाहिएको छ । तिनीहरुले पनि शेरबहादुृर देउवासँग आश गरेका छन् ।

त्यसैगरी ०४६ सालको परिवर्तनपछि नेपालमा फस्टाएको अर्को वर्ग हो कर्मचारी वर्ग । राजनीतिक अस्थिरताबाट फाइदा उठाएर नवढनाढ्य बनेको यो वर्गले आफ्नो कालो धनको सुरक्षा र भ्रष्टाचारबाट बच्नका लागि कहिले एमाले त कहिले कांग्रेसको सहारा खोजिराखेको छ । यस्ता भ्रष्टाचारीहरुले पनि आफ्नो सुरक्षा र संरक्षणका लागि भरपर्दो नेता खोजिरहेका छन् ।

कतिपय विदेशी र स्वदेशी ठेकेदारहरुले पनि आफूले भनेको मान्ने र आफूले प्रयोग गर्न सक्ने नेताहरु खोजेका छन् । फस्ट ट्रयाकदेखि लिएर विभिन्न जलविद्युत आयोजना, ट्रान्समिसन लाइन इत्यादिमा ठेक्का पार्नका लागि विदेशी कम्पनी र तिनका नेपाली एजेण्डहरुले पनि आफू अनुकुलको नेता, आफू अनुकुलको सरकार खोजेका छन् ।

त्यसैगरी मझौला कर्मचारी र एनजीओ आइएनजीओकर्मीहरुले पनि आफ्नो अनुकुलको सरकार खोजेका छन् । पार्टीका नेता कार्यकर्ता र सिंहदरबार वरिपरि घुम्ने विचौलियाहरुले पनि आफ्नो नजिकको नेता मन्त्रीको कुर्सीमा बसोस् भन्ने चाहेका छन् ।
बेरोजगारी र महंगीमा छटपटिएका जनता, भूकम्पपीडितहरु, सुकुम्वासी र मध्यम वर्गका जनताले पनि आफू अनुकुलको सरकार र नेता खोजेका छन् ।

आर्थिक विकास र उत्पादनमा लागेको वर्गले तीब्र आर्थिक विकास र व्यवसायमा सहयोग पुर्‍याउने, पूर्वाधारहरुको निर्माण गरिदिने विकास प्रेमी नेता खोजिरहेका छन् ।

यसरी सबै वर्ग समुदायले सरकारको ऐनामा आ-आफ्नो अनुहार हेर्न चाहेका छन् ।

नेपाली समाजको यो वस्तुगत धरातलमा शेरबहादुर देउवाले कुन वर्गको आवश्यकताको सम्वोधन गर्लान् ? कुन वर्गको स्वार्थको
प्रतिनिधित्व गर्लान् ? यो प्रश्नको आलोकमा उनको भावी कार्यकालको मूल्याकंन पक्कै होला ।

तर, नेपाली कांग्रेस वर्गसमन्वयवादी पार्टी हो । त्यसैले देउवाले सबै वर्गको साझा नेता हुने प्रयास गरे भने यसलाई कम्युनिष्ट ‘फिलोसोफी’ले त अस्वीकार गर्ला, कांग्रेसको राजनीतिशास्त्रले यसलाई अस्वीकार गर्दैन । किनभने उसले आफूलाई ‘मेलमिलापवादी पार्टी’ बताउँदै आएको छ । मंगलबार संसदमा बोल्ने क्रममा देउवाले ‘प्रजातान्त्रिक समाजवाद’ शब्दलाई निकै बढी जोड दिएका छन् ।

देउवाको ‘सेक्रेट’ नै यो हो कि उनको खल्तीमा सीमान्तीकृतदेखि एलिटसम्मका मुद्दा, आशा र मागपत्रहरु छन् । मधेसी र पहाडे खस सबैका मागपत्रहरु छन् ।

४. एकातिर काम, अर्कातिर बदनाम

मुलुकमा कसैलाई देवत्वकरण गर्ने र कसैको दैत्यकरण गर्ने गलत खेलको शिकार शेरबहादुर देउवासमेत भएका छन् । पछिल्लो समय उनलाई खलनायक एवं खराब पात्रका रुपमा प्रस्तुत गर्ने काम विशेष गरी एमाले नेताहरुले गरिरहेका छन् ।

निश्चिय नै शेरबहादुर देउवा कमजोरी र गल्ती रहित नेता होइनन् । विगतमा पनि उनले गल्ती र कमजोरीहरु नगरेका होइनन् । तर, देशमा रहेका सबै खराब नेताहरुको सुचीमा उनीसँग पनि केही सकारात्मक पक्षहरु समेत नभएका होइन् । तथापि राजनीतिक दुराग्रहका कारण देउवाको सही मूल्यांकन हुन सकिरहेको छैन । उनले गरेका कामहरु एकातिर छन्, उनको बदनामी अर्कातिर भइरहेका छन् ।

देउवाले विगतमा आफू प्रधानमन्त्री भएका बेला जनजाति आयोग, दलित आयोग, कमैया मुक्ति, भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरी समाज सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए । कणर्ालीका जनताको हितमा महत्वपूर्ण कामहरु गरेका थिए ।

जतिखेर देशमा माओवादी जनयुद्ध चर्किइरहेको थियो, त्यसबेला गिरिजाप्रसाद कोइराला माओवादीप्रति कठोर थिए भने देउवा वार्ताप्रति सकारात्मक भएका कारण माओवादीहरु देउवासँग नरम थिए । तर, माओवादी- देउवा सम्बन्ध निकै उतारचढावपूर्ण रर्‍यो । र, अन्ततः माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने जस गिरिजामै गयो । तथापि देउवाले खुमबहादुर खड्काहरुले जसरी बाह्रबुँदे समझदारीको विरोध कहिल्यै गरेनन् ।

संवैधानिक राजतन्त्रलाई आत्मसाथ गर्दै आएको नेपाली कांग्रेस गणतन्त्रतिर सिफ्ट भइरहँदा देउवाले राजतन्त्रको पक्षमा वकालत गरेनन् । भलै उनलाई ज्ञानेन्द्रको सरकारमा सहभागी भएको आरोप लाग्ने गरेको छ ।

तर, त्यो देउवा सरकारमा एमाले पनि सहभागी थियो र राजाकी काकी हेलेन शाहलाई रकम दिने बेलामा एमालेकै अर्थमन्त्री भरतमोहन अधिकारी देउवा सरकारमा अर्थमन्त्री थिए । अहिले उनी एमालेले देउवामाथि ज्ञानेन्द्र सरकारको पिछलग्गु बनेको आरोप लगाउने गरेको छ ।

शेरबहादुृर देउवा वीपी कोइरालाजस्तै गरी राजाबाट गलहत्याइएका पात्र हुन् । तर, प्रचारचाहिँ कस्तो भयो भने मानौं राजाले गल्ती गरेका होइनन्, देउवा नै दोषी हुन् । आफूमाथि राजाबाट भएको अन्यायलाई देउवाले स्थापित गर्न सकेनन् । बदनामी कमाए ।

तर, माथि नै चर्चा गरिसकिएको छ कि देउवाप्रति राजावादीहरुको आशा थियो । राजाले उनलाई आफ्नो परिवारको सदस्य ठानेका थिए, तर देउवा अहिलेसम्म राजतन्त्रभन्दा पर, गणतन्त्रको समीपमा रहे । रहिरहेका छन् । कांग्रेसका कतिपय नेताहरुको सापेक्षतामा परिवर्तनको पक्षमै रहेका छन् ।

तर, उनको काम एकातिर, बदनामी अर्कैतिर हुँदै आएको छ । देउवालाई कांग्रेसले नेतृत्वका रुपमा स्थापित गर्न चुकिरहेको छ । कतिपय कांग्रेसभित्रकै नेताहरुले देउवाको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताप्रतिको आस्थामाथि नै आशंका गर्दै आएका कारण देउवाको बदनामीलाई सहयोग पुगिरहेको छ ।

५. पेपर टाइगर !

शेरबहादुर धेरैका लागि कागजी बाघ हुन् । धर्म निरपेक्षतावादीहरु देउवासँग यसअर्थमा डराउँछन् कि कतै उनी हिन्दुराष्ट्रको पक्षमा पो लाग्छन् कि ? मधेसवादी, थारु र जनजातिहरु देउवासँग यस अर्थमा तर्सन्छन् कि विगतमा कैलाली कञ्चनपुरमा जस्तै उनले थारुलाई अधिकार दिन्न पो भन्छन् कि ? मधेसीलाई अधिकार नदिएर ‘खस अहंकारवाद पो देखाउँछन् कि ?

देउवासँग सबैभन्दा बढी डर एमालेसँग देखिन्छ । देउवाले कतै देशभर कांग्रेसीकरण गरेर एमालेलाई एक्ल्याउने त हैनन् ? एमालेका लागि पनि देउवा निकै ठूलो डरका पात्र हुन् ।

राजावादीहरु र हिन्दुवादीहरु पनि देउवासँग डराउँछन् । देउवाको भरपर्दा कतै हिन्दुराष्ट्र स्थापना नहुने पो हो कि ? गणतन्त्रको विरोधमा खेल्न नपाइने पो हो कि ? विशेष गरी खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुसमेत देउवासँग डराइरहेका छन् । समाजमा बदनामी हुने डरका कारण देउवाले खुमबहादुर समूहको कुरा सुन्न छाडिसकेका छन् ।

सारमा भन्दा देउवासँग परिवर्तनकारीहरु पनि डराएका छन् र पुनरुत्थानवादीहरु पनि डराएका छन् । यद्यपि दुबैको भर देउवामै छ । र, यो नै देउवाको व्यक्तित्वको रोचक पहेली बन्न पुगेको छ ।

स्वदेशीमात्रै होइन, विदेशी तत्वका लागि पनि देउवा ‘पेपर टाइगर’ हुन् । भारतलाई के लागेको छ भने देउवा पश्चिमी राष्ट्रको स्वार्थ प्रतिनिधित्व गर्ने नेता हुन् । र, पश्चिमलाई के लाग्दैछ भने पछिल्लो दिनमा देउवा भारततिर ढल्कन लागेका त होइनन् ?

उता चीनलाई के डर छ भने दलाई लामाको नाम जोडेर विवादमा तानिएका देउवाले नेपालमा अब कतै भारत वा पश्चिमाहरुको स्वार्थको प्रतिनिधित्व पो गर्ने हुन् कि ? चीनलाई पनि देउवाको त्रास छ ।

आफूमाथि थोपरिएको भयको थुप्रो हटाउनुपर्ने देउवामाथि निकै ठूलो चुनौती छ ।

६. गुन र बैगुन उस्तै

समग्रमा देउवा निकै रमाइला र फन्नी नेता हुन् । उनी रमाइला छन् । धेरै बोल्दैनन् । आफूले बोलेको मानिसहरुले बुझ्दैनन् भन्नेमा उनी सचेत छन् र थोरै बोल्छन् । तर, उनी हक्की स्वाभावका छन् ।

निटस्थहरुका अनुसार देउवा निकै दिलदार र सहयोगी भावनाका छन् । कुनै कुरामा हठ राखेर बस्दैनन् । समय अनुसार आफूलाई परिवर्तन गर्न सक्ने नेतामा दरिन्छन् उनी ।

व्यक्तिगत रुपमा उनी अलि बढी अल्छी छन् । उनको सबैभन्दा ठूलो रुचीको विषय नै सुत्ने हो । यसका साथै उनी रक्सी पनि अलि बढी नै पिउँछन् भन्ने मिथक राजनीतिक बजारमा छ ।

देउवा शास्त्रीय राजनीतिज्ञ होइनन्, व्यवहारिक राजनीतिज्ञ हुन् । यही कारणले उनी पार्टीभित्र रामचन्द्र पौडेलभन्दा सफल छन् । पार्टीभित्र अहिले कोइराला पक्षका शशांक, महेश आचार्य आदिलाई समेत साथमा लिएर हिँड्न सफल भएका छन् ।

तर, देउवाका बैगुनहरु पनि धेरै छन् । कर्मचारी सरुवा बढुवामा द्दुस र कमिसन खाने प्रचलन देउवाकै संरक्षणमा भएको र यो रोग एमाले माओवादीसम्म फैलिएको धेरैको आरोप छ । देशमा भ्रष्टाचार फस्टाउन र कर्मचारीतन्त्रमा राजनीतिकरण मौलाउनेमा देउवाको टीमको योगदान रहेको बताउने गरिएको छ ।

देउवाको बानी के छ भने उनी सर्वोच्च अदालतमा समेत फोन गरेर त्यो फलानाको मुद्दा उसको पक्षमा फैसला गरिदेऊ न यार भन्न सक्ने नेता हुन् ।

देउवाले अब आफ्नो चौथो प्रधानमन्त्रित्व कालमा भ्रष्टाचारलाई संस्थागत गराउँछन् या कम गराउँछन्, त्यो सबैको चासोको विषय छ । साथै कर्मचारीतन्त्रमा कत्तिको स्वच्छता कायम गर्ने हुन् त्यो पनि अबको उनको चुनौती हो ।
मानिसमा गुन र बैगुन दुबै हुन्छ । उमेरमा देउवाले धेरै सत्तामुखी व्यवहारहरु गरे । अब जीवनको उत्तरार्धमा उनले सत कमाउने बेला आएको छ ।

७. चौथो इनिङ अर्थात फाइनल परीक्षा

देउवा चौथोपटक प्रधानमन्त्री बनेका छन् । यो उनको चौथो इनिङ राजनेता बन्नका लागि फाइनल परीक्षा हो । आफ्नो राजनीतिक जीवनमा देउवाले नाम पनि कमाए । बदनामी पनि कमाए । अब यो परीक्षामा उनी खरो उत्रिन सके भने उनको छवि राजनेताका रुपमा निर्माण हुनेछ । अन्यथा यो उनको अधोयात्रा ठहरिने छ ।

अब शेरबहादुर देउवाले गर्नुपर्ने मुख्य काम यस्ता छन्-

– माघ ७ गतेसम्म तीनवटा चुनाव सम्पन्न गर्ने र संक्रमणकालको अन्त्य गर्ने ।

– संविधान संशोधन मार्फत मधेसी र जनजातिलाई राज्यको मूलधारमा ल्याउने ।

– परिवर्तनको पक्षमा दृढतापूर्वक उभिने । धर्मनिरपेक्षता लगायतका विषयमा उनीमाथि लागेका आशंकाहरुको निरुपण गर्ने ।

– राज्यका अंगहरुलाई भ्रष्ट र विद्रूप बन्न नदिने । भनसुन र कमिसनखोरीको अन्त्य गर्ने । स्वच्छ राजनीतिक संस्कारको विकास गर्ने ।

– संसदीय व्यवस्थालाई दुर्गन्धित नबनाउने ।

– परिवारका सदस्यहरु, व्यापारी, ठेकेदार र दलालहरुबाट प्रभावित नभई देशको पक्षमा काम गर्ने ।

के शेरबहादुर देउवाले यी जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्लान् ? अहिले यतिमात्रै भन्न सकिन्छ- आशा गरौं, भर नपरौं । पूर्वीय साहित्यमा रत्नाकर पनि सुधि्रएको पढ्न पाइन्छ ।

आज देउवालाई गाली गर्नुभन्दा पनि हामी सबैले शुभकामना व्यक्त गरौं- राजनेता बन्ने अवसरलाई उनले सदुपयोग गरुन् ।