२०७७ मंसिर ९, मंगलवार

मनसरालाई सिंहदरबारले किन देख्दैन ? (तस्बिरसहित)

काठमाडौं । आँखा विस्फोट (रेटिना ब्लास्ट) भई कान्ति बाल अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेकी चार वर्षीया मनसरा लुहारको उपचारमा सरकारको नजर अझै पर्न सकेको छैन ।

मनसरा कालिकोटको रास्कोट गाउँपालिका–७ की गरिब परिवारकी हुन् । स्थानीय स्तरमा उपचार असम्भव भएपछि स्थानीयको सहयोगमा उपचारका लागि गत हप्ता राजधानी ल्याइएको हो । सोमबार उपचार गराइरहेको वार्डमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलका साथ पुग्याैं । जुन वार्डमा क्यान्सर  बिरामीलाइ राखिन्छ ।

त्यहाँ पुग्दा मनसराको बायाँ हातमा स्लाइनको पाइप जोडिएको थियो । नाम लिएर बोलायौं, उनी मुसुक्क हाँसिन् । अनि बाबुतिर हेरिन् । त्यहाँ पुग्ने हरेकलाई सहजै थाहा हुन्छ किन उनी क्यान्सर शब्दको अर्थ बुझ्ने चेतना राख्दिनन् । तर त्यही प्राणघातक रोगसँग लडिरहेका छिन् । दूरदराज कालिकोटबाट नेपाल कम्युनिस्ट पार्टीको पहलमा काठमाडौं ल्याइसक्दा पनि अहिलेसम्म राज्यले देख्न सकेको छैन । करिब  ४ किमोमिटर नजिकको दूरीमा रहेकाे कान्ति बालअस्पतालमा भर्ना भएको हप्तादिन भइसक्दा पनि सिंहदरबारले  मनसरालाइ किन देख्नैन ? अाम नागरिकले  प्रश्न गर्न थालेका छन् ।

ब्रेस्ट क्यान्सर हुँदा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खार्च दिने सरकारको नजरमा मनसरा नपर्नुले सर्वसाधारण समेत रुष्ट बनेका छन् । मनसराको उपचारको जिम्मा सरकारले लिएर गर्नुपर्ने आवाज बाक्लिँदै गएको छ । स्वास्थ्यविज्ञहरु आश्चर्य व्यक्त गर्छन् ।

आर्थिक संकटका कारण समयमा उपचार नपाई गम्भीर स्वास्थ्य दुर्घटनामा परेकी मनसरालाई स्थानीयको सहयोगमा महाराजगन्जस्थित कान्ति बालअस्पतालमा यही जेठ २३ गते भर्ना गरी उपचार गराइरहेका छन् । सरकारले उनको उपचारमा अहिलेसम्म कुनै प्रकारको आश्वासन समेत दिएको छैन ।

मनसराको दाहिने आँखा जेठ २० गते विस्फोट भएको र आँखाको पूरै भाग बाहिर निक्लिएको छ । उनको अहिले अस्पतालको अन्को वार्डमा राखेर उपचार गराइरहेको छ । आँखामा क्यान्सर भइसकेको तर कुन चरणको क्यान्सर हो भन्ने कुरा बायोप्सी गरेपछि मात्र पत्ता लाग्ने उपचारमा संलग्न चिकित्सक प्रकाशनिधि तिवारीले जानकारी दिए ।

बिरामी परिवार आर्थिक रुपले चरम संकटबाट गुज्रिरहेको छ । आर्थिक अवस्था जर्जर भएकै कारण समयमै छोरीको उपचार गर्न नसक्दा क्यान्सर भएर स्वास्थ्योवस्था गम्भीर बनेको मनसराकी बुबा रने लुहारले बताए । ‘समयमै उपचार पाएको भए छोरीको हालत यस्तो हुने थिएन । भर्ना भएको यतिका दिन भइसक्यो, सरकारलाई कुनै मतलब छैन । सरकार गरिब जनताको लागि होइन रहेछ भन्ने काठमाडौंमै आएपछि थाहा भो’ भावुक हुँदै रने लुहारले भने ।

घरबाट बिचबिच बाटोमा खर्च जुटाउँदै अस्पताल ल्याइपुर्याइएको मनसराको उपचारका पहलकर्ता स्थानीय अगुवा कालिबहादुर महतराले बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मनसराको स्वास्थ्यबारे चर्चा भइसक्दा समेत सरकार मौन बस्नु दुःखद् भएको प्रतिक्रिया महतराले दिए । मनसरा गरिब परिवारकी छोरी भएकैले राज्यको आँखा नपरेको गुनासो गरे । सरकारले क्यान्सर बिरामीले पाउने सुविधा समेत नदिएको उनले बताए । अहिले मनकारीहरुबाट प्राप्त सहयोगबाट उपचारलाई निरन्तरता दिइरहेको उनले बताए ।

मनसराको उपचारका लागि बाबुकै नेतृत्वमा ‘मनसरा संरक्षण कोष’ स्थापना गरेको बताए । उपचारमा विशेषगरी स्थानीय एवं नेपाल कम्युनिस्ट पार्टीले पहल लिइरहेको पार्टीको पोलिट ब्यूरो सदस्य भरत बमले बताए । उपचार खर्च जुटाउन राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा नेपालीहरुसँग अपिल गरिसकेको बताउँदै सहयोग रकम जुट्ने क्रम जारी रहेको जानकारी बमले दिए ।

शल्यक्रिया तुरुन्तै गर्न नमिल्ने बालरोग विशेषज्ञ समेत रहेका चिकित्सक तिवारीले बताए । ‘क्यान्सर भइसकेको छ, तर कुन चरणको हो भन्ने कुरा बायोप्सी रिपोर्टपछि थाहा हुन्छ’ तिवारीले भने । शुुक्रबारबाट केमो थेरापी दिन शुरु गरिएको छ । अझै थप केमो दिनुपर्ने बताइएको छ । स्लाइन पानी र औषधी पनि चलाइएको छ । औषधोपचारबाट बाहिर निक्लिएको ट्यूमरको आकार घटेपछि मात्र अपरेशन गर्न मिल्ने चिकित्सकको भनाई छ । यो अवस्थामा पुर्‍याउन कम्तीमा महिना दिन लाग्नेछ । पूर्ण उपचार गर्न लाखौं खर्च लाग्ने र महिनौंसम्म अस्पताल राख्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले बताएका छन् ।

मनसरा कान्छी छोरी हुन् । दुई छोरी र तीन छोरा घरमै छन् । कमजोर आर्थिक अवस्थाकै कारण मनसरालाई विद्यालय पठाउन नसकेको बाबु रनेले बताए । रने र श्रीमती धनन्जनाले गाउँमै मजदुरी गरी परिवारकौ दैनिकी गुजारा चलाउँदै आइरहेका छन् ।

मनसराको उपचारमा सहयोग चाहनेहरुका लागि रकम जम्मा गर्न बाबु रनेकाे नाममा बैंक खाता खोलिएको छ । सहयोग गर्न चाहनेहरुले ग्लोबल आईएमई बैंकको खाता नं. ३३०७०१००३८७५५ मा सिधै रकम जम्मा गर्न सकिनेछ । साथै मोवाइल नम्बर ९८४८३०७१७३ मा कालीबहादुर मतहरालाई सम्पर्क गर्न सकिने कोषले जानकारी दिएको छ ।

अनलाइन डबली