२०७७ कार्तिक ११, मंगलवार

फर्जी प्रतिनिधि नहटाए पार्टी कब्जा गर्ने, नेविसंघ अध्यक्षका प्रत्यासीको चेतावनी

kshitij bhandariकाठमाडौं, ३० साउन ।  नेपाली काँग्रेसको भातृ संगठन नेविसंघको जारी ११ औं महाधिवेशनमा शनिबार प्रकाशित गरिएको मतदाता नामावलीमा फर्जी नाम राखिएको भन्दै नेपाल विद्यार्थी संघका अध्यक्षका प्रत्यासीहरुले उक्त फर्जी नाम खारेज नगरे महाधिवेशन नै बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रामचन्द्र पौडेल पक्षीय विद्यार्थीहरूले २९ गते साँझ प्रकाशित गरिएको प्रतिनिधि नामावलीमा व्यापक अनियमितता र धाँधली गरी फर्जी प्रतिनिधि थपिएको, दुई वर्ष अघि सहमतिमा पुगेको ६४ जिल्लाको प्रतिनिधि नामावलीमा व्यापक फेरबदल गरिएको, नेविसंघ विधानले परिकल्पना गरेको २३३८ को कुल प्रतिनिधि संख्यालाई वृद्धि गरि ३७६० बनाएकोमा आपत्ति जनाउँदै आफूहरुले महाधिवेशन नै बहिष्कार गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी मनोजमणि आचार्यले विधि, विधान विपरित सच्चा विद्यार्थीहरुलाई हटाएर फर्जी नाम थपिएकोमा आपत्ति जनाउँदै भने,‘फर्जी नामावली नसच्चिएसम्म हामी निर्वाचन प्रक्रिया अगाडि बढ्न दिँदैनौं, यो एकपक्षीय ढंगले जबरजस्ती भोटर लिष्ट ल्याईएको छ ।’ उनले उक्त फर्जी नामावली सच्चाउनको लागि आफुहरु आन्दोलनमा होमिने समेत चेतावनी दिए ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी दिपक भट्टराईले पार्टी नेतृत्व विधि, विधान र लोकतान्त्रिक मुल्य र मान्यता विपरित अघि बढेको उल्लेख गर्दै भने,‘हिजो दरबारतिर ठड्याईएका हातहरु, आज बुढानिलकण्ठतिर ठड्याउन नपरोस् ।’

भट्टराईले फर्जी प्रतिनिधि तुरुन्त खारेजी गर्नुपर्ने बताउँदै थपे,‘अहिले पार्टी अफिसलाई ब्यारेक बनाएर संगठन कब्जा गर्ने षड्यन्त्र भैरहेको छ, हामीलाई पार्टी कार्यालय समेत जान दिईएको छैन, यो कस्तो प्रजातान्त्रिक अभ्यास हो, हामीलाई आश्चर्य लागेको छ ।’

अध्यक्षका अर्का प्रत्यासी विनिता अधिकारीले महाधिवेशनको नाममा सच्चा, ईमानदार कार्यकर्तालाई अलपत्र पार्ने काम गरिएको उल्लेख गर्दै भनिन्,‘हाम्रो पार्टीमा अहिले प्रचण्ड–बाबुराम देखिएका छन्, जुत्ता पसले, मोवाईल पसलेहरुलई प्रतिनिधि बनाईएको छ, यसरी कसरी संगठन बलियो हुन्छ, यो तानाशाह प्रवृत्ति हो ।’ अधिकारीले उक्त कदम नसच्चिएसम्म आफूहरु महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिईन् ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी क्षितिज भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले गृहमन्त्री विमलेन्द्र निधिको आडमा प्रहरी प्रयोग गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप लगाएका छन् । भण्डारीले भने,‘यसरी नै अगाडि बढे, अब सिँगो पार्टी नै विद्यार्थीले कब्जा गर्छ ।’

भण्डारीले वाईसियल, युथफोस र भाडाका टट्टुहरु ल्याएर फर्जी प्रतिनिधि बनाईएको बताउँदै भन्दै,‘अहिलेकै अवस्थामा चुनाव सम्भव छैन, महाधिवेशन अहिलेलाई यहीँ बन्द भएको घोषणा गर्छों ।’ उनले पार्टी नेतृत्वले आफ्नो संगठनको चुनाव निश्पक्ष र धाँधलीरहित तरिकाले गराउन नसक्नेले कसरी मुलुकको आगामी निर्वाचन आफ्नो नेतृत्वमा सम्पन्न गर्न सक्छन् त भन्दै प्रश्न गरे । उनले आफूहरुले शान्तिपुर्ण विरोध गर्ने जनाउँदै प्रहरीले दमन गरे त्यसको जिम्मेवारी देउवाले लिनुपर्ने बताए ।

अध्यक्षका अर्का प्रत्यासी निलकण्ठ रिजालले आफूहरु महाधिवेशनको पक्षमा रहेको बताउँदै महाधिवेशनको नाममा पार्टी नेतृत्वले भाडाका मान्छे, भट्टीवाला, खाते, रिक्सावाला र बाटोमा हिड्नेलाई प्रतिनिधिमा राखिएको आरोप लगाए । उनले थपे,‘अहिले २५ औं वर्षदेखि दुःख गर्ने सच्चा कार्यकर्ताहरु हटाईएको छ, यो गलत प्रवृत्ति हो ।’

अध्यक्षका प्रत्यासी आनन्द त्रिपाठीले पार्टी नेतृत्वको अहिलेको कदमले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई ठूलो चोट पुगेको छ । उनले अघि थपे,‘पार्टी र नेतृत्वलाई जे मन लाग्यो, त्यही गर्ने छुट छैन, विधि र विधानभन्दा माथि कोहीपनि हुँदैन् ।’

अध्यक्षका प्रत्यासी पदमराज पन्तले पार्टी नेतृत्वले अहिले महाधिवेशनलाई अन्यौलमा पारेको आरोप लगाए । पन्तले अहिले नक्कली प्रतिनिधिहरुबाट संगठनको नेतृत्व चयन हुन लागेकोले आफूहरु सक्कली प्रतिनिधिबाट नै नेतृत्व चयन हुनुपर्ने अडानमा रहेको दाबी गरे ।

महामन्त्रीका प्रत्यासी हिमालदत्त श्रेष्ठले महाधिवेशनको नाममा नेतृत्व कब्जा गर्ने षड्यन्त्र भैरहेको बताउँदै भने,‘फर्जी नामावली सच्चाईएमात्रै हामी निर्वाचनमा भाग लिन्छौं, होईन भने अहिलेकै अवस्थामा निर्वाचन बहिष्कार गर्छौं ।’

कार्यक्रममा नेतृत्वका प्रत्यासीहरु सुदिप भण्डारी, उर्मिला थपलिया, विनयराम भट्ट, मनोज बैद्य, नविन राई लगायतको उपस्थिति थियो ।