२०७७ माघ ४, आईतवार

सुर्खेतको चौकुने गाउँपालिकामा मोटरसाइल किन्न २२ लाख बजेट

सुर्खेत| चौकुने गाउँपालिकामा मोटरसाइकल खरिदका लागि २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ ।
केन्द्रबाट प्राप्त बजेट वितरणका क्रममा मोटरसाइकल खरिदका लागि मात्रै २२ लाख रुपैयाँ छुट्याइएको हो । एम्बुलेन्स समेत नभएको गाउँपालिकामा कर्मचारीहरुका लागि मोटरसाइकल खरिद गर्न २२ लाख छुट्याइएपछि स्थानीयले बिरोध जनाएका छन् ।
१० लाख रुपैयाँ गाउँपालिका कार्यालयमा मोटरसाइकल खरिदका लागि र १२ लाख ५० हजार वडा कार्यालयमा मोटरसाइकल खरिद गर्न भन्दै छुट्याएको हो ।
केन्द्रबाट प्राप्त करिब ३१ करोड रकम र आन्तरिक १० लाख रकमसहित वितरण गरिएको बजेटबाट कर्मचारी सहजताका लागि मात्रै २२ लाख रकम छुट्याइएपछि जनप्रतिनिधीको बिरोध भएको हो ।
साथै गाउँपालिकामा चर्च, गुम्बा र पार्क निर्माणका लागि समेत करिब २० लाख बराबर रकम छुट्याएको छ । गाउँपालिकामा पुष्पलाल पार्क निर्माणका लागि मात्रै १० लाख छुट्याइएको छ । यस्तै बौद्ध गुम्बा, स्तुप र चर्चहरुलाई समेत बजेट छुट्यार विकास बजेट घटाएको भन्दै युवाहरुले बिरोध गरेका छन् ।
स्थानीय किरण विसीले विरामी हुँदा समयमै उपचार नपाएर मृत्यु हुनुपर्ने बाध्यता रहेको गाउँपालिकामा एम्बुलेन्स खरिद नगरी मोटरसाइकल खरिदका लागि मात्रै २२ लाख ५० हजार रकम छुट्याएको भन्दै यस्तो निर्णय सच्याउनु पर्ने माग गरेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष धिरबहादुर ले भने कर्मचारीहरुको सहजताका लागि मोटरसाइकल खरिदका लागि रकम छुट्याइएको जानकारी दिनुभयो ।
एम्बुलेन्स खरिदसंग मोटरसाइकलको सम्बन्ध नभएको भन्दै उहाँले कर्मचारीहरुका लागि एम्बुलेन्सभन्दा मोटरसाइकल अत्यावश्यक भएकोले यस्तो निर्णय गरिएको बताउनु भयो ।