२०७७ मंसिर ९, मंगलवार

ढुंगा खसेर मृत्यु भएका परिवारलाई राहत दिईने/घाईतेलाई निशुल्क उपचार

 कालिकोट, श्रावन १९ ।  कालिकोटमा घरमाथिवाट ढुंगा खसेर मृत्यु भएका हरुका आफन्तलाई राहत तथा घाईतेलाई निशुल्क उपचार गरिने भएको छ ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको पहलमा मृत्यु भएका परिवारलाई राहत तथा घाईतेको उपचार निशुल्क गरिने भएको हो ।  ऊर्जामन्त्री शाहीले आज गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरि कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ पोरिबन काब्रागाउँ स्थित बुँदे सार्किको घरमाथिबाट ढुंगा खसेर मृत्यु भएकालाई राहत र घाईतेको निशुल्क उपचारबारे जानकारी गराउनुभएको थियो ।

“यही साउन १५ गते राती घरमाथिवाट खसेको ढुंगाले लागेर ३ जनाको मृत्यु भएको छ, उनीहरुको परिवारलाई छिट्टै राहतको व्यबस्था गरिदिनुपर्यो, शाहीले भन्नुभयो, – घाईते ६ जनाको पनि उपचारको व्यवस्था निशुल्क गरिदिनुपर्यो ।”  जवाफमा गृहमन्त्री शर्माले राहत र उपचारको व्यवस्था गरिदिने बचन दिनुभएको छ ।

घरमाथिबाट आएको ठूलो ढुंगा सार्कीको घरमा खस्दा उहाँकी १३ वर्षीया छोरी ललिता, ९ वर्षीय छोरा लंक र ५ वर्षीया छोरी कल्पनाको घटनास्थलमै मृत्यु भएको थियो ।

ढुंगाका टुक्रा लागेर सार्की, उहाँकी पत्नी बेलु, १७ वर्षीया छोरी रंगिला र १० वर्षीया छोरी शर्मिला, सार्कीका छोरीहरूसँग खेल्न आएकी १४ वर्षिया अस्मिता घाइते हुनुभएको छ ।।