२०७७ मंसिर १५, सोमबार

वाढि प्रभावित क्षेत्रमा ११ सय सैनिक उद्धारमा परिचालित

काठमाडौँ, २९ साउन । नेपाली सेनाले लगातारको वर्षापछि आएको बाढीपहिरोबाट उद्धार गर्न ११ सयभन्दा धेरै सैनिक परिचालन गरेकोे छ । सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार प्राकृृति विपत्ति आएको तराई क्षेत्रमा उद्धार गर्न शनिबार राति नै सेना परिचालन गरिएको हो ।

पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली र पश्चिमतर्फको चितवन, बाँके क्षेत्रमा सैनिक परिचालन गरिएको निर्देशनालयले जानकारी दिएको छ । सेनाका अनुसार ती क्षेत्रमा आएको बाढी तथा डुबानमा परेका इलाकामा नजिकै तैनाथ सेनाका युनिट खोज तथा उद्धार कार्यमा खटिएको सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कठायतले बताए ।

‘पूर्वी नेपाल र तराई क्षेत्रमा लगातारको वर्षापछि बाढीपहिरो आएको छ । उद्धारका लागि ११ सय सैनिक परिचालन भइसकेका छन् । खटिएका सैनिक उद्धार कार्यमा सक्रियताका साथ लागेको खबर आएको छ । परिस्थितिअनुसार यो संख्या अझ थप हुन सक्छ,’ उनले भने।

सेनाका अनुसार बढी प्रभावित सुनसरी र मोरङमा शनिबार मध्यरातबाट खोज तथा उद्धारका लागि पूर्वी पृतना हेकक्वाटरअन्तर्गतका फौज परिचालित छन् ।सुनसरीमा डुबानबाट प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगका लागि फौज परिचालन गरिसकिएका छन् । सो क्षेत्रमा पूर्वी पृतना हेडक्वाटरअन्तर्गतका फौजबाट एलुवेट हेलिकप्टरसमेत प्रयोग गरिएको छ ।

सिन्धुलीमा मध्यपृतनाअन्तर्गत चण्डीदल गणबाट खटिइएका फौज परिचालित छन् । बाँकेमा खोज तथा उद्धार कार्यका लागि उत्तर पश्चिम पृतना हेडक्वारअन्तर्गतका फौज परिचालित छन् । यस क्षेत्रमा एमआई १७ हेलिकोप्टरबाट उद्धार कार्य भइरहेको छ । सेनाले बाढी तथा डुबानमा परेका स्थानीयको खोज तथा उद्धारमा मोटरबाट चल्ने डुंगा तथा रबरबोटसमेत परिचालन गरेको छ ।