२०७७ मंसिर ११, बिहीबार

धर्मगुरु रहिमलाई १० वर्ष जेल सजाय

एजेन्सी, नयाँदिल्ली  / सिबिआईको विशेष अदालतले सोमबार डेरा सचा सौदा समूहका आध्यात्मिक गुरु गुरमित राम रहिमलाई दश वर्षको जेल सजाय फैसला गरेको छ । ५० वर्षीय गुरु रहिमलाई आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा दश वर्ष जेल सजाय सुनाएको भारतीय एजेन्सीहरूले जनाएका छन् ।
सरकारी वकिल उत्सव सिंहले सबै प्रमाणका आधारमा आध्यात्मिक गुरु रहिमले सजाय पाएको बताएका छन् । यसअघि शुक्रबार अदालतले रहिमलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

थप सजायको माग
हरियाणाको विशेष अदालतले आरोपी रहिमलाई दश वर्षको सजाय सुनाए पनि पीडित महिलाहरूले थप कारबाहीको माग राखेका छन् । सरकारी वकिल उत्सवले गुरु रहिमलाई दिइएको सजाय कम रहेको दाबी गरेका छन् । ‘पीडित पक्षले बलात्कारी रहिमले कम सजाय पाएको गुनासो गरेको छ, आध्यात्मिक गुरुको कार्यअनुसार उनलाई आजीवन सजाय हुनुपर्ने माग छ,’ वकिल उत्सवले भने । यसैगरी, भारतीय संघीय अदालतलाई धार्मिक नेता रहिममाथि लागेका दर्जनौँ अन्य मुद्दामाथि पनि अनुसन्धान सुरु गर्न पीडित पक्षले माग राखेको छ ।

४८ महिला पीडित
आध्यात्मिक गुरु रहिमले ४८ महिलालाई बलात्कार गरेको पीडित पक्षले सुनवाइका क्रममा अदालतमा बताएको छ । गुरु रहिमलाई कडा कारबाही गर्न आफूहरूले प्रमाण उपलब्ध गराउन सक्ने पीडित पक्षको भनाइ छ । यता, सरकारी वकिल उत्सवले गुरु रहिमले केही महिलाको हत्यासमेत गरेको हुन सक्ने दाबी गरका छन् । ‘आध्यात्मिक गुरु रहिमसँग जोडिएका धेरै मुद्दा छन्, केही मुद्दा हत्या गरेको समेत छन्,’ पीडित पक्षको भनाइ उद्धृत गर्दै वकिल उत्सवले भने, ‘हामी अब दुई फरक मुद्दा राख्छौँ ।’

एक घन्टा सुनवाइ
सिबिआईको विशेष अदालतमा आध्यात्मिक गुरु रहिममाथि मुद्दा सम्बन्धमा एक घन्टा बहस चलेको थियो । सुनवाइका क्रममा दुवै पक्षलाई १०–१० मिनेट भनाइ राख्न समय दिइएको थियो । सुनवाइका क्रममा अदालतमा केवल आठ व्यक्ति मात्र उपस्थित थिए । सुनवाइ हुनुअघि रोहतक र सिरसामा कफ्र्यु लगाइएको थियो । सिबिआई अदालतको वरिपरि बाक्लो सुरक्षाकर्मीको घेराबन्दी रहेको भारतीय एजेन्सीहरूले जनाएका छन् ।

रहिमका वकिलले सुनवाइका क्रममा आफ्ना ‘क्लाइन्ट’ समाज सुधारक र सामाजिक अभियन्ता रहेको वकालत गर्दै सजाय कम गर्न अपील गरेका थिए । वकिलले गुरु रहिम वर्षौंदेखि समाजकै हितका लागि काम गरिआएको अदालतसमक्ष भनाइ राखेका थिए । सोसियल वर्कर व्यक्तित्वलाई गम्भीर आरोपमा दश वर्ष सजाय दिन नहुने वकिलले माग राखेका थिए । उनले गुरु रहिमले सञ्चालन गरेको डेरा सचा सौदाले सफाइ अभियानदेखि ब्लड डोनेसनसम्म कार्य गरेको दाबी गरेका छन् ।

फैसलापछि रहिम रोए
सिबिआईको विशेष अदालतले आध्यात्मिक गुरु रहिमलाई दश वर्ष सजाय सुनाएपछि आरोप लगाउने पक्ष हर्षित देखिएको थियो । यता, गुरु रहिम भने सजायपछि धुरुधुरु रोएका थिए । उनले दुवै हात जोडेर न्यायाधीशसमक्ष आफू निर्दोष रहेको दाबी गरे । आफूलाई विपक्षीहरूले फसाएको उनको भनाइ थियो । न्यायाधीशले कारबाही पूरा नहुँदासम्म गुरु रहिमलाई विशेष निगरानीमा राख्न र अदालतबाहिर नपठाउन निर्देशन दिएका थिए ।

कडा सुरक्षा व्यवस्था
चार दिनभित्र हिंसात्मक प्रदर्शनमा दर्जनौँ व्यक्तिको निधन भएपछि विशेष अदालतमा कडा सुरक्षा थियो । अदालतभित्र र वरिपरि विनाअनुमति प्रवेश गर्ने व्यक्तिमाथि ‘सुट एट साइट’ निर्देशन प्रशासनले जारी गरेको थियो । रोहतक अदालतको पाँच किलोमिटर क्षेत्रमा प्रहरी र विशेष सुरक्षा फोर्स परिचालन भएको थियो । यता, हरियाणा सरकारले २९ अगस्टको बिहान ११.३० बजेसम्म सबै मोबाइल, इन्टरनेट, एसएमएस सेवा बन्द गरेको थियो । प्रशासनले धारा १४४ लागू गर्दै पञ्जकुल, रोहतक, कैथल र अम्बाला राज्यमा सोमबार सबै स्कुल तथा कलेज बन्द गर्न निर्देशन जारी गरेको थियो ।

हरियाणा प्रशासनमाथि आरोप
रहिममाथिका धेरैजसो मुद्दा हरिणायाको प्रशासनमा त्यतिकै छ । पीडित पक्षले हरियाणा प्रशासन गुरु रहिमसँग डराएका कारण मुद्दा अगाडि नबढाइएको दाबी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलामाथि गरेको हिंसाको निन्दा गरेका छन्, तर प्रधानमन्त्री मोदीकै पार्टी भारतीय जनता पार्टीले हरियाणामा रहिमको समर्थन गरेको सरकारी वकिल उत्सवले आरोप लगाएका छन् । घटना सम्बन्धमा भाजपाले केही पनि प्रतिक्रिया दिएको छैन ।

हिंसामा ४५ को मृत्यु

गत शुक्रबार आध्यात्मिक गुरु रहिमलाई बलात्कार आरोपमा दोषी ठहर गरेपछि उनका समर्थकले मच्चाएको हिंसामा अहिलेसम्म ४५ व्यक्तिको निधन भएको छ । हरियाणा र पन्जाबका पाँच राज्यमा गुरु रहिमका समर्थकले हिंसात्मक कार्यक्रम तथा सर्वसाधारणको गाडीमा आगजनी गरेका थिए । सोमबार फैसला हुँदा हरियाणा, राजस्थान र दिल्लीमा समेत व्यापक विरोध भएको थियो । प्रहरीलाई हिंसात्मक आन्दोलनमाथि नियन्त्रण लिन मुस्किल परेको एजेन्सीहरूले जनाएका छन् । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा सयौँ व्यक्ति घाइते भएका छन् ।