२०७७ माघ १४, बुधबार

प्रदेश नम्बर ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले प्रदेश नम्बर ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचार हुने गरेको जनाएको छ । आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भूसंरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो ।

गत वर्ष परेको ६ सय ३३ उजुरीमध्ये शिक्षामा २ सय ६३, स्थानीय विकासमा १२१, वन तथा भूसंरक्षणमा ६० थान छन् । तीमध्ये शिक्षाका १ सय ७८, स्थानीय विकासका ७१ र वनका ६० उजुरी फछर्योट गरेको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । कार्यालयले ३ सय ९३ उजुरी फछर्योट गरेको छ ।

गत वर्ष ५ अभियोग पत्र विशेष अदालतमा दायर गर्नुका साथै ३ जनालाई घूस लिँदै गर्दा पक्राउ गरेको थियो । प्रारम्भिक छानबिन र विस्तृत अनुसन्धानबाट गरी ३७ लाख ४० हजार ५ सय ६५ रुपैयाँ असुल गरेको सापकोटाले बताए । सुर्खेत प्रमुख रविलाल पन्थले अख्तियार एक्लैले भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने हुँदा सबैको सकारात्मक सहयोग अपेक्षा वताउनुभयो ।