२०७७ मंसिर २०, शनिबार

रारालाई भेटेपछिका भावनाहरु

यो धर्तिमा पाइला टेकेको ५२ वर्षपछि रारासँग मेरो पहिलो पटक भेट गर्ने अवसर जु¥यो । पहिलो भेटमै लाग्यो, रारा आफ्नो जवानीलाई संयमतापूर्वक सम्हालेर राखेकी एउटी षोडसी सुन्दरी रहिछन् । आफूमा भएको जोस, जाँगर र उत्साहको हिसावले मैले आफूलाई अझै जवान र अझै उर्जावान महसुस गरे पनि उमेरको हिसावले त्यो भन्न मिल्ने स्थिति अव छैन भन्दा उपयुक्त हुने देखिन्छ । तथापि म जन्मनु भन्दा पनि पहिले म.बी.वि. शाहले स्वर्गकी अप्सरासँग तुलना गरेकी राराको जवानीमा भने अलिकता पनि विचलन र अलिकता पनि आरोहअवरोह देखिएन । अहिले पनि उस्तै रहिछन् रारा म.बी.बि. शाहले आफ्नो रचनामा बर्णन गरेकी स्वर्ग कि अप्सरा जस्तै । प्रकृतिमा यस्ता पनि चिजहरु हुँदा रहेछन् जो न कहिल्यै बृद्ध हुँदा रहेछन् न त बालक नै । सधैं सधैं जवान र सधैं सधैं बैशालु भएर बाँचिरहँदा रहेछन् त्यस्ता चिजहरु । यस्तैमा पर्दिरहिछन् हाम्री रारा । सारा संसार विर्सिएर जीवनको केही क्षण राराको जवानी र सौन्दर्यताको रसपान गर्दै ब्यतित गर्दा यो अनुभूतिले मन र मुटुलाई सगौरव सुम्सुम्याइरह्यो ।
रङ फेर्दिरहिछन् रारा जीवनले जस्तै । जव हामी रारामा डुङ्गाका माध्यमबाट शयर गर्न आरम्भ ग¥यौं, रारा कहिले गाढा निलो देखिन्थिन त कहिले फिका निलो । रारा कहिले हरियो देखिन्थिन र कहिले बगर जस्तै फुस्रो र सेतो । यस्तो देख्दा लाग्थ्यो कि रारालाई थरिथरिका मेकअप र रङ्गीन पहिरनमा सजाएर रारालाई अझ सुन्दर बनाउन ब्यूटिसियनको भूमिका निर्वाह गरिरहेकी थिइन प्रकृतिले । रारामा उठ्ने पानीको छाल, सूर्यको अवस्थिति, तालको गहिराइ आदिको कारणले रारालाई रङ्गिन बनाउन सहयोग पुगेकोे रहेछ प्रकृतिलाई । डुङ्गा चलाउदै गरेका रोका भाइले भन्दै थिए, एकपटक कुन फोटोग्राफरले रारा रातो हुँदा खिचेको फोटो विश्वमै दुर्लभ फोटो मध्येकै टप टेनमा परेको थियो रे । स्वच्छ र सफा पानी, समयसमयमा बदलिरहने राराको रङ्गीन पृष्ठभूमि र चारैतिरबाट रारालाई ढाकेको लेकाली बनस्पति र स्वागतका लागि लहरै उभिएका सेना र प्रहरीका जवान झै देखिने देयार र धुपिका रुखहरुले रारालाई लोभलाग्दी किसिमले सुन्दर बनाउन सहयोग गरेको दृष्टान्तप्रति यो मन पूर्णरुपमा बिश्वस्त देखिएको छ ।
सुरुमै उल्लेख गरे झै मलाई राराको रङ देख्दा जीवनको रङको महसुस हुदै गयो । कहिले दुःखी त कहिले खुशी । कहिले हाँसो त कहिले आँशु । मलाइ लाग्दैछ, अव देखि म दुःखी भएर रुनुप¥यो भने पनि त्यत्ति साह्ै आत्तिने छैन अहिलेको जस्तो र खुशी हँुनुप¥यो भने पनि त्यत्ति साह्ै मात्तिनै छैन । त्यो पनि अहिलेको जस्तो । रारालाई सम्झेर आफूलाई सम्झाउनेछु । राराका बदलिदा रङहरु मेरो जीवनलाई संयमतापूर्वक बाँच्नका लागि आधारस्तम्भ हुनेछन् । साँच्ची रारा पुग्नका लागि नेपालगंजदेखिको लगातारको २ दिनको गाडी यात्रामा भएको पीडा सम्झदा रारालाई नभेटी बीच बाटोबाटै फर्कौं कि झै लागेको थियो । रारालाई सुम्सुम्याउदा भने ती सवै पीडाहरु खुशीमा अनुबाद भए । बेलुका भएपछि भने राराको बसाइमा ती सवै खुशीहरु त्यसरी रहिरहन सकेनन् । राराको रङ जस्तै बदलिन पुगे सारा खुशीहरु कठिनाइ र पीडामा । त्यसैले लाग्दैछ रारा मेरै जीवनको प्रतिविम्बन रहिछन् । त्यसैले लाग्दैछ, मेरो बाँकी जीवनलाई ब्यवस्थापन गर्न मैले रारालाई प्राकृतिक गुरुआमाको रुपमा स्वीकार गरेर अघि बढ्नुपर्छ ।
हामी रारामा रात नविताउने गरी रारा पुगेका थियौं । त्यसैले राराताल भन्दा एकघण्टाको पैदल बाटो अघि नै गाडी र ब्यागेजहरु राखेर रारा प्रस्थान ग¥यौं । दिउसभरि रारा पुगेर फर्किने कि भनेर योजना बनाउँदा भने सहयात्रीको रुपमा गएकी छोरी प्रविधिले भनिन् – ‘मलाई भोलिबिहान रारामा सनसाइनको दृश्य हेर्न मन छ । यही बसौं न बाबा ।’ मैले नाइ भन्न सकिन । यात्रामा संलग्न सरस्वती सेकेण्डरी स्कूल, ठमेल, काठमाण्डौंका प्रिन्सीपल सुमन मल्लको यसमा विशेष जोड रहयो । उनि त बेलुकाको बन्दोवस्तका लागि दिउसैदेखि खट्न थालिहाले । यात्रामा संलग्न नेपालगंज मोडल एकेडेमी, बाँकेका प्रिन्सीपल बिज्ञान शाह, ने.रा.आ.बि.चिसापानी, सुर्खेतका प्र.अ.तेजकुमारी चपाई र मेरा सहकर्मी मित्रहरु गजेन्द्र जि.सी. र भूपेन्द्र भण्डारी पनि अन्ततः त्यही बस्ने पक्षमा ढल्किए । यद्दपि हामी बाहेक हाम्रा न्याना कपडाहरु, औषधी र अन्य सवै सामानहरु गाडी भित्र नै छोडेर आएका थियौं । त्यसैले राराको बसाइ त्यति सुखद भएन । बसाइ सुखद नहुनुमा कारण हामी मात्र नभएर अरुहरु पनि थिए । हामी गौण थियौं भने अरु प्रमुख ।
रारामा रातमा खाना र बासका लागि डाँफे गेष्टहाउस नामको एउटा मात्र गेष्टहाउस रहेछ । उक्त होटेलमा बास बस्ने पाहुनाहरुलाई कहिलेकाही नजीकै रहेको नेपाली सेनाको श्रीदेव गुल्मले चिनजान र भनसुनको हिसावले टेन्ट र बेड दिएर सहयोग गर्दोरहेछ । हामी बसेको रात उक्त गेष्टहाउसमा खानाको अपेक्षा गर्नेको संख्या दुईसय भन्दा बढि थियो । त्यही होटेलमा लामो पर्खाइपछि खाना आयो । खानासँगै च्याङ्ग्राको मासु रहेछ । छोरी प्रविधिले घरमा पनि मासु खान त्यति जाँगर गर्दिनन् । मैले लेकको जडिबुटी खाएको च्याङ्ग्राको मासु स्वास्थ्यका लागि राम्रो हुन्छ भनेपछि छोरीले हुन्छ त भनिन् तर हड्डी, छाला र बोसो नखाएर मासु मात्र खाने कुरा गरिन । मैले हुन्छ त भने तर उनको र मेरो भागमा परेको मासु केलाउदा भने छाला, हड्डी र बोसो बाहेक छोरीले भनेको मासुको त एक चोक्टा पनि भेटिएन । त्यसपछि मेरो भागमा छोरीका निम्ति सरी भन्नु बाहेक अरु उपाय भएन । साँच्ची कहाँ गयो होला छोरीले खोजेको च्याङ्ग्राको मासु ? किन प¥यो होला हाम्रो भागमा हड्डी, छाला र बोसो मात्रै ?
पछि कुरा बुझ्दै जाँदा हामी बाबा–छोरीको मात्र होइन सवैको हालत त्यस्तै रहेछ । खाना सँगै उपलब्ध तरकारी र दालको रसमा खुर्सानी र नूनको मात्रा अत्यधिक । पिउने पानीको अभाव । नौ हजार आठसय दश फिट उचाइको हाइ अल्टिच्यूड । मोबाइलले राम्रोसँग काम नगर्ने अवस्था । सुत्ने कोठामा पिउने पानीको ब्यवस्था गर्न खोज्दा समेत पिउने पानी नै नभेटिएको अवस्था । यी सवै कारणले गर्दा नै सुतेको एकघण्टा नहुदै टाउको भारी भयो, तिर्खाले मुख सुक्यो र रक्तचाप बढेको महसुस भयो । जे होस दिलदार साथीहरुको सहयोगले त्यस्तो अनिष्ठ केही भएन । त्यो रात रारामा विताउनेहरु धेरैको अवस्था मेरो जस्तै थियोे । धेरैले रारा आउन तयारी भएका आफन्तहरुलाई रारामा बस्ने गरी नआउनु, कुकुरले नपाउने दुःख पाइन्छ भनेर मोबाइलबाट खवर सम्प्रेषण गर्दै थिए । चाहे रारामा रातमा क्याम्प फायर गरेर बसून वा कोठा बूक गरेर, विहानीपख सवैको अनुहारमा एकप्रकारको पछुतोभाव मात्र झल्किरहेको थियो रारामा रात विताएकोमा । रमाउदै रारामा बास बस्न आएकाहरुलाई खुशी बनाएर राराबाट बाइबाइ गर्न नसकिने नै हो त ?
रारालाई बाइबाइ गरेर एकाविहानै फर्कदै गर्दा डुङ्गा चलाइरहेका पुर्व भोजपुरतिर घर भएका एकजना सेनाका जवानलाई मैले जिज्ञाशा राखें –‘यति धेरै मानिसहरु आइरहेका छन्, होटेल एउटा मात्र छ । यहाँ अरु होटलहरु किन नबढाएको होला ?’ उनको जवाफ थियो – ‘राराको इतिहासमै हिजोको राराका पाहुनाहरु सवैभन्दा धेरै हुन् । अर्को कुरा सवै महिना यस्तो भीडभाड हुदैन । अरु होटेल खोलेर के गर्ने ?’ उनी र रारालाई यो पटकलाई बाइबाइ गर्दै हामीले गाडी भएसम्म पुग्नका लागि पैदल मार्च सुरु ग¥यौं । गाडी भएको ठाउमा पुग्दा त अघिल्लो दिन हाम्रो गाडी राख्दा पन्ध्र बीसको हाराहारीमा भएका गाडीहरु त्यो दिन त सयको हाराहारीमा पार्किङ गरिएका देखिए । बिहानको खाना ताल्चा इयरपोर्टको छेउको होटेलमा खाएर जुम्ला बजार पुग्दासम्म रारा जाने गाडीको संख्या करिव सयको हाराहारीमा हुइकिए । त्यसपछि त हाम्रो टिमलाइ एउटा काउकुति लागिरहयो – ‘हिजो दुईसयको हाराहारिमा पाहुनाहरु हुँदा त राराको हालत त्यस्तो थियो भने आज गाडी नै दुइसयको हाराहारीमा पुग्दा राराको हालत कस्तो हुने होला ?’
अघिल्लो दिन जुम्ला बजार बसेर अर्कोदिन नाग्म, कालीकोट हुदै सुर्खेत झर्दा भने बाटोमा रारा जाने एकाध गाडी मात्र देखिए । अघिल्लो दिनको तुलनामा त गाडी नै गएनन् भन्दा पनि हुन्छ । हामीले अनुमान ग¥यौं, रारामा गएर हामीले दुःख पाएको खवर सवैतिर फैलियो कि क्या हो ? सायद हाम्रो अनुमान सही हुन पनि सक्छ । तथापि दुःख पाइन्छ नआउनु भनेको समाधान होइन । प्राकृतिक सुन्दरताले भरिएकी रारा ताल हेर्नका लागि मानिसहरुलाई उत्साहित गर्नुपर्छ न कि हतोत्साहित । त्यसका लागि सरकारी एवम् गैरसरकारी तवरबाट योगदानको खाँचो छ । होटेल र गेष्टहाउसको संख्या बढाउनु पर्दछ । निजी क्षेत्रबाट यो कुरा संभव छैन भने अन्य ठाउमा रहेको सेनालाई सडक निर्माणको जिम्मा दिए जस्तै त्यहाँ रहेको सेनाको गुल्मलाई होटल र गेष्टहाउस सञ्चालनको जिम्मा दिनुपर्दछ । नेपालगंज र सुर्खेतबाट ताल्चा विमानस्थलसम्म उड्नका लागि हवाइ उडानको भाडा घटाउनुका साथै हवाइ उडानको फ्रिक्विन्सीलाई बढाउनु पर्ने देखिन्छ । ताल्चादेखि रारा तालसम्मको सडकमार्ग समेत निर्माण गरी सञ्चालन गर्नुपर्ने देखिन्छ ।
रारा तालमा हाल भएका डुङ्गाको संख्यामा बृद्धि गर्नुपर्दछ । इञ्जिनबाट चल्ने डुङ्गाको समेत ब्यवस्था गर्नु आवश्यक छ । यसका साथै नाग्मदेखि रारासम्मको सडकलाई द्रुत विधिबाट पिच गरिनुपर्दछ र रारा हेर्न जाने आन्तरिक एवम् बाह्य पर्यटकहरुबाट हाल स्थानीय तहले उठाएको करलाई ब्यवस्थित र पारदर्शी गर्र्नु पनि त्यत्तिकै आवश्यक देखिन्छ । रारा तालको सौन्दर्यतालाई प्रचारप्रसार र चर्चा परिचर्चा गरी विदेशी पर्यटकहरुको हालको बार्षिक दुइसयको हाराहारीमा रहेको दरलाई बढाउनुपर्दछ । यसका साथै विदेशी पर्यटकलाई रारातालमा डुङ्गा चढ्नका लागि लगाइएको प्रतिबन्धलाई हटाउनु पर्दछ । तालको वरिपरि साइक्लीङ र घोडसवारलाई पनि ब्यवस्थित गर्नुपर्ने देखिन्छ । गाडीबाट झरेर रारा तालसम्म जानको लागि पैदल हिड्नु पर्ने एक घण्टाको दूरीलाई सजिलैसँग आधा घण्टामा झार्न सकिने स्थिति छ, त्यसतर्फ पनि सम्बन्धित निकाय गम्भीर हुनु आवश्यक छ । रारामा बजार ब्यवस्थापन र आकस्मिक उपचारको बारेमा केही त गर्नै पर्ने देखिन्छ ।
नेपालको सन्दर्भमा रारा तालहरुकी पनि ताल हुन । यिनका तुलनामा अरु तालहरु त सानासाना नानीबाबु हुन । सौन्दर्यको हिसावले मात्र होइन क्षेत्रफलको हिसावले पनि यिनी अरुभन्दा विशाल छिन् । यिनको परिधि १६ किलोमीटर छ जसलाई फन्को मार्न मानिसलाई ५ घण्टा भन्दा कम लाग्दैन । औषत लम्बाई ५ किलोमीटर, औषत चौडाइ ३ किलोमिटर र गहिराइ १६७ मिटर छ भने रारा तालले ओगेटेको भूभाग १०.५ वर्ग किलोमीटर रहेको छ । मलाइ लाग्छ रारा ताल प्रदेश नं. ६ र सिंगै मुलुकको विशाल सम्पत्ति हुन । यिनको ब्यवस्थापन गर्न मन पनि विशाल हुनु आवश्यक छ । मासु बेच्ने नाममा मासु होइन कि हड्डी, बोसो र छालामात्र बेच्ने मानसिकताले राराको विकास हुन सक्दैन । राराप्रतिका विचार र मनहरु पनि रारा जत्तिकै स्वच्छ र पवित्र हुनु आवश्यक छ । स्थानीय सरकारले रारामा जाने पर्यटकहरुसँग हचुवा र कानून विपरित शुल्क लिएर खल्ती भर्ने सोच र चिन्तनले राराको उन्नति पनि हुन सक्दैन । सवैलाई चेतना भया ।

२०७४ असौज २१ गते शनिबार