२०७७ मंसिर ९, मंगलवार

सल्यानमा बागी उम्मेदवारका लागि छुट्टै चुनावी प्रचार प्रसार कमिटि गठन

सल्यान । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारका लागि छुट्टै चुनावी प्रचार प्रसार कमिटि गठन गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएको माओवादी केन्द्र सल्यानले छुट्टै चुनावी प्रचार प्रसार कमिटि गठन गरेको हो ।

माओवादी केन्द्र सल्यानले पार्टीका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छाहारी’ को संयोजकत्वमा १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

जिल्लाभरीको प्रचार प्रसारको नेतृत्व गरेका संयोजक छाहारीले प्रतिनिधिसभा सदस्यका वागी उम्मेदवार उमाकान्त शर्माको लागि प्रचार तथा परिचालनको नेतृत्व लिनु भएको छ । यस्तै प्रदेशको क्षेत्र नम्बर १ मा टिकाराम ओली ‘दर्शन’को संयोजकत्वमा ७५ सदस्यीय तथा २ मा ज्ञानबहादुर ओली ‘माइकल’को संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला संयोजक बुढाथोकीले जानकारी दिनु भयो ।

प्रचारप्रसार कार्यालयको जिम्मा टंकप्रसाद शर्मा ‘सौगात’लाई दिइएको छ भने जिल्लामा कार्यरत केन्द्रिय सदस्य, जिल्लाका पदाधिकारीसहित गर्दा १५० जनाको निर्वाचन परिचालन समिति बनाइएको माओवादी केन्द्र सल्यानले जनाएको छ ।