२०७७ मंसिर १३, शनिबार

वाम गठबन्धनको चुनावी अभियान तीव्र

सर्खेत । वाम गठबन्धनले सुर्खेतमा चुनावी अभियानलाई तीव्रता दिएको छ । पार्टी एकताको लक्ष्यसहित चुनावी गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभामा आफ्नो जित सुनिश्चित गर्न जिल्लामा संयुक्त चुनावी अभियान थालेका हुन् ।

उम्मेदवार मनोनयनदेखि नै संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गरिरहेको गठबन्धनले मंसिर ७ गते दुबै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर बृहत आम सभा गर्ने जनाएको छ । प्रदेश सभा क्षेत्र न..२ ‘क’ का उम्मेदवार एवं नेकपा एमालेका पोलिट्व्युरो सदस्य यामलाल कंडेलले जिल्लाका सबै क्षेत्रमा एकीकृत तथा विकेन्द्रित रुपमा चुनावी अभियान सञ्चालन भइरहेको बताए । वाम गठबन्धनले संयुक्त रुपमा चुनाव परिचालन समितिहरु पनि गठन गरेको छ । जसअन्तरगत संयुक्त वाम गठबन्धनका युवाहरुको भेलाले वीरेन्द्रनगर–४ मा शनिवार निरक कंडेलको संयोजकत्वमा २०१ वडा स्तरिय युवा परिचालन कमिटी गठन गरेको छ ।

यस्तै, वीरेन्द्रनगर–१२ को वडा स्तरिय संयुक्त भेलाले बालाराम सापकोटाको अध्यक्षतामा महोब हज्रक बक्स र रामकुमार दर्लामीका संयोजक रहने गरी ५०१ सदस्यिय परिचालन कमिटी गठन गरेको छ । वीरेन्द्रनगरकै वडा नं.१३ मा मदन पंंगालीको संयोजकत्वमा २०५ सदस्यिय संयुक्त परिचालन कमिटी पनि गठन गरिएको वाम गठबन्धनले जनाएको छ ।

यता नेकपा एमालेका नेता एवम् सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज रावतले पाँच वर्ष्भित्र पश्चिम सुर्खेतका तीन वटै स्थानीय तहलाई झिलिमिली बनाउने योजना आफूसँग रहेको बताएका छन् । चुनावी प्रचारका क्रममा गाउँ पुगेका रावतले मतदातासँग पश्चिम सुर्खेतमा विजुली बत्ति पुर्याउनु आफ्नो प्रमुख योजना भएको बताए ।

विगत लामो समयदेखि आफू जनताको माझमा रहेर काम गरेकाले जनताको सबै अपेक्षा र चाहना आफूले बुझेको रावतको दावी छ ।