२०७७ मंसिर १५, सोमबार

अधिकतम श्रोत साधनको प्रयोग गरी जनताको समृद्धिका लागि काम गर्ने : विष्ट

सुर्खेत । वाम गठबन्धनका तर्फबाट प्रदेशसभाको निर्वाचनका लागि सुर्खेतको क्षेत्र नम्बर १ ‘क’ का उम्मेद्वार ठम्मर विष्टले अधिकतम श्रोत साधनको प्रयोग गरी त्यस क्षेत्रका जनताको समृद्धिका लागि काम गर्ने बताउनुभएको छ ।

आज सुर्खेतका गुर्भाकोट नगरपालिकाका विभिन्न वडामा भएका वडास्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विकासका हिसाबले सिम्ता र गुर्भाकोटका धेरै क्षेत्र झन् झन् पछाडि परेकाले अबको विकास वाम गठबन्धनले जितपछि मात्रै सुनिश्चित भएको भन्दै उहाँले आगामी चुनावमा जिताउन आग्रह गर्नुभयो ।

धेरै समय कांग्रेसले नेतृत्व गरेको यो क्षेत्रमा जनताले समृद्धिको महसुस गर्न नपाएको टिप्पणी गर्दै विष्टले आफुलाई जिताए जनतालाई आत्मनिर्भर बनाएर त्यस क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । जनताले दिएका सल्लाहसुझावलाई नै मनन गर्दै आफुले काम गर्ने वचन दिँदै उहाँले आफुलाई अवसर दिन पनि आग्रह गर्नुभयो । आज गुर्भाकोटको वडा नम्बर १० र ११ साथै ९ र चारमा संयुक्त चुनावी भेला भएको थियो भने वडा नम्बर १२ मा पनि चुनावी भेला सम्पन्न भएको छ ।