२०७७ मंसिर २०, शनिबार

सुर्खेत उद्योग वाणिज्य संघलाई चुनौती, व्यापारीहरुद्वारा समानान्तर उद्योग वाणिज्य संघ दर्ताको तयारी

surkhetcci_logoसुर्खेत, साउन ३१ । सुर्खेत उद्योग वाणिज्य संघलाई सुर्खेतका व्यापारीहरुले चुनौती दिएका छन् । उद्योग वाणिज्य संघको निर्वाचनका वेला पराजित भएको व्यापारीहरुको समूहले संघलाई चुनौति दिएको हो । निर्वाचनमा फर्जी मत प्रयोग गरी चुनाव जितेको भन्दै असन्तुष्ट बनेको संयुक्त व्यवसायी समूहले अन्ततः समानान्तर उद्योग वाणिज्य संघ दर्ता गर्ने अन्तिम तयार गरेको छ ।
व्यवसायीहरुको हकहितको पक्षमा भन्दा पनि संस्थालाई कुनै एक पार्टीको भातृ संगठनका रुपमा विकास गर्दै लगेको भन्ने आरोपसहित संयुक्त व्यवसायी समूहले अबदेखि सुर्खेत उद्योग वाणिज्य संघसँग कुनै पनि सम्बन्ध नरहेको जनाएको छ ।

आइतबार यहाँको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी समूहले आफूहरुले पटक–पटक सच्चिन माग गरे पनि संघको नेतृत्वले आफूहरुको मागको सम्बोधन नगरेपछि समानान्तर संस्थाको दर्ता प्रक्रियाको लागि अगाडि बढेको जनाएको छ । समग्र व्यवसायीहरुको हकहित भन्दा पनि आफ्नो स्वार्थ र संस्थालाई पार्टीगत बनाउँदै लगेको संयुक्त व्यवसायिक समूहको आरोपसमेत छ ।

समूहले निर्वाचनमा पनि फर्जी मतको प्रयोग गरेको र नेतृत्वमा आएपछि व्यवसायीहरुको समस्या समाधान भन्दा पनि आफू अनुकुल काम गर्दै अगाडि बढेपछि विकल्पको रुपमा संयुक्त व्यवसायी समूहको नाममा समानान्तर संस्था दर्ताको प्रक्रियाको थालनी गर्नुपरेको बताएको छ ।

कार्यक्रममा समूहका संयोजक विष्णुबहादुर शाहीले वर्तमान सुर्खेत उद्योग वाणिज्य संघले फर्जी व्यवसायीहरुलाई शुद्धिकरण नगरेको र सम्पूर्ण व्यवसायीहरुको हितमा नलागेकोले विकल्प खोज्नुपरेको बताए । “हालको संघको नेतृत्वले फर्जी व्यवसायीहरुलाई शुद्धिकरण गर्न सकेन,” उनले भने, “त्यसकारण हामीहरुले यस्तो विकल्प रोजेको छौं ।”

समग्र उद्योग वाणिज्य क्षेत्रको हकहितको लागि सुर्खेत उद्योग वाणिज्य संघको दर्ता भए पनि स्थापनाकालदेखि नै त्यहाँको नेतृत्वले कुनै एक पार्टीको भातृ संगठन बनाउँदै गएको शाहीको भनाइ छ ।
विगतदेखि नै प्रजातान्त्रिक समूहले गैर व्यवसायीको मतले नेतृत्वमा पुग्ने र कुनै पार्टीको स्वार्थका लागि काम गर्ने परिपाटी संस्थागत गर्दै गएकोले आफूहरु समानान्तर संस्थाका रुपमा संयुक्त व्यवसायी समूह बनाउन बाध्य भएको वताएको छ । संयुक्त व्यवसायिक समूहले तत्कालका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमै आबद्ध भएर अघि बढ्ने जनाएको छ ।

अहिले व्यवसायीहरुले सवारी प्रवेश सेवा सहयोग, फर्म दर्ता सिफारिस नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमार्फत् गर्ने गराउने निर्णयसमेत गरेको संयोजक शाहीले जानकारी दिए । यो निर्णय भदौ १ गतेदेखि नै कार्यान्वयन हुनेछ । साथै सुर्खेत उद्योग वाणिज्य संघले व्यवसायीहरुबाट उठाउँदै आएको कुनै पनि शुल्क अब नतिर्ने समूहले निर्णय गरेको छ ।

त्यस्तै, उद्योग वाणिज्य संघका पूर्व महासचिव मदन खड्काले अब व्यवसायीहरुको साझा नेतृत्वका रुपमा आफूहरुले स्थापना गर्ने संस्था विकास गर्ने दावी गरे । खड्काले आफूहरुले लिखित र मौखिकरुपमा पटक–पटक उद्योग वाणिज्य संघलाई साझा नेतृत्व बन्न सुझाव दिए पनि संघको नेतृत्वले नटेरेकाले आफूहरुले संघको विकल्प खोजेको बताए ।

राष्ट्रिय उद्योग व्यापार संगठनका जिल्ला अध्यक्ष सूर्यविक्रम थापाले केन्द्रमा उद्योग व्यापार महासंघ र आफूहरुको संगठन राष्ट्रिय उद्योग व्यापार संगठनले समानान्तर गतिविधि सञ्चालन गरिरहेको भन्दै अब जिल्लामा पनि यसको सक्रियता बढाइने बताए ।

थापाले संघले गर्ने सम्पूर्ण गतिविधि, संघ संलग्न सम्पूर्ण संघसंस्था र संघले विभिन्न क्षेत्रबाट ल्याउने गरेको सहयोगमा अब आफूहरुको पनि दावी हुने बताए । कानुनीरुपमा राष्ट्रिय उद्योग व्यापार संगठन उद्योग वाणिज्य संघ सरह भएको भन्दै आफूहरुले सबै गतिविधि उद्योग वाणिज्य संघ सरह गर्ने दावी गरे ।