२०७७ कार्तिक ५, बुधबार

वामपन्थीको जिल्लाव्यापी चुनावी अभियान विपक्षीलाई नआत्तिन सुझाव

सुर्खेत, म‌‍सिर १ । एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले जिल्लाव्यापी घरदैलो तथा चुनावी आमसभालाई तीव्रता दिएको छ । ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ का लागि मत माग्न दुवै दलका साझा उम्मेदवारहरुले घरदैलो भेटघाटलाई तीव्रता दिएका हुन् ।

‘मतदाताका अपेक्षा र सुझावहरु सुनिरहेका छौं,’ विहीबार वीरेन्द्रनगर– १० मा घरदैलो भेटघाटमा व्यस्त सुर्खेत निर्वाचन क्षेत्र नं. २ ‘क’ प्रदेश सभा सदस्य उम्मेदवार यामलाल कंडेलले वामपन्थी गठबन्धनको बढ्दो लोकप्रियता देखेर विपक्षीहरु अतालिएको बताए । उनले मंसिर २१ पछि कांग्रेसको हैसियत केही नहुने उल्लेख गर्दैे वाम गठबन्धनको भावी सरकारले विकास र समृद्धिको लहर ल्याउने दावी गरे ।

‘कांग्रेसीहरुले भ्रमको खेती गरिरहेका छन्,’ नेता कंडेलले भने, जनताले बुझिसके अब वामपन्थीको जितले मात्रै यहाँको समग्र विकास सम्भव छ ।’ झुठा आश्वासनले आर्जित मतदातासंग कांग्रेसका उम्मेदवारले अब फेरी भोट माग्ने हैसियत नरहेको उनले जिकिर गरे । जिल्लाको सबै विकास हामै पालामा भएको हो भन्दै जनतालाई भ्रमित पार्ने काम कांग्रेसी नेताहरुले गरिरहेकाले सचेत मतदाताले यस्ता खाले भ्रम चिर्न जरुरी रहेको उनले औंल्याए ।

आफूलाई विकासवादी नेता भन्दै हिड्ने सुर्खेतबाट निर्वाचित कांग्रेसका सांसदहरुले विकासका नाउँमा सिन्को नभाचेको कंडेलले आरोप लगाए । ‘जिल्लामा जे–जति विकास भएको छ,’ एमाले पोलिटव्युरो सदस्य समेत रहेका कंडेलले भने, त्यो सबै एमाले र माओवादी केन्द्रको सरकार हुँदा गरिएको हो ।’ प्रदेश नं. ६ का सबै क्षेत्रमा वामपन्थीका साझा उम्मेदवारले जित्ने पक्का भएपछि कांग्रेसीहरु झुठा आश्वासन बाड्दै हिड्ने गरेको भन्दै नेता कंडेलले उनीहरुलाई संयमित भएर चुनावी मैदानमा आउन आग्रह समेत गरे ।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज रावतले सुर्खेत क्षेत्र नं. २ को विकास र समृद्धिको संकल्पसहित आफ्नो उम्मेदवारी दिएको बताए । रावतले आफू निर्वा्चित भएमा पाँच वर्षभित्र निर्वाचन क्षेत्र का हरेक वडामा पक्की सडक पु¥याउने प्रतिवद्धता जनाएका छन् ।

चुनावी प्रचारका क्रममा बिहीबार वीरेन्द्रनगर–१० का मतदाताहरुसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । विकासको पहिलो पूर्वाधार नै सडक भएकाले हरेक वडालाई पक्की सडक सञ्जालले जोड्ने उनको भनाइ छ । सडक नहुँदा यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै रावतले पाँच वर्षभित्र हरेक वडामा पक्की सडक पु¥याएर नागरिकलाई सुविधा दिने दावी गरे । वाम गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार विन्दमान विष्टले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका हरेक स्थानीय तहमा शीतभण्डार निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका क्रममा विष्टले विहीवार पश्चिम सुर्खेतका विभिन्न स्थानमा भएका कार्यक्रममा मतदातामाझ ‘एक स्थानीय तह, एक शीतभण्डार’ निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

यसैगरी, प्रतिनिधि सभा सुर्खेत क्षेत्र नं. १ का वाम गठबन्धनका उम्मेदवार ध्रुव कुमार शाहीले आर्थिक समृद्धि अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । चुनाव प्रचार–प्रसारका क्रममा पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं.४ सहारेमा भएको संयुक्त चुनावी सभामा शाहीले आर्थिक बिकासको भिजन वाम गठबन्धनसंंग मात्रै भएकाले वाम गठबन्धनको जित आवश्यक रहेको औंल्याए ।

नेपाली कांग्रेसले जनातालाई आश्वासन बाडेरै धेरै बर्ष राज्यकोषको दोहन गरेको भन्दै शाहीले गठबन्धनको पाँच बर्षे स्थीर सरकारले जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने दाबी गरे । कार्यक्रममा प्रदेश सभाका वामपन्थी गठबन्धनका उम्मेदवार ठम्मर बिष्टले संंविधान कार्यान्वयन र आर्थिक समृद्धिको लागी वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरेका थिए । सोही अवसरमा नेपाली कांग्रेस परित्याग गरी २४ जनाभन्दा बढी एमालेमा प्रबेश गरेको बताईएको छ ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ क्षेत्रमा हुने निर्वाचनका लागि १० दिन बाँकी छ । दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लाका १ सय २८ क्षेत्रको निर्वाचन आउन २१ दिन बाँकी छ । वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीहरुले पाएका मतका आधारमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आउनसक्ने मतका आधारमा पूर्वाअनुमान गर्न थालिएको छ ।

यसरी स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सुर्खेतमा वाम गठबन्धनको मत अरु पार्टीहरुको तुलनामा निकै धेरै देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल र यसको परिणामबारे अड्कालबाजी पनि सुरु भएका छन् । यसैबीच, जिल्लाका विभिन्न स्थानहरुमा दैनिकजसो मतदाताको घरदैलो गरिरहेको वाम गठबन्धनले आज शुक्रबार वीरेन्द्रनगरको वडा नं. १२ मा मतदाता भेटघाटका साथै दिउँसो ३ बजे पिपिरा चोकमा कोण सभा गरिने वाम गठबन्धनले जानकारी दिएको छ ।