२०७७ मंसिर ९, मंगलवार

वामपन्थी उम्मेदवार, सबै जनताका बीचमा पुग्ने कसरतमा 

सुर्खेत, ९ मंसिर । प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिदैगर्दा वामपन्थी उम्मेदवारहरु सबै जनताका बीचमा पुग्ने कसरतमा छन् । एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले जिल्लाव्यापी घरदैलो तथा चुनावी आमसभालाई तीव्रता दिएको छ । ‘हामी बढीभन्दा बढी जनताको बीचमा पुग्ने कसरतमा छौँ, टोलटोलमा कार्यक्रम गर्ने, जनता भएको ठाउँमा पुगेर भेट्ने काम भइरहेको गरिरहेका छौँ,’ प्रदेशसभा उम्मेदवार यामलाल कंडेलले भने, ‘यो अभियान प्रभावकारी भइरहेको छ ।’

वामपन्थीको तालमेलले पनि जनतामा उत्साह देखिएको उनले बताए । घरदैलो गर्ने क्रममा सुर्खेतको माहौल वाम  गठबन्धनका पक्षमा देखिएको उनको दावी छ । यसअघि स्थानीय तहको निर्वाचनमा देशैभर पहिलो स्थान बनाएको एमाले र तेस्रो स्थान बनाएको माओवादी केन्द्रको गठबन्धन भएपछि सुर्खेतलगायत प्रदेश नं. ६ का सबै जिल्लाहरुमा वाम गठबन्धन पहिलो हुने निश्चित भएको वामपन्थी उम्मेदवारले जिकिर गरेका छन् ।

एमाले पोलिट्व्युरो सदस्य एवं एमाले प्रदेश नं.६ का सह–संयोजक समेत रहेका यामलाल कंडेल आफै प्रदेशसभा सदस्यका उम्मेदवार भएपछि उनको नेतृत्वमा सञ्चालित चुनावी अभियानका कारण यस क्षेत्रमा अन्य दलहरु फिक्का भएका हुन् । राष्ट्रिय राजनीतिमा स्थापित कंडेल प्रदेश नं. ६ का नेतामध्ये विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिमित नेतामा पर्छन् । कंडेल पूर्वमन्त्री समेत हुन । सस्तो प्रचारमा नरमाउने र जनताको विवेकमा विश्वास गर्ने नेता कंडेलले यतिबेला सुर्खेत निर्वाचन क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यमा वामपन्थी गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएर घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

चुनावी अभियानका क्रममा वीरेन्द्रनगर–३ मा शुक्रबार भेटिएका नेता कंडेलले वामपन्थी उम्मेदवारहरु भोट माग्न जादा मतदाता उत्साहित भएको प्रतिक्रिया दिए । ‘हाम्रो जित सुनिश्चित छ, वामपन्थीको गठबन्धन पहिलो शक्ति हुन्छ,’ कंडेलले भने, अब घोषणा गर्न मात्रै बाँकी हो ।’ आफू निर्वाचित भए वीरेन्द्रनगरको गुरुयोजना पुनरालोकन, निर्माण र कार्यान्वयन, उपत्यकाको चक्रपथ निर्माण तथा सञ्चालन, सुविधा सम्पन्न सिटी अस्पतालको स्थापना र सडक पूर्वाधार खानेपानीलगायतका क्षेत्रमा उल्लेखिय कामहरु गर्ने नेता कंडेलले मतदातासंग प्रतिवद्धता व्यक्त गरेका छन् ।

मतदाता समक्ष पूर्वाधार, पर्यटन, कृषिमा आधुनिकीकरण, मानव संशाधनका क्षेत्रमा समेत काम गर्ने प्रतिबद्धता उनले राख्दै आएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज रावतले विगतमा वामपन्थी नेतृत्वको सरकारले विकास परियोजनाका लागि बिनियोजन गरेको रकम र कामका प्राथमिकताका कारण आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी उम्मेदवारहरुकोे पल्ला भारी भएको बताए ।