२०७७ मंसिर ९, मंगलवार

काग्रेसको  नगरमा घरदैलो

सुर्खेत, ९ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु यतिबेला मतदाताको घरदैलोमा पुगेका छन् । चुनावी सभाका साथै मतदाताको घरघर पुगेर उम्मेदवारहरुले कांग्रेसलाई मत दिन आव्हान गरिरहेका छन् ।

सुर्खेतमा कांग्रेसले गरेको विकास निर्माणको कामलाई देखाउँदै कांग्रेस उम्मेदवारहरुले फेरि पनि जिताएर विकास निर्माणको कामलाई निरन्तरता दिन आग्रह गरेका छन् ।  यसैक्रममा शुक्रवार विहान वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानी, क्षेत्र नं. २ क का उम्मेदवार कमलराज रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी तथा समानुपातिक उम्मेदवारहरुसहित कांग्रेस नेता कार्यकर्ताहरुको सहभागितामा मतदाताको घरघर पुगी कांग्रेस उम्मेदवारहरुलाई निर्वाचित गराउन माग गरिएको छ ।

सुर्खेतमा विकास निर्माणको काम गर्ने दल कांग्रेस नै भएकोले फेरि पनि कांग्रेसलाई अमूल्य मत दिएर जिताउन उम्मेदवारहरुले मतदातासंग आग्रह गरेका थिए । यसैगरी शुक्रवार दिउँसो वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा पनि घरदैलो कार्यक्रम गरिएको छ । वडा अध्यक्ष मोतीप्रसाद कँडेललगायत कांग्रेस उम्मेदवारहरुले घरघरमा पुगेर मत मागेका थिए । घरदैलो कार्यक्रममा जनताले सडक स्तरोन्नति गर्न, खानेपानीको समस्या समाधान गर्न माग गरेका थिए । उम्मेदवारहरुले भने भेरीको पानी लिफ्ट गरेर उपत्यका ल्याउने पहल भइरहेको र सडक स्तरोन्नतिका कार्यहरु तत्काल गरिने बचन दिएको कांग्रेसका क्षेत्रीय सभापति नारायण कोइरालाले बताए ।