२०७७ मंसिर १४, आईतवार

खड्कालाई जितको संकट

सुर्खेत, १३ मंसिर । सुर्खेत क्षेत्र नं. १ प्रतिनिधिसभामा अहिले धेरैको आँखा परेको छ । कांग्रेस नेता पूर्णबहादुर खड्कालाई वामपन्थीका साझा उम्मेदवार एवं एमाले सुर्खेतका अध्यक्ष, युवा नेता धुव्र कुमार शाहीले चुनौती दिँदैछन् । एमाले–माओवादीबीचको वाम गठबन्धनले खड्कालाई जितको संकट परेको छ । खड्काले ०४८ यता सुर्खेत १ बाट अहिलेसम्म चुनाव हार्नुपरेको छैन । तर, यसपटक भने सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यका वामपन्थी उम्मेदवार शाहीलाई जित्नु खड्काका लागि फलामको चिउरा चपाउनु सरह बनेको छ । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका यी दुई पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् ।

क्षेत्र १ मा सिम्ता र चिंगाड गाउँपालिका, भेरीगंगा, लेकबेसी र गुर्भाकोट नगरपालिका पर्छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा तीमध्ये लेखबेसी र सिम्तामा एमाले तथा अरू तीन तह कांग्रेसले जितेको थियो । तर, एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत संख्या कांग्रेसको भन्दा ६ हजार २ सय १३ ले बढी छ । त्यस हिसाबले खड्कालाई शाहीले सहजै जित्ने वाम गठबन्धनको दाबी छ । ‘स्थानीय तहमा प्राप्त मतका आधारमा यसपटक सहजै चुनाव जित्ने स्थिति बनेको छ,’ खडकाविरुद्ध उम्मेदवारी दर्ता गराएका शाहीले भने, ‘जनताको चाहना पनि वाम गठबन्धनले जितोस् भन्ने छ ।’ यसपटक खडकालाई रोकेर आफूले संसद् यात्रा थाल्ने उनी बताउँछन् ।

यता खड्काले भने एमाले–माओवादी गठबन्धनकै कारण आफ्नो संसद् यात्रा नरोकिने दाबी गर्दै आएका छन् । ‘मैले चुनाव जितेर कहिल्यै जनताको शिर झुक्ने काम गरेको छैन,’ खड्काले भने, ‘म चुनाव जित्ने आत्मविश्वासका साथ अघि बढेको छु । जनताले मलाई नै चाहेकाले गठबन्धनले मलाई रोक्लाजस्तो लाग्दैन ।’ खडका ०४८, ०५१, ०५६ र ०७० मा निर्वाचित सांसद हुन् । ०६४ को पहिलो संविधानसभामा उनी समानुपातिक सभासद भएका थिए । प्रजातन्त्र पुनस्स्थापनापछि अविच्छिन्न संसदमा पुग्ने प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, रामजनम चौधरी र सुवासचन्द्र नेम्वाङपछि खडकाकै नाम आउँछ । उनी आठपटक मन्त्री भइसकेका छन् । गत संविधानसभा निर्वाचनमा सुर्खेतका ३ वटै निर्वाचन क्षेत्र कांग्रेसले जितेको थियो ।

दुई क्षेत्रमा खुम्चिएको सुर्खेतमा यसपटक कांग्रेसले क्षेत्र १ मा खडका र २ मा निवर्तमान सांसद हृदयराम थानीलाई उम्मेदवार बनाएको छ । थानी पाँचौंपटक सुर्खेत २ को चुनाव लडदै छन् । उनलाई एमालेका नवराज रावतले चुनौती दिँदै छन् । एमाले प्रदेश कमिटी सदस्य रहेका रावत पनि ०५१ यताका चार निर्वाचनका निरन्तर प्रत्याशी हुन् । तर, अहिलेसम्म एकपटक पनि जित्न सकेका छैनन् । यसपटक भने वाम गठबन्धनको बलमा सहज जित हासिल गर्ने उनले दाबी गरे । अघिल्लोपटक थानीका निकटतम प्रतिद्वन्द्वी एमाले नेता यामलाल कंडेल यसपटक भने मुख्यमन्त्रीको दाबीसहित क्षेत्र २ प्रदेश क्षेत्र क बाट उम्मेदवार छन् । उनी एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशका सह–संयोजक हुन् । कंडेललाई कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीले चुनौती दिँदै छन् । क्षेत्र २ को प्रदेश ख मा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टसँग वाम गठबन्धनका तर्फबाट माओवादीका पूर्वविद्यार्थी नेता विन्दमान विष्ट प्रतिस्पर्धा गर्दै छन् ।

जिल्लामा २ लाख ४ हजार ५ सय ७७ मतदाता छन् । तीमध्ये क्षेत्र १ मा १ लाख १५ हजार ६ सय ३७ तथा क्षेत्र २ मा १ लाख २ हजार ९ सय ४० मतदाता छन् । ०७० को संविधानसभा निर्वाचनमा तीनवटै क्षेत्र जितेको कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ९ मध्ये ६ तह जितेको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेसले ५४ हजार ८ सय ६८ मत पाएको थियो भने एमालेले ५२ हजार ७ सय ८७ र माओवादी केन्द्रले १८ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए । एमाले–माओवादीको मत जोडदा कांग्रेसभन्दा वाम गठबन्धन १६ हजार ८ सय ३२ मतले अगाडि देखिन्छ । वाम गठबन्धन मजबुत रहेकाले वामपन्थीका साझा उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।